सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बालकृष्ण खाण अन्यायमा परेको कांग्रेस नेताहरुको दाबी

मङ्गलबार, १२ मङ्सिर २०८०, २० : २९
मङ्गलबार, १२ मङ्सिर २०८०

बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण अन्यायमा परेको दाबी कांग्रेस नेताहरुले गरेका छन् ।

खाणको गृह जिल्ला रुपन्देहीमा मंगलबार कांग्रेसको प्रथम जिल्ला सम्मेलन उदघाटन सत्रमा बोल्दै कांग्रेस नेताहरूले खाण निर्दोष रहेको जिकिर गरे । उनीहरूले खाणलाई विभिन्न तत्वले फसाएको आरोप लगाउँदै रिहाइका लागि पार्टीले पहल गर्नुपर्ने बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले बालकृष्णको रिहाइका लागि पार्टीको केन्द्रीय कार्यसमितिले देखिने गरी पहल गर्नुपर्ने बताए ।

केन्द्रीय सदस्य चन्द्र बहादुर केसीले बालकृष्ण खाण निर्दोष रहेको जिकिर गर्दै उनको रिहाइका लागि सभापति शेर बहादुर देउवाले पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले बालकृष्ण खाणलाई सर्वोच्च अदालतले दोषी ठहर नगर्दासम्म उनी निर्दोष हुने बताए । खाणलाई कुनै तत्वले फसाएको भन्दै उनले त्यस्ता तत्वको पनि हिसाब किताब पार्टीले गर्ने चेतावनी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि खाणले न्याय पाउने बताए ।

बालकृष्ण खाणसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री टोप बहादुर रायमाझी, गृह सचिव टेक नारायण पाण्डे लगायत अहिले जेलमा छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी खाण पटकपटक मन्त्री बनेका नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप