बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
अदालत

बागमतीका निलम्बित मेयर थापालाई ३ लाख धरौटीमा छाड्न आदेश

बुधबार, ०४ असार २०८२, १६ : ५७
बुधबार, ०४ असार २०८२

काठमाडौँ । विशेष अदालतले सर्लाहीकाे बागमतीका निलम्बित मेयर भरत थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरणको मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । 

अख्तियारले २०८२ जेठ ३ गते बागमतीका निलम्बित मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँको मुद्दा दायर गरेको थियो ।

निलम्बित मेयर थापाविरुद्ध अख्तियारले विशेषमा दायर गरेको यो तेस्रो मुद्दा थियो । उक्त मुद्दामा विशेषले गरेको म्याद तामेलीपछि थापा बुधबार अदालतमा उपस्थित भएका थिए । थुनछेक बहसपछि विशेषले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

उनीविरुद्ध योसहित अन्य दुई मुद्दा विशेषमा विचाराधीन अवस्थामा छन् । थापाविरुद्ध जिल्ला अदालत सर्लाहीमा पनि वन मुद्दा दायर भएकोमा सोमबार जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप