बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कालीगण्डकी कोरिडोर : बेगखोला-नागढुङ्गा खण्डको काम लयमा फर्कियो

मङ्गलबार, १९ मङ्सिर २०८०, १४ : ३७
मङ्गलबार, १९ मङ्सिर २०८०

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको बेगखोला-भुरुङ तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ । 

समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि बेगखोलादेखि भुरुङ तातोपानीको नागढुङ्गा खण्डका निर्माण व्यवसायी काममा फर्किएर कालोपत्रको तयारी थालेका हुन् । 

रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी-जोमसोम-कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो ।  

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण विसं २०७७ हिउँददेखि सुस्ताएको थियो । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएका बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिए । 

“पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सब बेस बिछ्याउने काम सकिएको छ,” उनले भने, “चमेरे, वैसरी र महभिर बाहेकको सडक कालोपत्रको तयारी भएको छ ।” 

शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दुरीमा सब बेस र बेस राख्ने काम सकिएको बताए । “मौसमले साथ दियो भने छदेखि आठ किलोमिटर सडक यसपाली कालोपत्र गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ”, उनले भने । 

यसखण्डका विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ । रघुगङ्गा गाउँपालिकाको राहुपारेदेखि बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । राहुघाट–बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सीनाले बताए । 

बेगखोला–नागढुङ्गा खण्डको कामलाई पूर्णता दिन मूल ठेकेदार आएको छ । राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मूल ठेकेदारलेनै पूर्णता दिने जनाएको छ । कालोपत्र भइसकेको बैसरी र सिरुबारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा अलपत्र परेको कालोपत्र गर्ने कामलाई लयमा फर्काउन सङ्घीय सरकारकामन्त्री, सचिव र आयोजनाका प्रमुखसँग समन्वयका साथै जिल्ला र पालिकास्तरमा समन्वय तथा सहजीकरण गरिएको बताए । 

“म्याग्दी खण्डमा सडक निर्माण अलपत्र हुँदा यात्रुलाई सास्ती भएको विषयमा प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छौँ”, गत हप्ता निर्माणाधीन सडक अनुगमन गरेका उनले भने, “नागढुङ्गादेखि मुस्ताङको घाँसा खण्डसम्मको सडक निर्माणलाई पनि लयमा फर्काउन दबाबका साथै समन्वय र सहजीकरण गरिरहेका छौ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप