सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस लुम्बिनी प्रथम सम्मेलन : पार्टीलाई सही दिशानिर्देश गर्न गहन छलफल हुने

सोमबार, ११ मङ्सिर २०८०, १९ : ५४
सोमबार, ११ मङ्सिर २०८०

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले पार्टीभित्रको वडा तहसम्म गुट उपगुट अन्त्य गर्न प्रथम प्रदेश सम्मेलन सार्थक हुने बताएको छ ।

बुटवलमा यही मंसिर १६ गतेदेखि प्रथम सम्मेलनमा गुट उपगुट भन्दा पनि पार्टीभित्र पुनर्जागरण ल्याउनका लागि नीतिगत बहस र छलफल हुने प्रदेश सभापति अमरसिंह पुनले बताए ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सभापति पुनले पार्टीभित्र गुटगत राजनीतिको धेरै प्रभाव रहेको भन्दै त्यसलाई समाधान गर्नेबारे छलफल गर्नुका साथै काम गर्नेहरूलाई सम्मान गर्ने बताए ।

सभापति पुनले पार्टीभित्र प्रदेश र स्थानीय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेको उल्लेख गरे । प्रदेशलाई केन्द्रीय समितिले पर्याप्त अधिकार नदिएको गुनासो गर्दै उनले संघीयताको मर्म अनुसार वडा तहदेखि केन्द्र तहसम्म अधिकार प्रत्यायोजन हुन आवश्यक रहेको बताए ।

उनले संघीयता कार्यान्वयनका लागि स्थानीय, प्रदेश तथा संघ सरकारलाई जिम्मेवार बनाउने गरी छलफल हुनेसमेत जानकारी दिए ।

सम्मेलनमा करिब ६७५ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । सम्मेलनमा समसामयिक विषय र विधान संशोधनबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने २ दिने प्रदेश सम्मेलनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन लेखनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ भने तयारीका लागि प्रचारप्रसार समिति, अतिथि सत्कार समिति लगायतका उपसमिति गठन गरिएको छ ।

सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप