सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस नवलपरासीको जिल्ला सम्मेलन संस्थापन पक्षद्वारा बहिष्कार

शुक्रबार, १५ मङ्सिर २०८०, २० : १४
शुक्रबार, १५ मङ्सिर २०८०

बुटवल । नेपाली कांग्रेस नवलपरासीको जिल्ला सम्मेलन एक पक्षका नेताहरूले बहिष्कार गरेका छन् ।

एकलौटी रुपमा सम्मेलन आयोजना गरिएको भन्दै संस्थापन पक्षसहित अधिकांश नेता कार्यकर्ताहरुले बहिष्कार गरेका हुन् । बहिष्कारपछि नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले उनीहरुसँग छलफल गरेका छन् ।

जिल्ला सम्मेलन उद्घाटन गर्न गएका कोइरालाले परासीमा संस्थापन पक्षका नेताहरुसँग छलफल गरेका छन् । उनले  नवलपरासीमा पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफू तयार भएको बताए ।

कोइरालाले भने, ‘यी कुराहरु म केन्द्रमा पनि राख्छु । कांग्रेस एउटै पार्टी हो । मासबेस पार्टी भएकाले यस्ता समस्याहरु आउँछन् ,। केन्द्रले केन्द्रीय सदस्यहरुलाई विवाद समाधानका लागि पठाउने प्रचलन थियो । यसपटक पनि यो विषयमा केन्द्रले कोही पदाधिकारी साथीलाई पठाउला । कोही नआए म आफैँ आएर पनि समस्या सल्टाउँछु ।’

कोइरालाले असन्तुष्ट नेता कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा सहभागी हुन र पार्टी एक ढिक्का भएको सन्देश दिन आग्रह गरे ।

तर नेताहरुले एकपक्षीय र विधान विपरीत आयोजना गरिएको सम्मेलनमा सहभागी हुन नसकिने प्रस्ट पार्दै सम्मेलन बहिष्कार गरेको बताएका छन् । छलफलमा केन्द्रीय सदस्य एवं नवलपरासीका पूर्व जिल्ला सभापति देवेन्द्रराज कँडेल, संविधानसभा सदस्य एवं प्रदेशसभा सदस्य देवकरण कलवार, प्रदेशसभा सदस्य एवं महाधिवेशन प्रतिनिधि बैजनाथ कलवार, प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुकुल आचार्य, प्रतिनिधिसभा क्षेत्र नं. २ क्षेत्रीय सभापति माधवप्रसाद पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’का सभापति रामचन्द्र साहनी, तरुण दल जिल्ला सभापति, महिला संघ, मुस्लिम संघलगायत विभिन्न पालिका सभापतिहरु सहभागी थिए ।

उनीहरुले जिल्ला सम्मेलन पार्टीको विधानसम्मत नभएको, सम्मेलनका सम्बन्धमा मातहतका क्षेत्रीय, नगर, गाउँ समितिसँग छलफल र परामर्श नगरी एकलौटी आयोजना गरिएको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप