एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै

समाचार सारांश
- म्याग्दीको अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ। यो योजनाले पानी चुहावट र जमिन भासिने समस्या समाधान गर्नेछ।
- गण्डकी प्रदेश सरकारको योजनाअन्तर्गत, पक्की नहर र पाइपलाइन जडानको काम भइरहेको छ, जसबाट १८० किसान लाभान्वित हुनेछन्।
- सिँचाइ सुविधा सहज भएपछि, स्थानीय किसानहरूले तीन बाली लगाउन र व्यावसायिक तरकारी खेतीबाट आम्दानी बढाउन सक्नेछन्।
म्याग्दी। यहाँको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ ।
जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौँको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए ।
“कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पुर्याउन नसक्ने अवस्था थियो,” उनले भने, “गण्डकी प्रदेश सरकारले पक्की नहर र पाइप जडान गर्ने योजना सञ्चालन गरेपछि उत्साही भएका छौँ ।”
चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको योजनाबाट दुईवटा च्याम्बर र १२५ मिटर पक्की नहर निर्माण भएको उपभोक्ता समितिका सदस्य चेतन थापाले बताए । उनका अनुसार पहिरो र जमिन भासिने समस्या भएको ठाउँमा आजदेखि १६८ मिटर लामो २५० मिलिलिटर क्षमताको पाइप जडान गर्न थालिएको छ ।
यसअघि विसं २०५१/५२ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत मर्मत भएको नहर जीर्ण बनेको थियो । बेनी नगरपालिका र स्थानीयवासीको साझेदारीमा मुहान निर्माण भएको छ । यो योजनाबाट १८० कृषकको २१९ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापामगरले बताए ।
आयोजना निर्माणलाई निरन्तरता दिन कार्यालयले रु ५० लाख लागत अनुमानसहित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । थप एक किलोमिटर नहर निर्माण र पाइपलाइन जडान गर्नुपर्ने उपभोक्ता समिति सदस्य थापाले बताए । सिँचाइ सुविधा सहज भएमा खेतमा तीन बाली लगाउन, व्यावसायिक बेमौसमी तरकारी खेती गरेर आयआर्जन गर्न सकिने उनको भनाइ छ ।
महत्त्वपूर्ण र आवश्यक योजना भएकाले जनप्रतिनिधिहरूसँग समन्वय गरेर क्रमागत योजनामा समावेश गराउन प्रस्ताव गरेको जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी