सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सोती घटना

सोती घटना मुद्दामा अन्तिम सुनुवाइ जारी, बुधबारसम्म फैसला आउने अपेक्षा

प्रेमिका भनिएकी युवतीका दाजुले गरेका थिए हत्याको स्वीकारोक्ति
सोमबार, १८ मङ्सिर २०८०, १३ : १४
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा रुकुम जिल्ला अदालतमा सोमबार पनि सुनुवाइ जारी छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार पनि सुनवाइ जारी रहेको छ । 

रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाहीका अनुसार आइतबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरूले बहस गरेका छन् । धेरै प्रतिवादी रहेको कारण आइतबार सरकारी वकिलको तर्फबाट बहस सकिएको थिएन । सोमबार खाजा समय अगाडिसम्म सरकारी वकिलको तर्फबाट बहस सकाउने तयारी छ । सोमबार खाजा समयपछि र मंगलबार प्रतिवादीतर्फका वकिलहरूको बहस सकिएमा बुधबार खाजा समय अगाडि वादीका तर्फबाट जवाफी बहस गर्ने तयारी छ । जवाफी बहस सकिएमा बुधबार साँझसम्म फैसला आउन सक्ने श्रेष्तेदार शाहीले बताइन् । 

२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो । ३२ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो । 

प्रेमिका भनिएकी किशोरीले हत्या भएको स्थानमा नपुगेको बयान दिएकी र अन्य तथ्यले समेत पुष्टि गरेको भए पनि निजकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको थियो । 

२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि बल्ल यस मुद्दामा निरन्तर सुनुवाइ गरी फैसला गर्ने तयारी गरिएको हो । 

पदमबहादुर बुढा, शोभे नेपाली लगायतको जाहेरीका आधारमा प्रहरी अनुसन्धान भई नेपाल सरकारले ३४ जनालाई ज्यान मारेको मुद्दामा जन्मकैद, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावको कसुरमा ३ वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना तथा ज्यान मार्ने उद्योगमा संलग्नहरूको हकमा १० वर्षसम्मको कैद सजायको मागदाबी लिइएको छ । एकै व्यक्तिले सबै कसुर गरेको अवस्थामा पनि जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय र अपराध अनुसारको जरिवाना तथा पीडित परिवारलाई क्षतिपूर्ति भराउनु पर्नेछ । 

नवराज विक लगायतका ६ जना व्यक्तिहरूको हत्यामा संलग्न रहेकामाथि अनुसन्धान हुँदा मृतक नवराज विकका प्रेमिका भनिएकी ५४ रुकुम पश्चिम ३६ का दाजु परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)३ ले प्रहरीसमक्ष बयान दिने क्रममा आफूहरूले नवराज विकमाथि कुटपिट गरेर उनी मरेपछि भेरी नदीमा बगाएको बयान दिएका थिए । 

नवराज बिक दलित केटा भएकाले पटकपटक घरमा आउने गरेको कुरा परिवारका सदस्यहरूलाई मन नपरेको र आएमा मारिदिनेसम्मको योजना घरमा बनेको समेत परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)३ ले प्रहरीसमक्षको बयानमा खुलाएका थिए ।

  • प्रेमिका भनिएकी ५४ रुकुम पश्चिम ३६ का दाइले आफ्नो बयानमा यस्तो भनेका थिए । 

‘मेरो बहिनी परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) र मृतक नवराज विकबिचमा प्रेम सम्बन्ध भई पटक पटक मेरो घरमा आउने गरेको थाहा छ । निज नवराज बिक दलित केटा भएकोले म समेतको घर परिवारको चित्त बुझेको थिएन, निज पटक पटक आउने गरेकाले पुनः आएमा मारिदिने योजना बनाएका थियौँ । मिति २०७७।०२।१० गते अन्दाजी १६ः४५ बजेको समयमा म र मेरो बुवा परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)१ घर नजिकै रहेको ढुङ्गा खानीमा काम गरिरहेको अवस्थामा नवराज विकसमेतका केटाहरू आएको देखी मैले ९८६१०४xxx नम्बरको मोबाइलबाट आमालाई फोन गरी नवराज विकसमेतका केटाहरू घरतिर आउँदै छन् भनी खबर गरी बुवा र म दौडँदै घरमा जाँदा केटाहरू मेरो घरमा आएकोमा आमाले गाली गरेपछि फर्केर गइसकेका रहेछन् ।

तत्काल मैले प्रतिवादी विनोद मल्ललाई फोन गरी नवराज विकसमेतलाई पिछा गर्नु भने र बुवा वडा अध्यक्ष डम्बर बहादुर मल्ल समेतलाई फोन गरी बोलाए पछि डम्बर बहादुर मल्लले समेत अन्य प्रतिवादीहरूलाई खबर गरेपछि निज नवराज विकसमेतलाई मार्नका लागि बुवा डिल्ली बहादुर मल्ल ठकुरी समेतका प्रतिवादीहरू पैदल हिँडेर पिछा गर्दै गए र म आफ्नो रा.३प.८०६७ नम्बरको मोटरसाइकलमा चढी सडक बाटो जाँदै गर्दा मध्यपहाडी सडक बाटोमा प्रतिवादी मध्येका हर्क बहादुर मल्ललाई भेटी निजलाई मेरो मोटरसाइकलको पछाडि राखी नवराज विकसमेतका केटाहरूलाई पिछा गर्दै जाने क्रममा अन्दाजी १८:१५ बजेको समयमा जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ गोईरी औल स्थित मध्य पहाडी सडकमा पुग्दा नवराज विकसमेतका केटाहरूलाई फेला पारी म र माथिबाट पिछा गर्दै आएका जाहेरी दरखास्तमा उल्लेख भएका अन्य प्रतिवादीहरूले छेका हाली नवराज विकसमेतलाई ढुङ्गा लाठी समेतले प्रहार गर्दै लखेट्दै निजहरूलाई भेरी नदीको सानो पानी भएको भँगालोबाट पारि बिच बगरमा पुर्‍याई नवराज विकसमेतलाई लाठी, ढुङ्गा समेतले टाउको समेतको शरीरमा मर्नेसम्मको चोट पर्ने गरी प्रहार गरी कर्तव्य गरी मारी भेरी नदीमा बगाई अन्य ५ जना केटाहरूलाई कुटपिट गरी घाइते बनाई नियन्त्रणमा लिएका हौँ । भेरी नदी पारी गएका ५ जना केटाहरूलाई समेत केही प्रतिवादीहरूले पौडी खेली पारी गई कुटपिट गरी नियन्त्रणमा लिएका हुन् । म समेतले नवराज विकसमेतका केटाहरूलाई कर्तव्य गरी भेरी नदीमा बगाएका हौँ ।’

प्रेमिका दुईपटक नवराज विकको घरमै बसेकी थिइन्

सोती घटनाका प्रमुख पात्र रहेका नवराज विककी प्रेमिका भनिएकी किशोरीले आफ्नो बयानमा विकसँग पहिले आफ्नो प्रेम सम्बन्ध रहेको तर पछि नरहेको बयान दिएकी थिइन् । पहिले प्रेम हुँदा विककै घरमा गएर दुई रात बाससमेत बसेको उनले बयान दिएकी छिन् । 

उनको बयानमा पहिले दलित भन्ने थाहा नभएको तर पछि दलित रहेको थाहा पाएपछि सम्बन्ध तोड्न चाहे पनि आफूसँग विवाह गर्न दबाब दिएको बताएकी छिन् । 

  • नवराज विककी प्रेमिका भनिएकी परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ ले आफ्नो बयानको केही अंश यस्तो छ :

‘मृतक नवराज विकले मिति २०७५ साल फागुन महिनामा मलाई फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएका मैले एसेप्ट गरी सोही मितिदेखि साथी भई कुराकानी र भेटघाट हुने गथ्र्यो । परिचय हुँदै गएपछि, मिति २०७६ साल पौष १४ गते जाजरकोट खलङ्गामा रमाइलो मेला लागेकाले मेला हेर्न गएको मौकामा मृतकसँग भेट भएकोले सो रातमा मृतककै घरमा बास बसी भोलिपल्ट घर गएकी हुँ, सो पश्चात् पनि मिति २०७६ पौष महिना गते यकिन भएन, मृतक नवराज विकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाइको जन्मदिनमा गएको मौकामा समेत भेट भएकोले सो दिन समेत मृतककै घरमा गई सुती भोलिपल्ट घर गएकी हुँ ।

सो समयमा मृतकका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्, तर म विवाह गरी गएकी होइन । निजले फोनमा मलाई विवाह गरौँ भनी कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ । निजको घरमा बसेको त्यति नै हो, मलाई मिति यकिन भएन मृतक नवराज विकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ, भोलिपल्ट बिहान पनि निज नवराज विकसमेत मेरो घर नजिकै हिँडिरहेको देखी मेरो बुवा आमा समेतले सम्झाई आफ्नो घरतर्फ पठाएकोमा २०७७ साल वैशाख महिनाको गते याद भएन, निजले आफ्नो साथी सञ्जु विकलाई ल्याई मेरो गाउँमा आएको रहेछ तर मैले देखिन । गाउँलेले भनेको सुनेकी थिएँ ।

मिति २०७७।०१।१७ गते राती ८–९ बजे समेत निजले अन्य २ जना साथीहरूलाई ल्याई मेरो घर नजिकै आएको मौकामा मेरो बुवा, आमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बर बहादुर मल्ल, विनोद मल्ल लाई समेत खबर गरी निजलाई गाउँलेहरू भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाई छोडेका थिए । मेरो घरमा आई बस्ने गरेको थिएन, मैले मृतक नवराज विकलाई फेसबुकमा ब्लक गरेदेखि निजसँग कुनै कुरा भएन, मेरो भाइको मोबाइलबाट म्यासेजमा कुराकानी भएको थियो । वारदातको दिन नवराज विकले केटाहरू ल्याएर आउँदै छन् भन्ने कुरा मलाई थाहा थिएन, मेरो बहिनी नाता पार्ने सुस्मा मल्लसँग निज नवराज विकले लकडाउन खुलेपछि मलाई लिन केटाहरू लिएर आउँछु भनेर भनेको रहेछ सो कुरा निज बहिनीले मेरो आमालाई भनेकी रहेछ । सो कुरा आमाले मलाई मिति २०७७।०२।१÷२ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएँ, मिति २०७७।०२।१० गतेको दिन म घर कोठामा टिभी हेरिरहेकी थिएँ । मेरो घर नजिक नवराज विकसमेतका केटाहरू आएको अवस्थामा मेरो आमाले गाली पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरू भेला जम्मा भएका थिए ।

तर मैले केटाहरूलाई देखिन । म घटनास्थलमा गएकी छैन, सो दिनको दिउँसो के कसो भयो मलाई थाहा छैन । सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरू भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरूसँग फेसबुकमा कुराकानी हुँदा नवराज विकको मृत्यु भएको सुने, पछि बुझ्दा मेरो बुवा, दाइ समेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई  ६ जना केटाहरूलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।’

३६ महिना पुरानो बहुचर्चित सोती हत्याकाण्डमाथि रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप