बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

देशलाई द्वन्द्वमा पुर्‍याउनेविरुद्ध एकजुट हुन जरुरी छ : ढकाल

शनिबार, ०९ मङ्सिर २०८०, १६ : १०
शनिबार, ०९ मङ्सिर २०८०

काठमाडौँ । एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पछिल्लो समय वर्तमान व्यवस्थामाथि विभिन्न शक्तिहरूबाट प्रहार भइरहेको बताएका छन् । शनिवार हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेका ढकालले व्यवस्थामाथि प्रहार गर्नुको साथै देशमा धार्मिक, सामाजिक सद्भाव भड्काउने र द्व द्वन्द्वको स्थितितर्फ देशलाई अग्रसर गराउने काम भइरहेको बताए ।

सत्ताधारी दलहरू देश र नागरिकहरू प्रति चिन्तित नभई सरकार टिकाउन देशी विदेशी शक्तिको भरमा काम गरिरहेको उनले आरोप लगाए । ढकालले वर्तमान व्यवस्थाप्रति प्रश्न उठिरहेका बखत सावधानीपूर्वक सङ्घीयताका पक्षधरहरू एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि प्रमुख तीन दल मिल्नुपर्नेमा उनले जोड दिए । पछिल्लो पटक उठेको राजतन्त्र पुनर्बहालीको विषय र मुलुकको आवश्यकतालाई ध्यानमा राखी प्रमुख दलहरू संवेदनशील भएर मिल्नुपर्ने उनको भनाइ छ ।

मरिसकेको राजतन्त्रको भूतलाई ब्युँताउन हिँडेका व्यक्तिहरूले एमालेलाई तारो बनाए पनि त्यसको असर वर्तमान व्यवस्थाका पक्षधर सबैमा पर्ने उनले बताए । उनले मङ्सिर ७ गतेको प्रदर्शन व्यक्तिको आयोजना र एमाले लक्षित मात्रै नभई अदृश्य शक्तिबाट परिचालित अराजक तत्त्वहरूबाट भएको उनले बताए । मङ्सिर ७ को उक्त प्रदर्शनलाई एमालेले काउन्टर दिनका लागि तीनकुनेमा कार्यक्रम आयोजना गरेको ढकाले प्रस्ट पारे । एमालेले वर्तमान व्यवस्थाको अभिभावकत्व ग्रहण गर्दै राजतन्त्रको नाममा परिचालित व्यक्तिहरूका विरुद्धमा प्रदर्शन गरेको उनले बताए ।

‘मङ्सिर ७ गतेको घटना कोही एक व्यक्तिको लहड र एमाले लक्षित मात्रै होइन । यदि सरकार र सत्ताधारी दलहरूले यस्तो दृष्टिकोण राख्छन् भने मुलुकमा हुने वर्बादीलाई न त रोक्न, न त सच्याउन नै सकिन्छ ।’ उनले भने, ‘मङ्सिर ७ मा राजतन्त्रको नाममा भएको अराजक तत्त्वहरूको विरुद्धमा एमालेले वर्तमान व्यवस्थाको अभिभावकत्व लिएर प्रदर्शन गरेको हो । वर्तमान व्यवस्थाको विरुद्धमा लाग्नेहरूलाई सरकारले कारबाही गर्नुपर्ने भए पनि त्यसो हुन सकेन । सरकारले गर्नुपर्ने काम एमालेले गरेको छ । एमाले यो व्यवस्थालाई सुदृढ गर्दै अघि बढ्ने अभिप्रायसहित अभियानमा जुटेको छ ।’

ढकालले आयोजकहरू भूमिगत जस्तै देखिए पनि नजानिँदो तरिकाले राजावादी दलहरूको डिजाइनमा प्रसाईँ नाटक मञ्चन भएको दाबी गरे । उनले लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्तिको लडाइँमा सँगै भएका दलहरू सत्तामा भएर पनि थाहा नपाएजस्तो गरी मौन बसेको आरोप पनि लगाए ।

‘सम्पूर्ण कार्यक्रमको डिजाइन राजावादीहरूबाटै आएको हो । अहिले अदृश्य लागेका शक्तिहरूको नियत पनि अदृश्य नै छ । तर सत्तामा भएर पनि थाहा नपाएजस्तो गरेर कतिपय यस्ता अराजनैतिक अस्थिरतालाई प्राथमिकता दिने प्रवृत्तिमा सत्ता किन मौन छ भन्ने कुरा चैँ हामीलाई अचम्म लागेको छ’ उनले भने ।

ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत रूपमा केहि चिन्ता गरेजस्तो देखिए पनि उनी नेतृत्व सरकारले गरेको गतिविधिबिच भने तालमेल नमिलेको दाबी गरे । उनले साँच्चै प्रधानमन्त्री लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको विषयमा चिन्तित हो भने हिजो परिवर्तनका लागि लडेका शक्तिहरूलाई एकै ठाउँमा ल्याइ मिलाएर लान तयार हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप