बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

७ महिनामा ३३ फिल्म प्रदर्शन, ६ वटाले नाफा कमाउँदा अरूको लगानी डुब्यो

फिल्म राम्रो नबन्नुमा दोष कसको ?
शुक्रबार, ०८ मङ्सिर २०८०, १६ : ३६
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौंँ । नेपाली फिल्मको व्यवसाय बिग्रिएको धेरै भइसक्यो । करिब दर्जन फिल्म रिलिज हुँदा एकाधले मात्र लगानी उठाउने अवस्था अझै सुध्रिएको छैन ।

यो वर्ष (२०८०) लाग्दै गर्दा नेपाली फिल्मको व्यवसाय राम्रो हुने आश फिल्मकर्मीको थियो । बितेको ७ महिनामा भएको व्यवसायले भने त्यो देखाएको छैन । गत वैशाखदेखि कात्तिक अन्त्यसम्म प्रदर्शनमा आएका ३३ फिल्ममध्ये ६ सफल हुँदा अन्य सबै व्यावसायिक रुपमा असफल छन् । यसले पनि फिल्मको व्यवसाय कस्तो छ भनेर झल्काएको छ ।

गत वैशाखदेखि कात्र्तिकसम्म ‘बिहे पास’, ‘बुलाकी’, ‘जारी’, ‘प्रसाद २’, ‘कैदीको पत्र’, ‘नाइँ नभन्नु ल ६’, ‘ज्याकी आई एम २१’, ‘हल्कारा’, ‘ए साथी सुन’, ‘डाकिनी’, ‘टुल्की’, ‘हुक्का’, ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’, ‘अन्तिम संस्कार’, ‘परस्त्री’, ‘बगान’, ‘लुङ्गा’, ‘अदृश्य’, ‘वानरसेना’, ‘हिँड्दा हिँड्दै’, ‘जुलेबी’, ‘जय हो’, ‘महानगर’, ‘गणपति’, ‘एक भगवात एक गीता’, ‘नाङ्गो गाउँ’, ‘ऐंचो पैंचो’, ‘कौसिल’, ‘बासेन्जी’, ‘परदेशी २’, ‘पशुपति प्रसाद २ ः भष्मे डन’ र ‘दिमाग खराब’ गरेर ३३ फिल्म प्रदर्शनमा आए ।

यीमध्ये ‘जारी’, ‘बगान’, ‘नाङ्गो गाउँ’, ‘परदेशी २’, ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराब’ले बाहेक अन्यले लगानी सुरक्षित नगरेको यथार्थ हो । ‘दिमाग खराब’ अहिले पनि प्रदर्शनरत छ । ‘जारी’ले प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको थियो भने ‘परदेशी २’ ५१ औं दिनको दौडमा छ ।

न चले अर्ग्यानिक कथा, न स्टार

एक समय नेपाली फिल्म स्टार कलाकारको कारण चल्थ्यो । कथाबस्तु जे भए पनि कलाकार राम्रो भएका फिल्मले लगानी उठाउँथे । बिस्तारै फिल्ममा स्टार कलाकारको अलावा कथामा पनि भेराइटी खोज्न थालियो । यो क्रम बढ्दै जाँदा निर्माता अर्ग्यानिक कथा रोज्न थाले । अर्ग्यानिक कथामा बनेका सुरुका केही फिल्म चले । अहिले भने न अर्ग्यानिक कथा चल्छ, न स्टार कलाकार ।

यो वर्षको वैशाखदेखि कात्र्तिकसम्म रिलिज भएका अधिकांश फिल्म हेर्ने हो भने स्टार कलाकारले भरिएका छन् । कथा पनि धेरैमा स्वदेशी छ । फिल्मको व्यवसाय भने छैन ।

३३ फिल्म रिलिज हुँदा ६ फिल्म ‘जारी’, ‘बगान’, ‘नाङ्गो गाउँ’, ‘परदेशी २’, ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराब’ बाहेक अन्यको लगानी सुरक्षित भएन । यसले स्टार जादु र अर्ग्यानिक कथा दुवै नरुचाइएको प्रस्ट छ ।

वैशाखमा फिल्म ‘बिहे पास’, ‘बुलाकी’, ‘जारी’, ‘प्रसाद २’, ‘नाईँ नभन्नु ल ६’, ‘कैदीको पत्र’, ‘ज्याकी आई एम २१’ र  ‘हल्कारा’ आएको थियो । यी फिल्ममा दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, सुरक्षा पन्त, मिरुना मगर, विजय बराल, विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, आँचल शर्मा, प्रियंका कार्की र सरोज खनाल लगायतका स्टार कलाकार थिए । कर्णाली भेग र लिम्बु समुदायको जारी प्रथा, प्रेमकथा लगायत विभिन्न विषय फिल्को कथामा छ । तर ‘जारी’ बाहेकको फिल्मले दर्शक रुचाएनन् ।

यस्तै जेठमा ‘डाकिनी’, ‘टुल्की’, ‘हुक्का’, ‘ए साथी सुन’, ‘नीरफूल’, ‘वेलकम टु हेम्जाकोट’ गरेर ६ फिल्म प्रदर्शनमा आए । यी फिल्ममा दिव्यदेव, रविन्द्रसिंह बानियाँ, शिशिर वाङ्देल, बर्षा शिवाकोटी, दयाहाङ राई, बुद्धि तामाङ, विनोद न्यौपाने, विशाल पहारी, रवि गिरी लगायत चलेका कलाकारले भरिएको थियो । बहुपति प्रथादेखि भूकम्पले दिएको पीडासम्मका अर्ग्यानिक कथा फिल्ममा बुनियो । तर कुनै पनि फिल्मले दर्शक पाएनन् ।

असार र साउनको अवस्था पनि त्यस्तै छ । यी दुई महिना ‘अन्तिम संस्कार’, ‘परस्त्री’, ‘बगान’, ‘लुङ्गा’ र ‘अदृश्य’ गरेर ५ फिल्म प्रदर्शनमा भयो । यी फिल्ममा करिश्मा मानन्धर, सरोज खनाल, बुद्धि तामाङ, विजय लामा, दीया पुन, रेश्मा घिमिरे लगायत धेरै चलेका कलाकार अटाएका थिए । भेराइटी कथामा बनेका यी फिल्ममध्ये ‘बगान’ले मात्र लगानी उठायो ।

त्यसो त भदौमा फिल्म राम्रो भएको होइन । ‘हिँड्दा हिँड्दै’, ‘जुलेबी’, ‘जय हो’, ‘महानगर’, ‘गणपति’, ‘ऐंचो पैंचो’, ‘एक भगवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ गरेर यो महिना ८ फिल्म प्रदर्शनमा आए । यीमध्ये ‘ऐंचो पैंचो’, ‘जय हो’, ‘गणपति’ र ‘जुलेबी’, ‘एक भगवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ दर्शकले आश गरेका फिल्म थिए । सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सलोन बस्नेत, केकी अधिकारी, कार्म, मेनुका प्रधान, स्वस्तिमा खड्का, वर्षा राउत, सुशिल सिटौला, विपिन कार्की, धीरज मगर, सुहाना थापा, कविर खड्का, दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ लगायत स्टार कलाकारले भरिएका यी फिल्ममा दयाहाङ राई र मिरुना मगरको ‘नाङ्गो गाउँ’ ले बाहेक अन्यले दर्शकको मन तान्न सकेन ।

असोज र कार्तिकमा बने केही फिल्म चलेको देखियो । ‘वानर सेना’, ‘परेदशी २’ ‘कौसिद’, ‘बासेन्जी’, ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराब’ गरेर ६ फिल्म प्रदर्शनमा आए यी दुई महिना । ‘परेदशी २’, ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराब’ले दर्शक पाए । ‘परेदशी २’ र ‘दिमाग खराब’ अहिले पनि प्रदर्शनरत छन् ।

यी फिल्ममा विपिन कार्की, बर्षा सिवाकोटी, केकी अधिकारी, खगेन्द्र लामिछाने, ऋचा शर्मा लगायत स्टारको अभिनय थियो ।

दोष कसको ?

तीन दर्जन फिल्म रिलिज हुँदा ५÷६ वटाले मात्र लगानी उठाउँछ । अन्यको लगानी बालुवामा पानीजस्तै बन्छ । तर पनि हाम्रा निर्माता, निर्देशक, प्रदर्शकदेखि वितरकसम्म कुनै पक्ष चिन्तित छैनन् । न फिल्म राम्रो नहुनुको दोष लिन उनीहरु तयार छन् । उल्टै उनीहरु विदेशी फिल्म र एकअर्काेमाथि दोष थोपर्ने गर्छन् । फिल्म राम्रो नभएकाले व्यावसाय नभएको बुझाइ भने सबैको छ ।

वितरक रोहित कट्टेल फिल्म राम्रो नबनेकाले नचलेको बताउँछन् । ‘राम्रो फिल्म जहिले पनि चलेको छ । नचलेको नराम्रो फिल्म हो’, रोहितले भने, ‘नाङ्गो गाउँ’ लगायत केही फिल्म राम्रो थियो, चल्यो ।’

कतिपयले निर्माता, निर्देशक, वितरकले हिन्दी फिल्मसँग जुधाएर फिल्म बिगारेको आरोप लगाउँछन् । रोहित भने यो कुरा मान्न तयार छैनन् । उनी फिल्म राम्रो भयो भने हिन्दी र अंग्रेजी जे फिल्म आए पनि फरक नपर्ने बताउँछन् । विगतमा यस्ता उदाहरण धेरै रहेको उनको भनाइ छ ।

collage

रोहितको कुरासँग प्रदर्शक, वितरक तथा निर्माता गोपालकाजी कायस्थ पनि सहमति जनाउँछन् । उनी पनि फिल्म राम्रो नभएकाले नचलेको तर्क गर्दछन् ।

‘हरेक वर्ष ५/७ वटा फिल्मले मात्र लगानी उठाउँछ । त्यो पहिले देखिनै चल्दै आएको हो,’ कायस्थले भने, ‘अरुलाई मुर्गा बनाउन निर्माताहरु भित्रिन्छन् । जसले गर्दा पनि फिल्म राम्रो बन्न सकेको छैन ।’

थोरै पैसा अरुसँग मागेर सुरु ग¥यो र पछि त्यसैलाई फसाउने निर्माताको कारण पनि फिल्म राम्रो बन्न नसकेको उनको धारणा छ । यस्ता निर्माताका कारण आफू पनि धेरै डुबेको उनी सुनाउँछन् ।

निर्माता संघका अध्यक्ष नवल खड्का पनि फिल्म राम्रो नबनेकाले नचलेको स्वीकार्छन् । उनी शो, शेयर बाँडफाँट लगायतको कुराले पनि प्रभाव पारेको बताउँछन् ।

‘बिहीबारबाट शेयर र शोको विषयका हाम्रो समस्या समाधान भएको छ’, खड्काले भने, ‘आगामी दिनमा केही सुधारका संकेत देख्न सकिन्छ ।’

नवल नबुझी फिल्ममा लगानी गर्ने र कलेज अध्यायन गरेर प्राक्टिकलका लागि फिल्म बनाउने निर्देशकले गर्दा पनि राम्रो बन्न नसकेको बताउँछन् । ‘निर्माताले लगानीमा कहीँ कतै कन्जुस गरेको देखिन्न’, खड्काले थपे, ‘दक्ष निर्देशक र प्राविधिकका कारण पनि फिल्म राम्रो नबनेको हो ।’

फिल्म निर्देशकको सिर्जना हो । फिल्म राम्रो नबन्नु भनेको निर्देशकले राम्रो नबनाएको भनेजस्तै हो । फिल्म राम्रो नबनाएको दोष लिन भने तयार छैनन् निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली । फिल्म निर्माणको प्रक्रिया विदेशमा भन्दा नेपालमा फरक भएकाले पनि राम्रो नबनेको उनी बताउँछन् ।

‘फिल्म बनाउन निर्देशकले निर्माता खोज्दै हिँड्ने होइन, निर्माताले एउटा फिल्मको कल्पना गर्छ । उसले निर्देशक लिने हो र निर्देशकले टिम क्याप्टेनको जिम्मेवारी लिने हो’, पराजुली थप्छन्, ‘हाम्रो देशमा निर्देशकले कथा हातमा बोकेर निर्माता खोज्दै हिँड्नु परेको छ । धेरै निर्मातालाई बुझाउँदा बल्ल फिल्म बन्छ ।’

निर्देशकले स्वतन्त्र भएर काम गर्न नपाएसम्म फिल्म राम्रो नबन्ने तर्क पराजुलीको छ । ‘निर्देशकले निर्माता खोज्ने बाध्यता छ । त्यो गर्दा सिर्जनात्मक रुपमा राम्रोभन्दा पनि कसरी छिटो सकाउने, लगानी कम गर्ने र अर्काे के गर्ने भन्ने हुन्छ’, उनले अगाडि थपे, ‘हाम्रो निर्देशकले राम्रो फिल्म दिन्छु, उत्कृष्ट बनाउँछु । दर्शकको चाहना समेट्छु भनेर सोच्न पाउँदैन । त्यसैले फिल्म राम्रो बन्न सक्दैन ।’

यो फिल्म उद्योगको सबैभन्दा ठुलो बिडम्बना भएको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप