मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
बजार

भ्याटको अन्योल हटेपछि आलु र प्याजका व्यापारीको आन्दोलन फिर्ता

शुक्रबार, २२ मङ्सिर २०८०, १८ : ०५
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । आलु र प्याजको कारोबार व्यापारीको आन्दोलन फिर्ता लिएका छन् । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याट (मूल्य अभिवृद्धि कर) नलाग्ने स्पष्ट पारेसँगै आलु र प्याजको कारोबार व्यापारीले आन्दोलन फिर्ता लिएका हुन् । 

स्वदेशी उत्पादन आलु र प्याजमा भ्याट लगाइएको विरोधमा व्यापारीले सो वस्तुको कारोबार नै ठप्प गरेका थिए । विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याटनलाग्ने स्पष्ट पारेसँगै आलु र प्याजको कारोबार भोलि (शनिबार) बाट नियमित हुने नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले बताए । 

आन्दोलन अगाडि प्रतिकिलो आलुको ४० देखि ४६ रुपैयाँ र प्याजको ९० देखि ९५ रुपैयाँ प्रतिकिलो थियो । भारतले ४ महिनाको लागि आपूर्ति बन्द गरेको उनले बताए । सोको प्रभाव नेपाली बजारमा पनि पर्ने गजुरेलले अनुमान गरे । 

काठमाडौँ उपत्यकामा आलु र प्याजमा कृत्रिम मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य नतोकेपछि मनोमानी रूपमा कृत्रिम मूल्यवृद्धि गरिएको हो । मंसिर १९ गते यता कालीमाटी बजारले दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य समावेश गरेको छैन । आलु र प्याजमा भ्याट लगाउने सरकारको निर्णयविरुद्ध व्यापारीले सो वस्तुको आपूर्ति नगरेपछि कालीमाटीले मूल्य नतोकेको जनाएको छ ।

सरकारले आर्थिक विधेयक–२०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । सोको असर नेपाली उत्पादनमा परेको भन्दै व्यवसायीले आलु र व्याजको कारोबार ठप्प गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप