बाँकेको राप्ती नदीमा पूर्णमासी (स्नान) मेला सुरु
खजुरा । बाँकेको राप्ती नदी सिधनियाघाटमा तीन दिने मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आजदेखि तीन दिनसम्मका लागि मेला सुरु भएको हो ।
कार्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको भीड लाग्ने गर्दछ । भोलि (सोमबार) नदीमा स्नान गर्न बाँकेलगायत विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान पण्डितलाई दिने गरिएको अवधि साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताए । उनले भने, “यो स्नानको ठूलो महत्त्व छ, यो स्नान गर्नाले माघे सङ्क्रान्तिका दिन स्नान गरिएको जति फल मिल्छ, यो सूर्य भगवान्को विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्मरोगसम्बन्धी समस्यासमेत निराकरण हुन्छ ।”
देव सैनी पूर्णमासीको स्नानले मानिसको शरीरलाई चम्किलो तथा फुर्तिलोसमेत बनाउने गरेको पण्डित पाठकले बताए । कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन हुन्छ । चर्तुमास समापन पश्चात शुभ कार्यको थालनी गर्ने चलन रही आएको छ । पूर्णिमाका दिनदेखि विवाह तथा व्रतबन्धका साइत सुरु हुने पण्डित पाठकले बताए । चतुर्मासका कारणले रोकिएका विवाह तथा व्रतबन्ध र ठूला पूजाआजा सबै सुरु हुन्छन् ।
पूर्णिमाको अवसरमा राप्ती नदीको सिधनिया घाटमा आजदेखि मेला सुरु भएको छ । मेलामा रामलीला मञ्चन, मनोरञ्जनात्मक नाच गानलगायतका सांस्कृतिक कार्यक्रम हुने स्थानीय मेला आयोजक समितिका भोलाप्रसाद गुप्ताले बताए । उनका अनुसार भारतबाट करिब २० कलाकारको समूहले नाटक मञ्चन, नौटङ्की नृत्यलगायतका सांस्कृतिक कार्यक्रम गरिरहेको छ । मेलामा साधु सन्तको उपस्थिति रहेको छ । मेलाको अन्तिम दिन भण्डारा गरी समापन गरिने समितिले जनाएको छ ।
बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेला पनि सुरु हुँदैछ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । यस वर्ष यही मङ्सिर ११ देखि १३ गतेसम्म तीन दिन मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।
पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताए ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा पनि प्रत्येक वर्ष तीनदिने डिग्रे मेला लाग्दै आएको छ । यस वर्ष राप्तीसोनारी–२ टिकुलीपुरमा आजदेखि डिग्रे मेला सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमारो केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण