सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस प्रतिनिधि नआउँदा फतुवा विजयपुरको बैठक स्थगित, नगरसभा थप अन्योलमा

बुधबार, २० मङ्सिर २०८०, २० : १२
बुधबार, २० मङ्सिर २०८०

रौतहट । कांग्रेसका जनप्रतिनिधि अनुपस्थित भएपछि रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक दोस्रो पटक स्थगित गरिएको छ ।

नगरसभाको मिति तोक्न बुधबार बसेको नगर कार्यपालिका बोर्डको बैठकमा कांग्रेस पार्टीका निर्वाचित ७ जना वडा अध्यक्ष र ८ जना कार्यपालिका सदस्य अनुपस्थित भएका हुन् । गणपूरक संख्या नपुगेपछि बैठक स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।

फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीका मेयर, उपमेयर, ७ जना वडा अध्यक्ष र ८ जना मनोनीत गरी १७ जना र अन्य दलका ४ जना वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन् ।

बुधबार बस्ने भनिएको कार्यपालिका बोर्ड सदस्यको बैठकमा सहभागिताका लागि पत्र पठाए पनि कांग्रेस समर्थित १५ जना अनुपस्थित भएको कारण गणपुरक संख्या नपुगेपछि अर्को सूचना जारी नहुन्जेल स्थगित गरिएको प्रधानले जानकारी दिए ।

जनप्रतिनिधिहरुको जुँगाको लडाइँका कारण असार १० गतेभित्र हुनुपर्ने नगरसभा हालसम्म भएको छैन । कार्यवाहक मेयर अम्बेया खातुनको निर्देशनमा नगरसभाबारे छलफल गरी मिति तोक्न प्रमुख प्रशासकीय अधिकृत प्रधानले गत १७ गते पनि नगर कार्यपालिका बोर्डको बैठक बोलाएका थिए । उक्त दिन पनि बैठकमा २१ जना कार्यपालिका सदस्यमध्ये कांग्रेस बाहेक पाँच जनामात्र उपस्थित भएकाले गणपुरक संख्या नपुगेको भन्दै आज बुधबारको लागि बैठक सारिएको थियो ।

यसअघि गत असार १० गते नगरसभा गर्न नगरपालिकाले सम्पूर्ण तयारी गरे पनि कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुकै अडानको कारण हुन सकेको थिएन ।

फतुवा विजयपुर वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश कुमार यादवले गत आइतबारको कार्यपालिका बोर्डको बैठकबारे आफूहरुलाई औपचारिक जानकारी नदिएको बताए ।

तर नगरपालिकालाई लथालिङ्ग बनाउन उद्धत वडा अध्यक्षहरू बैठकमा उपस्थित नभएको कार्यवाहक मेयर अम्बेया खातुनको आरोप छ ।

लालबकैया नदीको टेण्डरमा तत्कालीन मेयर गोपाल राय यादवलाई दोषी ठहर गर्दै विशेष अदालतले तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेपछि उपमेयर खातुनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।

यसअघि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले नगरपालिकामा तालाबन्दी गराएका थिए ।

समयमा नगरसभा नभएका कारण फतुवा विजयपुरको शिक्षक कर्मचारीसहित ३५० भन्दा बढीले यस आर्थिक वर्षमा तलब पाएका छैनन् भने आर्थिक कारोबार ठप्प भएर विकास निर्माणको सम्पूर्ण काम अवरुद्ध भएको छ ।

कांग्रेसबाट निर्वाचित कार्यवाहक मेयर अम्बेया खातुनलाई असफल बनाउन उनकै पार्टीका जनप्रतिनिधि लागेका कारण फतुवा विजयपुरको समस्या जटिल बन्दै गएको वडा ६ का अध्यक्ष सञ्जय कुमार यादवले बताए ।

उता नेपाली कांग्रेसबाट निर्वाचित वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश कुमार यादवले कार्यवाहक मेयर अम्बेया खातुन पनि कांग्रेस पार्टीकै भए पनि कांग्रेसका कुनै प्रतिनिधिसँग सल्लाह नगरी एकोहोरो बैठक राखेका कारण बहिष्कार गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप