बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टिकटक बन्दको राजनीतिक विरोध किन ?

बिहीबार, १४ मङ्सिर २०८०, ११ : ०९
बिहीबार, १४ मङ्सिर २०८०

हालै सरकारले टिकटक बन्द गरेपछि विरोध र समर्थन सँगसँगै आइरहेको छ । कतिपयले यसलाई असाध्यै सकारात्मक कदम भनेर सरकारको गुणगान गाइरहेका छन्, कतिपयले सरकारी निर्णयको विरोध गरिरहेका छन् । अर्थात् टिकटक बन्द गर्ने सरकारको निर्णय हाम्रो सामाजिकी र उठ–बसको खपत बनिरहेको छ ।

झुपडीदेखि सिंहदरबार, ठूलो होटलदेखि चिया–पसल अनि केन्द्रदेखि टोलसम्म टिकटककै विषयमा चर्चा परिचर्चा भइरहेको छ । कतिपयले बुझेर समर्थन गरिरहेका छन् भने कतिपयले नबुझेर विरोध गरिरहेका छन् । यता कतिपयले बुझे पनि वा नबुझे पनि आफ्नो निहित निजी स्वार्थमा विरोध र समर्थन गरिरहेका छन् ।

वस्तुतः विश्व समाजको अभिन्न अंग बनिसकेको टिकटकजस्ता सामाजिक सञ्जालहरू बन्द गर्नु राम्रो होइन । यसमा कसैको दुईमत छैन । सरकारलाई पनि यो कुरा थाहा हुनुपर्छ । प्रविधिको अधिकतम प्रयोग, परिचालन र उपयोगले नै आजको उत्पादन पद्धतिमा अब्बल हुन सकिन्छ । २१औँ शदीको विश्व–व्यवस्था प्रविधिको अधिकतम प्रयोगद्वारा निर्देशित रहेको छ । अर्थात् प्रविधिको उचित अन्वेषण, उपयोग र परिचालनबाटै उत्पादन प्रक्रियालाई समयसापेक्ष विकास गर्न सकिन्छ । विश्वजगत्मा प्रतिस्पर्धा गर्न सकिन्छ । प्रविधिबिनाको विश्व मानव समाजको कल्पना पनि गर्न सकिन्न । यद्यपि टिकटक बन्द पछिको समर्थन र विरोधमा अन्तर्निहित कारणहरूबारे यस आलेखमा चर्चा गरिएको छ ।

सरकारी निर्णय

सरकारले टिकटक बन्द गरेको छ । सरकारको यस्तो निर्णय आजको दुनियाँमा विज्ञान र प्रविधिको उपयोग गर्दा फाइदा हुन्छ भन्ने न्यूनतम ज्ञान नभएर होइन । डिजिटल युगबाट रोबोटिक र सेन्सर युगमा प्रवेश गर्दै गरेको विश्व समाजमा जिम्मेवार सरकारले लहड र सनककै भरमा बन्द गर्ने कुरा आउँदैन । सामाजिक सञ्जालको अर्थ र औचित्य नबुझेर बन्द गरेको पक्कै पनि होइन । आजको भुमण्डलीकृत विश्वमा सूचना प्रविधिको महत्त्व कति धेरै छ भन्ने ज्ञान नभएर पनि होइन । टिकटकजस्ता सामाजिक सञ्जालले समाजमा पु¥याइरहेको सकरात्मक भूमिकालाई नजरअन्दाज गर्न खोजेको पनि होइन । खास गरेर सरकारले सबै पाटा पक्षहरूको गहिरो अध्ययन र मनन गरेरै बन्द गर्नुपर्ने बाध्यात्मक स्थितिमा पुगेको हुनुपर्छ ।

वस्तुतः सरकारले टिकटक बन्द गर्नुको मुख्य कारण भनेको यसको उपयोग संस्कृति विकृत बन्दै जानु हो । कुनै पनि वस्तुको सकारात्मक र नकारात्मक पक्ष सँगसँगै आउने गर्दछ । यो द्वन्द्ववाद हो । त्यस्तै, टिकटकको पनि सकारात्मक र नकारात्मक दुवै आयाम छन् । यसमा सकारात्मक पक्ष हाबी भएसम्म अधिकतम उपयोगमा जोड दिने कुरा हुन्छ अनि नकारात्मक पक्ष हाबी भए बन्द गर्नुपर्ने हुन्छ । अर्थात् यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने हुन्छ । किनकि यसलाई हाम्रो जीवन व्यवहारलाई उत्पादनमुखी बनाउन सदुपयोग गर्ने हो दुरुपयोग होइन ।

आवधिक चुनाव भनेको लोकसेवाको विज्ञापन जस्तो बनेको छ । यस्तो वस्तुगत धरातलमा मतदातालाई केन्द्रमा राखेर धारणाहरू निर्माण हुने गर्छ । यहाँसम्म कि मतदाताहरू पट्टिन्छन् भने सहीलाई गलत र गलतलाई सही भनेर पनि आफ्नो वशमा राख्ने रणनीति आजकल सामान्य भइरहेको छ ।

विज्ञान र प्रविधिको दुरुपयोग गर्नु हुँदैन । प्रविधिको सदुपयोग गर्नु भनेको उत्पादन वा निर्माणसँग जोडिन्छ तर दुरुपयोग भनेको ध्वंश र पतनसँग जोडिन्छ । यसकारण प्रविधि मात्र भनेर हुँदैन । यसको सदुपयोग र दुरुपयोगबारे पनि न्यूनतम सचेतना राख्नुपर्र्छ । तब मात्र यसलाई मानव हितजन्य उत्पादनमा लगाउन सकिन्छ । मानव समाजको गतिशीलतासँग एकाकार गर्न सकिन्छ तर आँखा चिम्लिएर यसको अत्यधिक दुरुपयोग गर्नु भनेको पतन र ध्वंशको बाटोमा लाग्नु हो । यसकारण टिकटक बन्द गर्ने सरकारी निर्णय सही, वस्तुवादी र सकारात्मक छ । यसमा हामी सबै सचेत नागरिकले साथ र सहयोग दिनुपर्छ ।

आग्रही र पूर्वाग्रही मनोविज्ञान

आजको विश्व समाज निरपेक्ष नकारात्मकताद्वारा निर्देशित रहेको छ । नकारात्मकताले नेतृत्व गरेको समाजमा कुनै पनि कार्य, वस्तु, व्यक्ति र सत्ताप्रति आलोचनात्मक धारणा बन्दैन । द्वन्द्वात्मक नजरबाट हेर्ने गरिँदैन । यसमा कि त निरपेक्ष विरोध कि त निरपेक्ष समर्थन गर्ने गरिन्छ । अर्थात् आलोचनात्मक दृष्टिकोणको संस्कृति हुँदैन । समर्थन र विरोध पनि सही र गलतका आधारमा गरिँदैन । चरम व्यक्तिवादी वा संस्थावादी स्वार्थको चौघेरामा समर्थन र विरोधलाई सीमित गरिन्छ । तब कुन व्यक्ति, संस्था र सवाल कति कारणले सही र कति कारणले गलत भन्ने स्पष्ट मार्गचित्र हुँदैन । यस्तो वस्तुगत परिस्थितिमा हल्लाकै भरमा सही गलतमा अनि गलत सहीमा दर्ज हुने खतरा हुन्छ । आज हाम्रो समाजको समर्थन र विरोधको संस्कृति यही मूल्यमा आधारित रहेको देखिन्छ, जसले हाम्रो समाजमा सही र गलत बीचको लक्ष्मणरेखा पनि स्वार्थको आधारमा विन्यास गर्ने गरिन्छ ।

यहाँ दलीय आधारमा आग्रह–पूर्वाग्रह राख्ने गरिन्छ । सही र गलत अनि फाइदा र नोक्सानभन्दा पनि व्यक्तिगत, दलगत, क्षेत्रगत र संस्थागत आधारमा समर्थन र विरोधको सीमारेखा कोर्ने गरिन्छ । यही मेसोमा टिकटक बन्द गर्ने सरकारी निर्णयको विरोध भइरहेको छ । उनीहरूलाई पनि थाहा छ कि टिकटक विकृत बन्दै गइरहेको छ । तर पनि जनमानसमा नकारात्मक धारणा निर्माण गर्न सहयोग पुगोस् भनेर जसरी पनि विरोधको भाषा बोल्ने गरिन्छ । यसलाई आग्रही, पूर्वाग्रही र चुनावकेन्द्रित विरोध भनिन्छ । यस्तो विरोध अरुलाई खुइल्याउन सहयोगी हुन्छ । वास्तवमा रचनात्मक विरोधले रूपान्तरण वा सच्चिने अवसर प्रदान गर्दछ । यसकारण विकास, प्रगति र रूपान्तरणका लागि सिर्जनात्मक र रचनात्मक विरोध र खबरदारी अनिवार्य हुन्छ । 

मतदाता भड्किने भय

नेपाली समाजमा टिकटक लगायत सामाजिक सञ्जाल दुरुपयोग भइरहेको प्रायः सबैलाई राम्ररी थाहा छ । उनीहरू बन्द कोठामा, परिवार र बालबच्चासँग यसको बढ्दो दुरुपयोगबारे घन्टौँ प्रवचन दिन्छन् । यसले समय र पढाइ मात्र होइन, जिन्दगी नै बर्बाद हुन्छ भनेर पढाउँछन् । चिया पसलमा सामाजिक सञ्जालको विकृत प्रयोगबारे आदर्शको बखान छाँट्छन् । अर्थात् उनीहरू टिकटकलगायत सामाजिक सञ्जाल विकृत बन्दै गइरहेकामा पनि स्पष्ट छन् । यही मात्रामा यसको दुरुपयोग गर्ने हो भने भोलि अनुशासन, इमान, जमान, विवेक र नैतिकता केही बाँकी रहँदैन भनेर चिन्ता र चासो पनि व्यक्त गर्छन् । टिकटकको सकारात्मक तथा नकारात्मक भूमिकाबारे पनि जानकार नै छन् । तर पनि बन्द गर्ने सरकारी निर्णयको भने एकाएक विरोध गर्छन् किन ? 

वस्तुतः विश्व समाजको अभिन्न अंग बनिसकेको टिकटकजस्ता सामाजिक सञ्जालहरू बन्द गर्नु राम्रो होइन । यसमा कसैको दुईमत छैन । सरकारलाई पनि यो कुरा थाहा हुनुपर्छ । प्रविधिको अधिकतम प्रयोग, परिचालन र उपयोगले नै आजको उत्पादन पद्धतिमा अब्बल हुन सकिन्छ ।

यसमा एकातिर दलीय तथा व्यक्तिगत आग्रह र पूर्वाग्रह जिम्मेवार देखिन्छ । अर्कोतिर आज राजनीति व्यापार व्यवसायजस्तो भइरहेको छ । आवधिक चुनाव भनेको लोकसेवाको विज्ञापन जस्तो बनेको छ । यस्तो वस्तुगत धरातलमा मतदातालाई केन्द्रमा राखेर धारणाहरू निर्माण हुने गर्छ । यहाँसम्म कि मतदाताहरू पट्टिन्छन् भने सहीलाई गलत र गलतलाई सही भनेर पनि आफ्नो वशमा राख्ने रणनीति आजकल सामान्य भइरहेको छ । अर्थात् सही र गलत पनि आफ्नो स्वार्थ र फाइदाले निर्धारण हुनथालेको छ जुन सोरैआना गलत हो । त्यसैले टिकटक विकृत र विसंगतिपूर्ण बन्दै गइरहेको सबैलाई थाहा छ । त्यसमा पनि राजनीतिकर्मीलाई त झन् थाहा नहुने कुरै आउँदैन तर गलत नै भए पनि मतदाता भड्किने भयले त्यसको विरोध गरिरहेको स्पष्टै देख्न सकिन्छ । 

व्यवसाय र लत

कतिपय यस्तो पात्र र संस्थाहरू पनि छन्, जो टिकटक लगायत सामाजिक सञ्जाललाई कमाइखाने भाँडो बनाइरहेका छन् । उनीहरूको रोजीरोटी यसैको सदुपयोग र दुरुपयोगमा निर्भर छ । उनीहरूले आफ्नो रोजगारी गुम्दा रोइलो गर्नु स्वाभाविक हुन्छ । उनीहरूलाई टिकटकले समाजमा पारेको सकारात्मक तथा नकारात्मक प्रभावका बारेमा कुनै मतलब छैन । उनीहरूलाई केवल आफ्नो व्यवसाय, नाफा र कमाइसँग मात्र सरोकार रहेको हुन्छ । उनीहरूलाई विषयवस्तुको सिर्जनशीलता र उपयोगितासँग सरोकार छैन । चोटिलो र घोचिलो भिडियो क्लिप राखेर भए पनि दर्शक बढे भयो अनि भाइरल भए पुग्यो, जसले धेरै नगद नारायण आर्जन गर्न सकियोस् ।

नेपाली समाजमा टिकटक लगायत सामाजिक सञ्जाल दुरुपयोग भइरहेको प्रायः सबैलाई राम्ररी थाहा छ । उनीहरू बन्द कोठामा, परिवार र बालबच्चासँग यसको बढ्दो दुरुपयोगबारे घन्टौँ प्रवचन दिन्छन् । यसले समय र पढाइ मात्र होइन, जिन्दगी नै बर्बाद हुन्छ भनेर पढाउँछन् ।

अर्कोतिर टिकटक लगायतको सामाजिक सञ्जाल प्रयोगमा लत बसेका मानिस पनि सरकारी निर्णयको विरोधमा देखिन्छ । उनीहरूलाई समाजका लागि सिर्र्जनशील र रचनात्मकता के हो केही मतलब हुँदैन । सही–गलत र साफा–नाफा कुनै सरोकार छैन । साथीभाइसँगको भलाकुसारी, मायापे्रम र मनोरञ्जन गर्न पाए भयो । यसरी लतमा नराम्ररी फसेकाहरूले पनि मनोरञ्जनको स्वार्थमा बन्दको विरोध गरिरहेका छन् ।

निष्कर्ष

त्यसैले टिकटक बन्द गर्ने सरकारी निर्णयको निरपेक्ष विरोध र समर्थनमा समय खेर नफालौँ । बरु टिकटक लगायत सामाजिक सञ्जालहरूको सदुपयोग हुँदै छ कि दुरुपयोग भन्नेबारे गम्भीर अध्ययन र अनुसन्धान गरौँ । सहीलाई सही र गलतलाई गलत भन्ने आलोचनात्मक संस्कार बसालौँ । स्वार्थ र आग्रहको भरमा गलत र विकृत संंस्कृतिलाई प्रश्रय पुग्ने गरी विरोध र समर्थन नगरौँ ।

विरोध गरे पनि रचनात्मक र सिर्जनशील विरोध गरौँ जसले गलतलाई सही दिशातर्फ रूपान्तरण गर्ने हैसियत राख्छ । टिकटकको दुरुपयोगबारे जानकार हुँदाहुँदै पनि दलीय आग्रह र चुनावी मतदाता भड्किन्छ भनेर बन्दको विरोध नगरौँ । अर्थात् चुनाव जित्ने निहित र निकृष्ट स्वार्थमा मतदाताको गलत माग पूरा गर्नेतिर नलागौँ । टिकटकको दुरुपयोगबाट विकृति र विसंगति बढिरहेको सवालमा गम्भीर बनौँ । यसको सचेत, सभ्य, विवेकशील र अनुशासित उपयोग संस्कृति बसाल्ने हो भने यो स्वतः पुनः सञ्चालनमा आउनेछ । यसकारण यसको सदुपयोगमा गम्भीर ध्यान दिन जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप