सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महामन्त्री थापा र मुख्यमन्त्री कार्कीबिच घोचपेच

मङ्गलबार, १९ मङ्सिर २०८०, १७ : ४५
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीबिच घोचपेच भएको छ । 

नेपाली कांग्रेस ओखलढुंगाको सम्मेलनमा महामन्त्री थापा र मुख्यमन्त्री कार्की घोचपेचमा उत्रिएका हुन् । कार्कीले महामन्त्री थापालाई लक्षित गर्दै आफू मुख्यमन्त्री बनेको नपचेको बताए ।

‘नेपाली कांग्रेसबाट अरुले नै लगिसकेको मुख्यमन्त्री खोसेर ल्याउँदा केही मानिसहरुलाई पचेन । बमिट आयो, हुटहुटी आयो,’ उनले भने । कांग्रेस शिर उँचो बनाउन विद्रोह गरेको भन्दै आफू पार्टीको शिर निहुरिन नदिने कार्कीले बताए ।

‘नेपाली कांग्रेसको इज्जत बढाउने साथीहरुको शिर उँचो बनाउन ज्यान दिन तयार भएको म एउटा योद्धा कारबाही हुन्छ भन्ने कुरासँग डराउँदैन थिएँ । त्यस कारण विद्रोह गरेको हो । यो मुख्यमन्त्रीले कांग्रेसको शिर निहुरिन दिँदैन,’ उनले भने ।

सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेपछि एमालेसँग मिलेर कार्की मुख्यमन्त्री बनेका थिए ।  कांग्रेस नेता शेखर कोइरालाको आड कार्कीले गरेको विद्रोहमा महामन्त्री थापाको साथ थिएन ।

साथै सम्मेलनमा मुख्यमन्त्री कार्कीले महामन्त्रीहरुमा परिपक्ता नदेखिँदा पार्टीमा द्वन्द्व सिर्जना भएको आरोप पनि लगाए । ‘सभापतिले काम गरिराख्नु भएको छ । महामन्त्रीको परिपक्ता देखिराखिएको छैन,’ उनले भने, ‘महामन्त्रीले विद्रोही कार्यक्रम गर्दै हिँड्नुहुन्छ । महामन्त्रीले जिल्ला–जिल्ला गाउँ–गाउँका र केन्द्रका द्वन्द्व व्यवस्थापन गर्ने हो । नकि द्वन्द्व सिर्जना गर्ने होइन ।’

सभापति शेरबहादुर देउवालाई सम्मानपूर्वक बिदाइ गरेर पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड थियो । ‘आदरणीय शेखर दाइ र गगनजीलाई पनि भन्न चाहन्छु । सभापतिको सम्मान साथ बिदाइ गरिदियौँ । पार्टीलाई एक ढिक्का बनाएर भोलि जनताको कांग्रेस बनाऔँ,’ उनले भने,‘ जनताको बिचमा कांग्रेसलाई विभाजित गराएर कांग्रेस बलियो हुँदैन । घर जलेको खरानीको नेतृत्व गर्छु भनेर सपना नदेख्नुहोस् । घर बलियो बनाएर सपना देख्नुहोस् ।’

मुख्यमन्त्री कार्कीपछि बोलेका महामन्त्री थापाले पनि घुमाउरो तरिकाले त्यसको जवाफ दिए । ‘हामी ८४ डम्फुको पछाडि लाग्ने होइन । जिम्मेवारी पाएको वडाध्यक्ष होस्, जिम्मा पाएको मेयर होस्, जिम्मा पाएको सांसद होस् ,’ महामन्त्री थापाले भने, ‘जिम्मा पाएको मेयर होस वा जिम्मा पाएको मुख्यमन्त्री होस् । यो बेलामा जिम्मेवार बन्ने हो । धेरै छाडा कुरा गर्ने होइन । आफूले पाएको जिम्मा पुरा गर्ने ।’

त्यसको आधारमा भोलि मत माग्न जाने अवस्था निर्माण गर्नुपर्ने उनको भनाइ थियो । ‘प्रत्येकले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गरौँ । जनताले प्रत्येक पटक जिम्मा पुरा गरेर आएको कांग्रेसलाई पुरस्कृत गरेका छन् । फेरि गर्ने छन् । चिन्ता ८४ को होइन ८० को हो । चिन्ता ८१ को हो । चिन्ता अहिलेको हो । आजको हो,’ उनले भने ।

यस्तै महामन्त्री थापाले बाहिरी हल्लाबाट कांग्रेसलाई अलमलिने छुट नभएको बताए । ‘एमाले र माओवादी अलमलिए फरक पर्दैन । कांग्रेस अलमलियो भने त्यसको मूल्य सिंगो देशले व्यहोर्नुपर्छ । त्यसैले हामीसँग अलमलिने सुविधा छैन ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप