मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपामा उम्मेदवार बन्न पाँच चरणमा प्रतिस्पर्धा, प्रशिक्षणको प्रमाणीकरण अनिवार्य

शुक्रबार, १५ मङ्सिर २०८०, २० : ३८
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  लिडरसीप एकेडमी र उम्मेदवार क्लबको नयाँ अवधारणा अगाडि सारेको छ । महोत्तरीको जलेश्वरमा मङ्सिर ११–१३ मा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले दुई वटा अवधारणा अगाडि सारेको हो ।

रास्वपा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदनमा पुराना दलको प्रवृत्ति पार्टीमा निषेध गर्न र पार्टीभित्र बिना कारण निषेध गरिएका असल मानिसलाई टिममा ल्याउन उक्त अवधारणा ल्याएको उल्लेख छ ।

पुराना राजनीतिक दलले राजनीतिक परिवर्तनका लागि गरेको योगदानको स्मरण गराउँदै लामिछानेले पार्टीमा त्यागको भावना जागृत गराउन खोजेको देखिन्छ । परिवर्तनका लागि हाँसीहाँसी गोली थाप्न तयार हुने र वर्षौँ जेलनेल भोग्न तयार हुने तहको प्रशिक्षण एक अध्ययनको विषय भएको लामिछानेको भनाइ थियो ।

४ वर्ष पदको लोभ र उम्मेदवार आफैँ हुने दौड त्याग गर्दा ०८४ मै परिवर्तन आउने उनको विश्वास छ । प्रतिवेदनमा उनले भनेका छन्, ‘मात्र ४ वर्ष त्याग गर्दा परिवर्तन सुनिश्चित हुने थाहा पाउँदा पनि हाम्रो पुस्ता कतै मै हुन्छु, मै लिन्छु भनिरहेको त छैन ? परिवर्तनको सुनिश्चितता हुँदाहुँदै पनि हामी असल साथी खोज्दै हिँड्नुको साटो दौडेर आफैँ पद ओगट्ने दौडमा त छैनौँ ? यदि छौँ भने हामी जति दौडे पनि आफ्नै गोडामा अल्झिएर लड्छौँ ।’

नेपाली जनताले एक युग कुरेर गरेको विश्वास र परिवर्तनको आशा डगमगाउन नदिन कुनै पनि किसिमको त्याग गर्न आफू सबैभन्दा पहिला तयार रहेको उनी बताउँछन् । अहिले गोली खान र सहिद नै हुनुपर्ने परिस्थिति नभए पनि दृढ संकल्प र इमानपूर्वक राजनीतिक अभियानमा लाग्न सक्ने गरी प्रशिक्षित जरुरी रहेको लामिछानेको निष्कर्ष छ । ‘हिजो राजनीतिक प्रशिक्षणको विषय र सन्दर्भ फरक थियो । राजनीतिक स्कुलिङ पनि फरक धारको थियो । आज हामी लिडरसीप एकेडेमीबाट प्रशिक्षित गरेर नेता उत्पादन गर्ने अवस्थामा आइपुगेका छौँ । लिडरसीप एकेडेमी मार्फत नेतालाई सबै कुराको प्रशिक्षण दिइनेछ,’ लामिछानेको प्रतिवेदनमा उल्लेख छ ।

उनको प्रतिवेदनमा उल्लेख भए अनुसार लिडरसीप एकेडेमीबाट प्रशिक्षणको प्रमाणीकरण नभएका कुनै पनि व्यक्तिले रास्वपाको कुनै पनि तहमा उम्मेदवारी दिन पाउने छैनन् ।

रास्वपा केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख अनिल केसरी शाहले लिडरसीप एकेडेमीमा तीन वटा काम हुने बताए । ‘लिडरसीप एकेडेमी मूलतः अनलर्निङ एकेडेमी हुनेछ । जहाँ पढ्नेमात्रै होइन, सिक्ने र गतल सिकाइलाई बिर्सने कार्य हुनेछ । २०८२ सालको अन्तसम्म लिडरसीप एकेडेमी तयार हुनेछ,’ उनले रातोपाटीसँग भने ।

स्थानीय, प्रदेश र राष्ट्रिय गन्तव्यमा पु¥याउन सक्ने नेतृत्व विकासमा लिडरसीप एकेडेमीले काम गर्ने उनको भनाइ छ । ‘आजका दिनमा नेपालमा नेतृत्व छैन भन्न मिल्दैन । तर, कस्तो नेतृत्व छ त भन्ने प्रश्न हो । नेतृत्वले हाम्रो स्थानीय, प्रदेशीय र राष्ट्रिय गन्तव्यमा पु¥याइरहेको छ कि छैन ?,’ उनी भन्छन्, ‘छैन भनेदेखि कस्तो नेतृत्व चाहिएको हो ? पार्टीको चार जनाले बुझेर भएन । वडा र पालिकामा उम्मेदवार भएर जित्नेलाई थाहा हुनुप¥यो कि कुर्सीमा बसेपछि मेरो दायित्व के हो ? मेरो कार्यक्षेत्र के हो ? काम गर्ने विधि कस्तो हुनुपर्छ ? यो कुरामा हामी चुनाव जितिसकेपछि होइन, उम्मेदवार हुनु अगाडि प्रशिक्षण दिन्छौँ ।’

लिडरसीप एकेडेमीमा प्रशिक्षण र परीक्षा दुवै हुने शाहको भनाइ छ । ‘वडा, पालिका, प्रदेश र संघमा चुनाव लड्छु भनेदेखि प्रशिक्षण सकिएपछि परीक्षा हुन्छ । उम्मेदवारका लागि आकांक्षी तीनचार जना हुँदा परीक्षा हुन्छ । त्यसमा राम्रो नतिजा ल्याउने मान्छे उम्मेदवार बन्नका लागि एउटा मापदण्ड बन्छ,’ उनले भने ।

उम्मेदवारलाई सम्बन्धित तहको प्रशिक्षण दिँदा जनताले योग्य जनप्रतिनिधि पाउने शाहको विश्वास छ । प्रशिक्षण र परीक्षा पास भएर उम्मेदवार बन्दा पार्टीभित्रका दाबेदारबिच पनि तिक्तता सिर्जना नगर्ने उनको भनाइ छ ।

यस्तै रास्वपाले महामन्त्री मुकुल ढकालको नेतृत्वमा ‘उम्मेदवार क्लब’ को अवधारणा कार्यान्वयनमा लैजाने छ । प्रशिक्षण, परीक्षण र आचरणमा केन्द्रित रहेर आगामी चुनावमा यही उम्मेदवार क्लबबाट देश हाँक्ने सहयात्री छानिने लामिछानेको दाबी छ ।

ढकालले पहिलो चरणमा पालिका र वडाबाट उम्मेदवारहरूलाई छान्ने र प्रशिक्षण दिने गरी ‘उम्मेदवार क्लब’ले काम गर्ने बताए । उनका अनुसार हालका लागि देशभरका कुनै पनि वडा र पालिकाबाट उम्मेदवार बन्न चाहने व्यक्तिले उम्मेदवार क्लबमा आवेदन दिन सक्नेछन् । पाँच चरणको चयन प्रक्रियामा अहिलेका वडा र पालिका संयोजकहरूलाई भने केवल चौथो र पाँचौँ चरणमा मात्र प्रतिस्पर्धा गर्ने छुट दिएको ढकालको भनाइ छ ।

पार्टी बाहिरकाहरूको हकमा सबै चरण पार गर्नुपर्ने लामिछानेको अवधारणामा उल्लेख छ । ‘यसो गर्दा योग्य मानिस कोही पनि छुट्दैनन्, पार्टीमा लागिसकेकाहरूको प्राथमिकता पनि सुनिश्चित हुन्छ । तर प्रतिस्पर्धाचाहिँ अनिवार्य गरिने छ,’ ढकालले भने ।

उम्मेदवार क्लबको पूर्ण विधि, प्रक्रिया र विवरण छिटै सार्वजनिक हुने ढकालले बताए । ‘उम्मेदवार छनोटको पाँच चरणमा प्रशिक्षण, परीक्षण र आचरणको प्रमाणितपछि मात्र उम्मेदवार चयन हुन्छ,’ ढकाल भन्छन्, ‘पहिलो चरणमा १० जना दाबेदार रहेको अवस्थामा अन्तिम चरणमा पुग्दा ३ जना आउँछ । उनीहरु मध्येबाट एक जना उम्मेदवार बन्छ । उम्मेदवार क्लबले यसमा काम गर्छ ।’

प्रतिष्ठित व्यक्तिका हकमा भने उम्मेदवार क्लबको कुनै पनि चरणमा प्रतिस्पर्धा नगरी पार्टी उम्मेदवार बनाउन सक्ने ढकाल बताउँछन् । ‘निर्वाचनको मुखैमा कुनै क्षेत्रमा प्रतिष्ठित व्यक्तिलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘उम्मेदवार क्लबले त्यसका सन्दर्भमा विधि बनाउँछ । जो पायो त्यही मान्छेलाई होइन कि प्रतिष्ठित व्यक्तिलाई लिडरसीप एकेडेमीले नै सिधै सिफारिस गर्न सक्ने विधि पनि रहन्छ । प्रशिक्षण दिने हैसियत भएका मान्छेलाई प्रशिक्षण लिएर उम्मेदवार बनाउने भन्ने होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप