सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तुलसी सहकारीका अध्यक्ष शर्मा थुनामा

शुक्रबार, १५ मङ्सिर २०८०, १८ : ३८
शुक्रबार, १५ मङ्सिर २०८०

विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई जिल्ला अदालत मोरङले थुनामा पठाउन आदेश दिएको छ । 

सहकारी ठगी मुद्दामा पक्राउ परेका शर्मालाई प्रहरीले बिहीबार राती मोरङ ल्याएर शुक्रबार अदालतमा उपस्थित गराएको थियो । फरार शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो । 

शर्मालाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालको इजलासले शर्मालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले थुनामा पठाउने आदेश दिएपनि कैलालीमा अर्को मुद्दा रहेकोले शर्मालाई कैलाली पठाउने तयारी गरेको प्रहरीले जनाएको छ । कैलालीपछि उनलाई दाङ लैजाने तयारी छ । दाङमा पनि उनीविरुद्ध ठगीको मुद्दा छ ।

भक्तपुरमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको पनि पूर्वअध्यक्ष रहेका शर्माले सो सहकारीको १४ अर्बभन्दा बढी बचत हिनामिना गरेको मुद्दा थियो । भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको काठमाडौँ शाखाका बचतकर्ताले दिएको उजुरीको आधारमा काठमाडौँ जिल्ला अदालतले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको छ ।

सर्वसाधारणले बचत गरेको रकम अपचलन गरेको सहकारी गत फागुनदेखि बन्द छ । ठगी मुद्दामा गत चैतमा जिल्ला अदालत मोरङले सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । शर्माकी श्रीमती न्यौपानेले सहकारी संकटमा परेपछि सम्बन्ध विच्छेद गरेको पाइएको छ ।

झापाको दमक, उदयपुरको गाइघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय रहेको सहकारीमा २१ हजार १ सय ५४ जना बचतकर्ताले जम्मा गरेको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन गरेको शर्मामाथि आरोप छ ।

तुलसी सहकारीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख ८ हजार, दमक शाखाले ६० करोड ७२ लाख ९३ हजार, गाइघाट शाखाले २३ करोड ६६ लाख ९६ हजार र गोलबजार शाखाले ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन गरेको थियो । सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्मासहितले अनधिकृत रुपमा आफ्नो कम्पनीमा ऋण प्रवाह गरेका थिए ।

सर्वसाधारणको १ अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेको सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३७८ रुपैयाँ अध्यक्ष शर्माको ६ वटा कम्पनीलाई ऋण लगानी गरेको देखिएको छ । सहकारीको कुल पुँजी १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँमध्ये १ अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ खर्चको हिसाब प्रहरीले अनुसन्धानका क्रममा भेटेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप