विप्लवविरुद्ध पक्राउ पुर्जीले तरङ्ग : के भन्छन् दलका नेताहरू ?
काठमाडौँ । सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित शीर्ष नेताहरूविरूद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि त्यसले ठूलै राजनीतिक तरङ्ग उत्पन्न भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा विप्लवसहितका नेताहरूविरूद्ध २०७६ असोज ९ गते राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएको थियो । अदालतको मङ्सिर १० गतेको आदेश अनुसार ३५ दिने पुर्जी जारी भएपछि राजनीतिक तरङ्ग निम्तिएको हो । पक्राउ पुर्जी जारी भएको विषयलाई माओवादी घटकहरूले फेरि शान्ति प्रक्रिया बिथोल्न खोजेको हो कि भन्ने आशङ्का गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध यसअघि दायर भएको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अर्कातिर लामो समय राजनीतिक सहमति नहुँदा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा अल्झिएर बसेको छ । यस्तो अवस्थामा एकपछि अर्को द्वन्द्वकालीन मुद्दा दर्ता गरी अदालतले आवश्यक प्रक्रिया अगाडि बढाएपछि प्रधानमन्त्री प्रचण्डसहित पूर्वमाओवादी नेताहरू झस्किएका छन् ।

विप्लवसहित नेकपाका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मूलधारका सम्पादकसँगको छलफलमा उनले असन्तुष्टि पोखेका हुन् ।
‘जे भयो गलत भयो । सरकारले विप्लवहरुसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरु शान्ति प्रक्रियामा आइसकेका छन् । शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरुलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन । सबै बुझेर थप कुरा पछि आउँछ,’ प्रधानमन्त्रीले भने ।
यता पक्राउ पुर्जी जारी गरेको विषयलाई आफूहरुले गम्भीर रुपमा लिएको प्रतिक्रिया नेकपाका महासचिव विप्लवले दिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै उनले विगतमा भएका सहमतिलाई राज्यका सबै निकायले पालना गर्नुपर्ने बताए ।
‘सहमतिलाई टुङ्ग्याउन नदिने जुन खालको तत्वहरूको षड्यन्त्र भइरहेको छ, त्यसमा राज्यका कुनै पनि निकाय नपरून् भन्ने हाम्रो आग्रह छ । जहाँसम्म अदालतको कुरा छ, राज्यले कानुन बनाएर निष्कर्ष नदिएसम्म अदालतले आफ्नो प्रक्रिया अगाडि बढाउँछ । त्यसलाई अन्यथा लिने कुरा आउँदैन’, अदालतले जारी गरेको पक्राउ पुर्जीबारे उनले प्रतिक्रिया दिए ।
विप्लवसहितका शीर्ष नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कांग्रेस, एमाले र माओवादीलेका शीर्ष नेताहरूले राजनीतिक सहमतिको आधारमा टुङ्ग्याउनुपर्ने धारणा राखेका छन् ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शान्ति प्रक्रियामा आइसकेका राजनीतिक दलका नेताहरुको विषयलाई सत्य निरुपण आयोगमार्फत टुङ्ग्याउनुपर्ने बताएका छन् । यद्यपि कुन मुद्दा सत्य निरुपणले टुङ्ग्याउने, कुन मुद्दा फौजदारी प्रक्रियामार्फत टुङ्ग्याउने भन्ने विषयमा राजनीतिक सहमति आवश्यक भएको उनको भनाइ छ ।
‘कतिपय द्वन्द्वकालीन मुद्दालाई फौजदारी प्रक्रियामा जाँदा त्यसले जटिलता निम्त्याउँछ । त्यसकारण यो कुन रुपमा विकसित छ, यसको समाधान खोज्नुपर्छ । सत्यनिरुपण सम्बन्धी विधेयक संसदमा विचाराधीन छ । त्यो विधेयक टुङ्गो लागिसकेपछि यी विषय हल हुन सक्छ’, उनले भने, ‘माओवादी विद्रोहका बेलाका पनि मुद्दाहरु छन् । ती मुद्दा कतिपय फौजदारी प्रकृतिका छन्, प्रशासनमा छन्, सरकारी वकिल कार्यालयमा छन्, प्रहरी कार्यालयमा छन् । यी सबै विषयमा सत्य निरुपणले के के गर्ने र फौजदारीमा कुन कुन मुद्दा लैजाने भन्नेमा राजनीतिक दलहरूबिच सहमति आवश्यक छ ।’

यता माओवादी केन्द्रका महासचिव देव गुरुङले राजनीतिक रुपले भएको सम्झौतालाई सरकारी वकिलमार्फत सम्बन्धित अदालतमा निवेदन दिएर निष्क्रिय बनाउन सकिने धारणा राखे । द्वन्द्वकालीन मुद्दा छिट्टो टुङ्ग्याउन राजनीतिक सहमति आवश्यक हुने उनले बताए ।
‘राजनीतिक रुपले भएको सम्झौता सरकारी वकिलमार्फत कुन कुन अदालतमा मुद्दा छ, त्यहाँ पत्राचार गरी निष्क्रिय बनाउनुपर्छ । त्यो निष्क्रिय बनाउन बाँकी रहेको होला’, उनले भने, ‘अदालतले त्यसलाई सहयोग गर्नुपर्छ । यो ओली सरकारकै पालामा मुद्दा फिर्ता गर्नुपर्थ्यो, त्यसो हुन सकेन । अब राजनीतिक सहमति गरेर संसदमा विचाराधीन टीआरसी विधेयक अगाडि बढाउनु पर्छ ।’
_MOLg8B8vD2.jpg)
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हतियार बिसाएर शान्ति प्रक्रियामा आएपछि हतियार बुझाउन तयार भएकाको हकमा यस्ता क्रियाकलापले मान्छेमा फेरि हिंसात्मक बाटोमा लाग्न प्रेरित गर्ने प्रतिक्रिया दिए । तीन वर्षसम्म सम्झौता कार्यान्वयन नहुँदा समस्या आएको भन्दै उनले तत्काल राजनीतिक सहमतिको आधारमा समाधान गर्नुपर्ने बताए ।
‘यो घटनाक्रम समग्रमा बुझ्न पाएको छैन । सामान्यतया उहाँहरूले सबै गतिविधि शान्तिपूर्ण रुपले गर्ने भनेर निर्णय गरिसकेको र सम्झौता भएको पनि तीन वर्ष हुन लागेको छ । पुराना मुद्दा लगाएर वारेन्ट गर्नु उचित हुँदैन’, ज्ञवालीले भने ।
२०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपा २०७६ साल फागुनमा सरकारसँग तीन बुँदे सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको हो । सम्झौताबमोजिम मुद्दा फिर्ता लिन नेकपाका नेताहरूले सरकारलाई लगातार दबाब दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण