आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘सामाजिक सुरक्षा कोषमा संकलन ४५ अर्ब रकम उत्पादन र पूर्वाधार परियोजनाहरुमा लगानी गर्नुपर्छ’

सोमबार, ११ मङ्सिर २०८०, १६ : २४
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजनामा लगानी गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । 

सोमबार छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै निजी क्षेत्रले सरकारसँग यस्तो माग गरेको हो । निजी क्षेत्रले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको मन्दीलाई चलायमान बनाउन उक्त लगानी महत्त्वपूर्ण बन्ने उल्लेख गरे ।

निजी क्षेत्रका तीन छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले वर्तमान अर्थतन्त्रमा आएको समस्या समाधानको लागि सामाजिक सुरक्षा कोषमा जम्मा भएको ४५ अर्बभन्दा बढी रकम उत्पादन, रोजगारी र पूर्वाधार परियोजनाहरुमा लगानी गर्न आवश्यक रहेको बताए ।

तीन अध्यक्षले सरकारले सामाजिक सुरक्षा कोष जस्ता रकम संकलन हुने कोषहरुको सम्पूर्ण रकम उत्पादनमुलक क्षेत्रमा लगानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने उल्लेख गरे । उनीहरुले सरकारले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजनामा लगानी लगाउन पाउने गरी कार्यविधि परिमार्जन गर्न समेत माग गरेका छन् । उनीहरुले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई बैंकमा राखेर ब्याज खानेभन्दा पनि उत्पादनशील क्षेत्रमा लगानी गरी अर्थतन्त्रलाई गति दिन सक्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनमा लगानी गर्नुपर्ने बताए । उनले छोटो समयमा सामाजिक सुरक्षा कोषमा ४५ अर्ब फण्ड संकलन भएको भन्दै यसलाई उत्पादनमा लगानी गर्नसके मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । उनले कोषमा जम्मा भएको रकम उत्पादनशील क्षेत्र र पूर्वाधारमा लगानी गर्ने कार्यविधि भनेको भन्दै बैंकमा राखेर ब्याज खानुभन्दा उत्पादनमुलक, रोजगारी पूर्वाधारमा  क्षेत्रमा लगानी गर्नेगरी कार्यविधि परिमार्जन गर्न सुझाव दिए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यलाई नियमित गराउन सरकारले पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको भनाई पनि उस्तै रहेको छ । अध्यक्ष अग्रवालले पनि सामाजिक सुरक्षा कोषमा संकलन भएको रकमलाई उत्पादनशील क्षेत्र तथा पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले कोषमा जम्मा भएको रकम उत्पादनशील क्षेत्र तथा पूर्वाधारमा लगानी लगाउन सकेसमग्र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास रहेको उल्लेख गरे । उनले मुलुकको समग्र आर्थिक विकासको लागि बलियो र स्थायी श्रम सम्बन्ध आवश्यक रहेको बताए । उनले  विगत केही वर्षदेखि श्रमिक र रोजगारदाता बिचको सम्बन्ध सुधार हुँदै गएको दाबी गरे । उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा सुरुवातमा अस्पष्ट हुँदा केही समय अन्योलको सिर्जना पनि अहिले बिस्तारै सुधार हुँदै गएको बताए । उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएपछि कर्मचारी सञ्चय कोष मर्ज गर्ने कुरा भएपनि दुईवटां संस्था सञ्चालनमा भएकाले केही अन्योल भइरहेको बताए । उनले सामाजिक सुरक्षा कोषमा निजामती कर्मचारी र नेपाल सेना प्रहरीलाई पनि आबद्ध गराउन माग गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि सरकारले कोषमा संकलन भएको रकम बैंकमा ब्याज कमाउने भन्दा मुलुकको अर्थतन्त्रको सूचक नकारात्मक भएको अवस्थामा देशमा भएको प्राकृतिक स्रोत साधनलाई प्रवर्द्धन गर्ने, उद्योगमा जलविद्युत परियोजनामा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र ठूला पूर्वाधार परियोजनमा लगानी लगायन सके देशलाई नै फाइदा हुने उल्लेख गरे । 

अध्यक्ष मल्लले अर्थतन्त्रको सूचकहरु नकारात्मक भइरहेको अवस्थामा पुँजीलाई चलायमान बनाउने काम सरकारले गर्नुपर्ने बताए । उनले सरकार २०६६ सालमा सामाजिक सुरक्षाका लागि भने सुरु गरेको तलबको १ प्रतिशत कोषमा काटेर दिएको रकम अर्थ मन्त्रालयमा पैसा त्यतिकै राख्नु भन्दा सामाजिक सुरक्षा कोष फिर्ता पठाउन माग गरे । उनले सरकारले रोजगारदाता र श्रमिक दुबैलाई प्रोत्साहन हुने काम गर्न आवश्यक रहेको उल्लेख गरे ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप