बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अहिले मन्त्री हेरफेरको सम्भावना छैन : प्रवक्ता महत

बुधबार, १३ मङ्सिर २०८०, १७ : २३
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्री हेरफेरको सम्भावना नरहेको बताएका छन् । बुधवार कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता महतले अहिले नै सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको सम्भावना नरहेको बताए ।

‘सरकारले राम्रै काम गरिरहेको कुरा आइरहेको छ । फेरबदल वा हेरफेर भन्नेबारे मलाई कुनै जानकारी छैन,’ उनले भने । यस्तै उनले गणतन्त्रका पक्षमा ठुलो जनमत रहेको बताएका छन् । कसैले पनि व्यवस्थालाई कमजोर पार्ने गरी प्रयास गर्नु दुष्प्रयास मात्रै हुने बताए ।

‘विभिन्न बहानामा यो व्यवस्थामाथि प्रहार गर्ने र यसलाई कमजोर पार्ने प्रयास भइरहेको छ । तर यो व्यवस्था त्यति कमजोर छैन, यो जनताको माझबाट स्थापित छ, यसमाथि प्रश्न उठाउने लक्ष्यकासाथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर पार्ने कोसिस भइरहेको छ,’ उनले भने, ‘यो यति कमजोर छैन । यसको पक्षमा ठुलो जनमत छ । समस्याहरू छन्, क्रमशः समाधान गर्दै अघि बढ्नुपर्छ ।’

यस्तै जाजरकोट भूकम्पबाट पीडितहरूको राहत पुनःस्थापनाका लागि लागि ठुलो बजेटको खाँचो हुने देखिएको उनको भनाइ छ । सरकारले आफ्नो स्रोत साधनबाट मात्रै पुनःस्थापना र पुनर्निर्माण गर्न सक्ने अवस्था नरहेको भन्दै उनले त्यसका लागि दातृ निकायको समेत समर्थन र सहयोगको खाँचो रहेको बताए ।

उनले बैठकमा महासमितिको बैठकको तयारीबारे छलफल भएको समेत बताए । महासमितिको बैठक जनसरोकारको विषय र राष्ट्रिय महत्वको विषयमा छलफल हुने उनको भनाइ थियो ।

महासमिति बैठकको तयारीका लागि कार्यसम्पादन र केन्द्रीय समितिको बैठक बस्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप