सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार, एमाले एक्लै लड्ने !

राष्ट्रिय सभा निर्वाचनका लागि कुन दलको कति मतभार ?
शनिबार, १६ मङ्सिर २०८०, १७ : ०७
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन दलले साझा उम्मेदवार बनाएर जाने भएका छन् । यसबारेमा दलहरूबिच औपचारिक निर्णय नभए पनि गठबन्धनको मर्म अनुसार साझा उम्मेदवार बनाएर जाने नेपाली कांग्रेसका प्रवक्ता मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनले पार्टीमा यसबारेमा अनौपचारिक छलफल भए पनि औपचारिक छलफल हुन बाँकी रहेको बताए ।

प्रवक्ता विश्वकर्माले भने–‘यसबारेमा पार्टीमा अनौपचारिक छलफल भएको छ तर अहिले हामी गठबन्धनमा रहेकोले गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार बनाउँछौँ । यसबारेमा नेताहरूबिचको छलफल बाँकी नै छ । यसका लागि पार्टीभित्र पनि छलफल हुनुपर्‍यो र पार्टी–पार्टीका बिचमा पनि छलफल गर्नुपर्नेछ । केही दिनमै यसबारे सुरसार हुन्छ ।’ 

यता नेकपा एमालेले पनि राष्ट्रिय सभाको उम्मेदवार तय गर्ने बारेमा औपचारिक छलफल थालेको छैन । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनको मिति भर्खर घोषणा भएकोले छलफल गर्न बाँकी रहेको बताए । 

उनले भने–‘अहिले हामी पार्टीको अभियानको क्रममा छौँ । बल्ल निर्वाचनको मिति घोषणा भएको छ । त्यसका लागि आयोगमा दल दर्ता गर्छौ, त्यसपछि पुसको पहिलो हप्ता वा दोस्रो हप्तातिर मात्र उम्मेदवारको बारेमा पार्टीमा छलफल हुन्छ । त्यसका लागि पर्याप्त समय बाँकी नै छ ।’

गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि एमाले आफ्नै ढङ्गले चुनाव लड्ने उनले बताए । 

सरकारले आगामी माघ ११ गते रिक्त हुने १९ सदस्य चयनका लागि राष्ट्रियसभाको निर्वाचनको मिति प्रस्ताव गरेसँगै निर्वाचन आयोगले  निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै  नयाँ उम्मेदवार चयनका लागि राजनीतिक दलहरूभित्र आन्तरिक तयारी थालिएको छ । 

आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । 

पदावधि सकिनेमा राष्ट्रियसभाका अध्यक्ष, राज्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका पदाधिकारीको समेत रहेका छन् । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

यी हुन पदावधि सकिन लागेका राष्ट्रिय सभा सदस्यहरू

२०७४ साल फागुनबाट २०८० साल फागुनसम्म कायम भएका १ स्वतन्त्र सहित २० सांसदहरू बिदाइ हुन लागेका छन् । अहिले बिदाइ हुन लागेका १ तिहाइ राष्ट्रिय सभा सदस्यले ६ वर्ष अवधि पूरा गर्नेछन् । 

माथिल्लो सदनको रूपमा रहेको राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुने संवैधानिक व्यवस्था रहेको छ । संविधान जारी भएर पहिलो निर्वाचन सम्पन्न भएपछि गोला प्रथाबाट सांसदहरूको पदावधि तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय सकिन लागेको हो । 

यो पटक सबैभन्दा धेरै नेकपा एमालेबाट निर्वाचित ९ सदस्यहरूको बिदाइ हुँदैछ । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बिदाइ हुँदैछ । 

एमालेका अन्य सदस्यहरूमा सुदूरपश्चिम प्रदेश महिला समूहबाट निर्वाचित इन्दु कडरिया, लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराई, गण्डकीबाट निर्वाचित दीपा गुरुङ, बागमतीबाट निर्वाचित दिलकुमारी रावल थापा पार्वती, कर्णालीबाट दलित कोटाबाट निर्वाचित नरपति लुवार र कर्णालीबाटै निर्वाचित भैरवसुन्दर श्रेष्ठ, बागमतीबाट निर्वाचित रामचन्द्र राई बिदाइ हुँदैछन् । 

यस्तै नेपाली कांग्रेसबाट ४ जना सदस्यहरू अन्तर्गत लुम्बिनी प्रदेशबाट अनिता देवकोटा, मधेस प्रदेशबाट जितेन्द्रनारायण देव, गण्डकीबाट प्रकाश पन्थ, कोशी प्रदेशबाट रमेशजङ्ग रायमाझी बिदाइमा पर्दैछन् । 

माओवादी केन्द्रका ३ जना सदस्यहरूमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित  महेशकुमार महरा, कोशी प्रदेशबाट निर्वाचित बिना पोखरेल,  सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हरिराम चौधरी बिदाइ हुनेछन् । 

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशबाट निर्वाचित नन्दा चपाई र बागमती प्रदेशबाट निर्वाचित सिंगबहादुर विश्वकर्माको बिदाइ हुनेछ । जनता समाजवादी पार्टीका मधेस प्रदेशबाट प्रमीला कुमारी र बागमती प्रदेशबाट निर्वाचित स्वतन्त्र सदस्य खिमलाल देवकोटाको बिदाइ हुनेछ । यसअघि २ वर्ष र ४ वर्ष समयावधि पाएका सदस्यहरू बिदाइ भइसकेका छन् । 

यस्तो छ निर्वाचन कार्यतालिका 

सरकारले चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बिहीबार बसेको बैठकले माघ ११ गते हुने १९ पदको निर्वाचन तालिका स्वीकृत गरिसकेको छ । कोशी प्रदेशबाट २ सदस्य, मधेस प्रदेशबाट २ सदस्य, बागमती प्रदेशबाट ४ सदस्य, गण्डकी प्रदेशबाट ३ सदस्य, लुम्बिनी प्रदेशबाट २ सदस्य, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ । 

जस अनुसार मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरिएको छ । 

राजनीतिक दल दर्ता सम्पन्न भएपछि पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइनेछ । त्यस्तै पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगको भनाई छ । 

अगामी पुस २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने माघ ११ गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ । 

राष्ट्रिय सभा निर्वाचनका लागि कुन दलको कति मतभार ?

निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार तोकेको छ । २०७८ सालमा भएको राष्ट्रिय जनगणनाबाट आएको नयाँ आँकडाका आधारमा मतदाताका रूपमा रहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार परिवर्तन गरिएको छ । 

आयोगले यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरेकोमा अहिले बढेर ५३ पुगेको छ । यस्तै स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेकोमा १९ पुगेको छ । 

राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशका ५५० प्रदेश सांसद र ७५३ स्थानीय तहका १५०६ जना प्रमुख तथा उपप्रमुख मतदाता छन् । नयाँ कायम मतभार अनुसार प्रदेश सांसद कूल मतभार २९ हजार १५० रहेको छ भने स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार १४ हजार ३०७ रहेको छ । 

मतादाताका रूपमा रहेका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको दलीय आबद्धताका आधारमा प्रदेश अनुसार राजनीतिक दलको मतभार यसप्रकार रहेको छ :

कोशी प्रदेश :

कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता रहेका छन् । यो प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१० रहेको छ । कांग्रेसको कूल मतभार ३ हजार ७२२ मतभार रहेको छ भने माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । 

यस्तै एकीकृत समाजवादीको ३४५, जनता समाजवादीको १२९, राप्रपाको ३९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ । 

मधेस प्रदेशमा १०७ प्रदेश सांसदको ५ हजार ६७१ मत र स्थानीय तहका २७२ जनप्रतिनिधिको ५ हजार १६८ गरी १० हजार ८३९ मत रहेको छ । मधेस प्रदेशमा एमालेको कूल २ हजार ३०२ मतभार, कांग्रेसको ३ हजार १०४, जनता समाजवादी पार्टीको १ हजार ८१७, जनतम पार्टीको ७४६, लोकतान्त्रिक समाजवादी पार्टीको ९३३, माओवादीको ७६६, नेकपा एसको ५८०, नागरिक उन्मुक्ति पार्टीको ५३, राप्रपाको ५३, संघीय समाजवादीको ५३, तमलोपाको ५३ विवेकशील साझा पार्टीको ३८ र स्वतन्त्रको ३७५ मतभार रहेको छ । 

बागमती प्रदेश :

बागमती प्रदेशमा कूल प्रदेश सांसद ११० को ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ ।

यो प्रदेशमा कांग्रेसको कूल मतभार ४ हजार १३, एमालको २ हजार ५७१, माओवादीको २ हजार १९६ मतभार रहेको छ । यस्तै नेकपा एसको ५४२, राप्रपाको ७०८, हाम्रो नेपाली पार्टीको १०६, नेमकिपाको १९७ र स्वतन्त्रको १९ मतभार रहेको छ । 

गण्डकी प्रदेश :

यो प्रदेशमा प्रदेश सभा सदस्य ६० जनाको मतभार ३ हजार १८० र स्थानीय तहका १७०९ जनप्रतिनिधिको मतभार ३ हजार २३० गरी कूल ६ हजार ४१० रहेको छ । 

गण्डकी प्रदेशमा कांग्रेसको २ हजार ७०४, एमालेको २ हजार ४५८, माओवादीको ९४१ मतभार रहेको छ । यस्तै राप्रपाको १०६, नेकपा एसको ७२, नेपपाको ५३, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्रको १९ मतभार रहेको छ । 

लुम्बिनी प्रदेश :

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्यको ४ हजार ६११ मतभार र स्थानीय तहका २१८ जनप्रतिनिधिको ४ हजार १४२ मतभार गरी कूल ८ हजार ७५३ मतभार रहेको छ । 

यो प्रदेशमा एमालेको २ हजार ८१०, कांग्रेसको ३ हजार १७९, माओवादीको १ हजार २३७ मतभार रहेको छ । यस्तै राप्रपाको २६९, नागरिक उन्मुक्ति पार्टीको २१२, जसपाको २७३, लोसपाको २३५, जनमत पार्टीको १५९, नेकपा एसको ५३, राष्ट्रिय जनमोर्चाको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रको १५९ मतभार रहेको छ । 

कर्णाली प्रदेश 

कर्णाली प्रदेशमा कूल प्रदेश सभा सदस्य ४९ जनाको २ हजार १२० मतभार रहेको छ भने १५८ जना स्थानीय तहका जनप्रतिनिधिको ३ हजार २ मतभार गरी कूल ५ हजार १२२ मतभार रहेको छ । 

यो प्रदेशमा कांग्रेसको १ हजार ८६३ मतभार रहेको छ भने माओवादीको १ हजार ६५४, एमालेको १ हजार १४२, नेकपा एसको २४३, राप्रपाको ५३ र स्वतन्त्रको १६७ मतभार रहेको छ । 

सुदूरपश्चिम प्रदेश :

यो प्रदेशमा कूल ५३ जना प्रदेश सभा सदस्यको २ हजार ८०९ मतभार रहेको छ भने १७६ स्थानीय तहका जनप्रतिनिधिको ३ हजार ३३४ मतभार गरी ६ हजार १५३ मतभार रहेको छ । 

यो प्रदेशमा कांग्रेसको २ हजार ६४१ मतभार रहेको छ भने माओवादीको १ हजार ५८, एमालेको १ हजार ४८० मतभार रहेको छ । यस्तै नेकपा एसको ३०७, नागरिक उन्मुक्ति पार्टीको ५०४, राप्रपाको ५३ र स्वतन्त्रको ११० मतभार रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप