शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
परराष्ट्र मामिला

के पोर्चुगलमा आवश्यक छ नेपाली दूतावास ?

शुक्रबार, २२ मङ्सिर २०८०, १४ : ५९
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । सरकारले कात्तिक २३ गते पोर्चुगलमा नेपाली राजदूतावास खोल्ने निर्णयसहित त्यहाँका लागि राजदूत पनि सिफारिस गरेको छ । कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चगलका लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेसँगै दूतावास खोल्ने निर्णय विवादमा आएको हो । अधिकांश सांसद तथा कुटनीतिक मामिलाका जानकारहरुले अहिलेको अवस्थामा पोर्चुगलमा दूतावास खोल्न आवश्यक नरहेको धारणा राख्दै आएका छन् ।

यसै विषयमा छलफल गर्न संसदीय सुनुवाइ समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई शुक्रबार बोलाएको छ । पोर्चुगलमा दूतावास कति आवश्यक हो भन्नेबारे समितिले मन्त्री साउदसँग छलफल गर्ने भएको हो ।

देशमा अहिले आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा पोर्चुगलमा दूतावास खोल्न आवश्यक नरहेको कतिपयको तर्क छ । नेकपा एमालेका सांसद महेश बर्तौलाले भने, ‘पोर्चुगलमा दूतावास खोल्न आवश्यक छ, तर अहिलेको परिस्थितिमा ठिक छ कि छैन भन्ने कुरा हामीले सरकारसँग सोध्न लागेका छौँ ।’

देशको आर्थिक अवस्था राम्रो छैन भन्ने कुरा आम जनताले महसुस गरिरहेको अवस्थामा पोर्चुगलमा दूतावास धान्न सकिन्छ कि सकिँदैन भन्ने नै मुख्य प्रश्न रहेको उनले बताए ।

देशको सामर्थ्य भयो भने सबै देशमा दूतावास खोल्दा राम्रो हुने उनको भनाइ छ । पोर्चुगलमा ३० हजारभन्दा बढी नेपाली बस्ने गरेको र उनीहरुले पनि दूतावास खोल्न पटक पटक सरकारलाई ध्यानाकर्षण गराउँदै आएको जिकिर गर्दै बर्तौलाले नेपालको आर्थिक अवस्थाले त्यहाँको दूतावास धान्न सक्छ कि सक्दैन भन्नेबारे सरकारसँग छलफल गर्न लागिएको बताए ।

कुनै पार्टीको भागबण्डा पु¥याउनका लागि हतार हतारमा दूतावास खोल्ने निर्णय गर्न नहुने उनको भनाइ छ । ‘त्यहाँ राजदूतमात्र पठाएर हुँदैन, त्यसको सम्पूर्ण संरचना, जनशक्ति भयो भने मात्र त्यसको सार्थकता रहन्छ,’ उनले भने ।

स्रोतका अनुसार पोर्चुगलका लागि राजदूतमा सिफारिस नेपाल कांग्रेसको कोटामा परेका हुन् । पोर्चुगलमा दूतावास खोल्न धेरै पहिलादेखि प्रयास हुँदै आएको हो । एनआरएनका प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यहाँ दूतावास खोल्न ध्यानाकर्षणपत्र नै बुझाएको थियो ।

उनीहरुले देउवालाई मात्र होइन, तत्कालीन प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधवकुमार नेपाल, केपी शर्मा ओली, पूर्वपरराष्ट्र मन्त्रीहरू सुुजाता कोइराला, कृष्णबहादुर महरा, प्रकाशशरण महत, प्रदीप ज्ञवाली, नारायण खड्कालगायतलाई पनि ज्ञापनपत्र बुझाएका छन् । तर अहिलेसम्म त्यहाँ दूतावास खोल्न कसैले पनि चासो देखाएको थिएन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पनि दूतावास खोल्न प्रयास भएको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दूतावासहरुलाई पुनर्संरचना गर्ने, नयाँ खोल्ने कि नखोल्नेलगायतका विषयमा अध्ययन गर्न पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा कार्यदल नै गठन गरेका थिए ।

त्यो कार्यदलले पनि पोर्चुगलमा दूतावास खोल्न सुझाव दिएन । बरु डेनमार्क, क्यानाडा, स्पेन र दक्षिण अफ्रिकास्थित दूतावास हटाएर टर्की, इटली, केन्या, इन्डोनेसिया र सिंगापुरमा दूतावास खोल्न सुझाव दिएको थियो । दूतावास खोल्न ठुलो रकम खर्च हुने र त्यो अनुसार नेपाललाई फाइदा पनि नहुने देखेर ज्ञवालीले दूतावास खोल्नेतिर चासो देखाएनन् ।

तत्कालीन परराष्ट्र मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘आवश्यकता र स्रोतका साधनका आधारमा दूतावास खोल्ने हो, त्यतिबेला पनि हामीले त्यही सोचेर त्यहाँ दूतावास खोलेनौँ ।’

सन् २०१८ मा पोर्चुगलको भ्रमणसमेत गरेका पूर्वमन्त्री ज्ञवालीले युरोप जानेहरुका लागि पोर्चुगल ट्रान्जिट प्वाइन्ट रहेको र त्यहाँबाट व्यापार, पर्यटन तथा विप्रेषणमा नेपाललाई फाइदा नदेखिएको बताए । पोर्चुगलमा  दूवातास खोल्दा करोडौँ रुपैयाँ खर्च हुने देखिएपछि त्यतिबेला नखोलेको बताउँदै उनले अहिले पनि त्यही अवस्था रहेको प्रस्ट पारे ।

कसैको भाग पु¥याउनका लागि कुनै देशमा दूतावास खोल्न नहुने उनको भनाइ छ । उनले यसअघि स्पेनमा पनि दूतावासको आवश्यकता नरहेको भन्दाभन्दै राप्रपालाई भाग पु¥याउनका लागि खोलिएको गुनासो गरे ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पोर्चुगलमा दूतावास खोल्नका लागि सुरुमा १० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ । पछि दूतावास सञ्चालनका लागि मासिक २० देखि ३० हजार युरो खर्च हुने स्रोतले जनाएको छ । अहिले पोर्चुगलस्थित अवैतनिक वाणिज्य दूतावासको मासिक खर्च ६ देखि ७ हजार युरो छ ।

राष्ट्रिय सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले पनि देशको आर्थिक अवस्था हेरेरमात्र दूतावास खोल्नुपर्ने बताए । यतिखेरै त्यहाँ दूतावास खोल्नुपर्ने आवश्यकता किन प¥यो भन्ने कुरा सरकारसँग संसदीय सुनुवाइ समितिले सोध्न लागेको उनले प्रस्ट पारे । सरकारले कसरी त्यसलाई स्पष्ट गर्छ, त्यसको आधारमा समिति अगाडि बढ्ने उनले बताए ।

‘देशमा आर्थिक मन्दी छ, भूकम्प पीडितले राहत पाइरहेका छैनन्, यस अवस्थामा करोडौँ रुपैयाँ खर्च गरेर दूतावास खोल्नु उचित हो कि होइन भन्ने कुरामा सरकारले पनि जवाफ दिनुपर्ने हुन्छ,’ रायमाझीले भने, ‘अहिले तत्कालै दूतावास खोलेर नेपाललाई कुनै आर्थिक सहयोग हुन्छ त ? या कुनै राहत आउँछ त ? यदि आउँदैन भने किन खोल्नु प¥यो ? एउटा व्यक्तिलाई व्यवस्थापन भन्दा पनि देशको आवश्यकतालाई ध्यानमा राख्नुपर्छ ।’

पोर्चुगलसमेत थपिँदा विभिन्न देशमा नेपालका ३१ दूतावास, संयुक्त राष्ट्रसंघका लागि तीन वटा स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास गरी ४० कूटनीतिक कार्यालय हुनेछ ।

सन् १९७६ सेप्टेम्बर १ मा नेपाल र पोर्चुगलबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सम्बन्ध स्थापना भएको ४७ वर्ष पुगे पनि आर्थिक, सांस्कृतिक, सामाजिक रुपमा खासै फाइदा नभएको कुटनीतिक मामिलाका जानकार बताउँछन् । यद्यपि त्यहाँ नेपालीहरुको संख्यामा दिनदिनै वृद्धि भइरहेको छ । कुनै बेला पोर्चुगलले नेपालबाट चिनी आयात गरी वाइन निर्यात गरेको थियो । अहिले पनि नेपालमा कताकतै पोर्चुगलको वाइन पाइन्छ ।

हाल सन् १९६७ मा फ्रान्ससँग कुटनीतिक सम्बन्ध स्थापना गरेको नेपालले पेरिसमा स्थापना गरेको दूतावासले पोर्चुगललाई पनि हेरिरहेको छ भने दिल्लीमा रहेको पोर्चुगलको दूतावासले नेपाललाई हेरिरहेको छ । दुवै देशले एक अर्काको राजधानीमा मानार्थ महावाणिज्य दूतावास राखेर सेवा प्रवाह गरिरहेका पनि छन् । त्यसले नेपालीहरुको समस्या समाधान नभएको गुनासो हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप