मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा पहिलो पटक मान्छेमा स्वाइन फ्लु भेटियो

मङ्गलबार, १२ मङ्सिर २०८०, ११ : ०४
मङ्गलबार, १२ मङ्सिर २०८०

लन्डन । बेलायतका स्वास्थ्य अधिकारीहरू यति बेला मान्छेमा सुँगुरमा देखिने भाइरस स्वाइन फ्लु कसरी सर्‍यो भनेर पत्ता लगाउन दौडधुप गरिरहेका छन् । एक व्यक्तिमा सुँगरमा पाइने स्वाइन फ्लुको नयाँ प्रकार भेटिएको सोमबार त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले बताएको थियो । बेलायतमा कुनै मान्छेमा यसको सङ्क्रमण भेटिएको यही नै पहिलो घटना हो । सन् २००५ यता विश्वभर दर्जनौँ मान्छेलाई स्वाइन फ्लु भइसकेको छ । तर पछिल्लो समय बेलायतमा देखिएको स्वाइन फ्लुको जिन पुराना स्ट्रेनसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताएका छन् ।

सास फेर्न समस्या भएपछि ती बिरामी अस्पताल जँचाउन आएका थिए । परीक्षणका क्रममा उनमा स्वाइन फ्लुको एच१एन२ स्ट्रेन भेटियो । यो भाइरसले सुँगरलाई मात्रै सङ्क्रमित बनाउने भए पनि मान्छेमा यो स्ट्रेन कसरी सर्‍यो भन्ने अज्ञात छ । अहिले ती बिरामी पूरै निको भइसकेको बताइएको छ । सङ्क्रमण कसरी सर्‍यो भन्नेबारे खोजिबिन भइरहेको छ । बिरामीको निकट सम्पर्कमा आएका व्यक्तिहरू खोज्ने र सङ्क्रमण फैलिन नदिन पनि काम भइरहेको बताइएको छ । जनावरमा पाइने केही रोग मान्छेलाई पनि लाग्न सक्छ । एच१एन१, एच१एन२ र एच३एन२ सुँगुरमा भेटिने केही प्रमुख भाइरस हुन् । यी स्ट्रेनबाट मानिस पनि सङ्क्रमित हुन सक्छन् ।

के हो स्वाइन फ्लु ?

स्वाइन फ्लु श्वास प्रश्वासमा लाग्ने सङ्क्रामक रोग हो । यो रोग सामान्यतः सुँगुरमा पाइन्छ । यो सुँगुरमा इन्फ्लुएन्जा एको भाइरसको एच१एन१ प्रकारका कारण हुन्छ । सुँगुरमा पाइने फ्लुका एच१एन२, एच३एन१ र एच३एन२ प्रकार पनि छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप