सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
१४ किलो सुन तस्करी प्रकरण

आगमन कक्षको डस्टबिनमा सुन फालेर बाहिरबाट लिने थियो तयारी

भन्सारका कर्मचारीले ओर्लनेबित्तिकै समातेपछि फेला पर्‍यो १४ किलो सुन
शुक्रबार, २२ मङ्सिर २०८०, १५ : १७
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । शुक्रवार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पत्रकार सम्मेलनका क्रममा प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले एउटा अचम्मको तथ्य खोले । घुमाउरो शैलीमा उनले दिएको प्रतिक्रियामा यदि विमानबाट ओर्लने बित्तिकै चन्द्रलाई नियन्त्रणमा नलिएको भए सुन नभेटिन पनि सक्थ्यो । 

पत्रकार सम्मेलनका क्रममा पाण्डेले भनेका थिए, ‘हामीलाई आएको सूचनाका आधारमा बुधवार रातभर खट्दा पनि व्यक्ति र सुन फेला परेन । तर हामी थाकेनौँ । बिहीबार फेरि हामीले अपरेसन जारी राख्यौँ र म आफैँ फिल्डमा खटिएँ । सूचनाबारे हामी एक दुई जनालाई मात्रै जानकारी थियो । बिहीबार पक्राउ परेका व्यक्ति विमानबाट ओर्लने बित्तिकै हामीले वाक थ्रुमा नियन्त्रणमा लियौँ । अन्यत्र कतै जान नदिई कसैसँग भेट गर्न नदिएका कारण हामीले उनलाई सुनसहित पक्रन सफल भयौँ ।’

एक्सरेबाट त्यति सजिलै सुन ल्याउन सकिन्छ र भन्ने रातोपाटीको प्रश्नमा पाण्डेले भनेका थिए, ‘त्यो सम्भव छैन । उनलाई अरूसँग भेटघाट गर्न नदिई नियन्त्रणमा लिएका कारण सुनसहित पक्राउ गर्न सफल भयौँ । यदि उनले अरूसँग भेट्ने वा केही समय बिताउन पाएको भए अरू केही हुन पनि सक्थ्यो ।’

सुन्दा अचम्म लाग्छ, व्यक्तिले ल्याएको १४ किलो सुन विमानस्थलबाट बाहिर निस्कने बेलासम्म कसरी गायब हुन सक्छ त ? के साँच्चै चन्द्रलाई विमानबाट ओर्लने बित्तिकै नियन्त्रणमा नलिएको भए १४ किलो सुन गायब हुन सक्थ्यो त ? तर केही तथ्य र पक्राउ परेका चन्द्र घलेले दिएको प्रारम्भिक बयानले भने यस्तै बताउँछ । विमानस्थलका प्रमुख भन्सार प्रशासक पाण्डेले भनेको जस्तै यदि विमानबाट ओर्लने बित्तिकै चन्द्रलाई नियन्त्रणमा नलिएको भए उक्त सुन एक्सरे मा नभेटिने निश्चितजस्तै रहेको तथ्य खुलेको छ । 

gold-patrakar-sammelan

बिहीबार राती चन्द्र घलेलाई नियन्त्रणमा लिने अपरेशनमा खटिएका एक प्रहरी अधिकृतका अनुसार यदि चन्द्रलाई विमानबाट ओर्लने बित्तिकै पक्राउ नगरिएको भए उनले सुन लुकाउने योजना बनाएको पाइएको छ । ती प्रहरी अधिकारीको अनुसार चन्द्रले आगमन कक्षको डस्टबिन (फोहोर फाल्ने ठाउँ)मा सुनको ज्याकेट नै फालेर बाहिर फोहोर उठाउनेसँग लिने योजना रहेको पाइएको हो । 

ती प्रहरी अधिकृतले भने, ‘जब हामीले पक्राउ गरेर सोधपुछ गर्यौँ, सुरुमा उसले दुबईबाटै कसैले पठाएको र रिसिभ गर्न मान्छे लिन आउने कुरा बतायो । तर थप केरकार गरेपछि उक्त सुन मीनबहादुर घलेको भएको बतायो । त्यसपछि हामीले तत्कालै मीन घलेलाई पनि पक्राउ गर्‍यौँ ।’

ती अधिकृतले अगाडि भने, ‘यसरी सुन छिराउन सक्छु भनेर ल्याएको हो त भनेर हामीले केरकार गरेपछि उसले डस्टबिनमा फालेर बाहिर फोहोर उठाउनेले ल्याइदिने योजना रहेको बतायो । यद्यपि आगमन कक्षको फोहोर उठाइदिने व्यक्ति को हो भन्ने कुरा भने उसले पनि बताएन, त्यस विषयमा अनुसन्धान जारी छ ।’

ती प्रहरी अधिकारीका अनुसार मीनबहादुरले यसअघि पनि फोहोर उठाउने व्यक्तिसँग पटक पटक सुन लिएको चन्द्रले बयान दिएका छन् । पहिले पनि त्यसैगरी सुन ल्याएर डस्टबिनमा फालेको र उक्त सुन मीनबहादुरले बाहिरबाट लिने गरेको चन्द्रले प्रारम्भिक बयानमा बताएका छन् । 

चन्द्र र मीनबहादुर दुवैको घर गोरखाको बारपाक रहेको छ । मीनबहादुर घले म्यानपावर व्यवसायी रहेको र पटक पटक दुबई लगायतका खाडी मुलुकमा जाने आउने गरिरहने चन्द्रले बताएका छन् । चन्द्रले हालसम्म कति पटक त्यसरी सुन ल्याएका छन् भन्ने विषयमा भने जानकारी दिएका छैनन् ।

बिहीबार राति फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट काठमाडौँ उत्रिएका गोरखाका चन्द्र घलेको साथबाट भन्सारका कर्मचारीले ७ वटा बिस्कुटमा रहेको १४ किलो सुन बरामद गरेका थिए । भन्सार कार्यालयका प्रमुखलाई आएको सूचनाका आधारमा दुई दिनको मेहनतपछि १४ किलो सुन र ल्याउने व्यक्ति पक्राउ परेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप