सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

त्रिविको उपकुलपतिमा आधा दर्जन आकांक्षी

शुक्रबार, २२ मङ्सिर २०८०, ०६ : ४१
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब एक महिनाअघि बनाउनुभएको त्रिविको उपकुलपति छान्ने समितिको अझै अत्तोपत्तो छैन । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे कुलको ३ सदस्यीय छानबिन समितिले हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन ।

अस्वस्थताको कारण मन्त्री राई मन्त्री क्वाटरमै बसेर काम गरिरहेका छन् भने सचिव अधिकारी तान्जानिया भ्रमणमा छन् । मन्त्री राईलाई सन्चो नभएको र कुलपतिले चासो नदिएका कारण उपकुलपति छनौट कमिटिको बैठक अनिश्चित प्रायः भएको मन्त्रालय स्रोतको भनाइ छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले त्रिवि उपकुलपति छनौट समिति बने पनि हालसम्म प्रक्रिया अघि बढ्न नसकेको उल्लेख गर्दै भने– ‘प्रक्रिया शुरू गर्ने तरखरमा छ, केही दिनमा अघि बढ्ला ।’

त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियोे । कात्तिक १९ गते कुलपतिले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए ।

त्रिवि ऐनअनुसार बढीमा तीन महिनाका लागि उपकुलपति नियुक्ति गर्ने सकिने प्रावधान अनुसार प्राडा भुषाललाई जिम्मेवारी दिइएको हो । भुषालले कार्यभार सम्हालेको एक महिना पुगिसकेको छ, उपकुलपति कहिले नियुक्ति हुन्छ भन्ने विषयमा कसैलाई जानकारी छैन । यसैबीच उपकुलपतिको लिगलिगे दौडमा एक जनाबाहेक सबै त्रिविकै पूर्व पदाधिकारीहरू लागि परेका छन् । त्रिविका पूर्व राजिस्ट्रार एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा लेखनाथ पौडेल र त्रिविका पूर्व शिक्षाध्यक्ष गुणनीधि न्यौपाने उपकुलपतिको दौडमा छन् । उपकुलपतिमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समेत चासो देखाएको स्रोतको भनाइ छ । उनले भित्रभित्रै कुलपतिसमक्ष आफू उपकुलपति हुन आयोगबाट राजीनामा गर्न तयार रहेको बताउने गरेको स्रोतको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप