शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
कोशी एमाले पत्रकार सम्मेलन

सङ्कल्प यात्रालाई सहयोग गर्न पहिचानवादीलाई एमालेको अपिल

नामकरणको विषयमा भइरहेको आन्दोलनलाई प्रदेशसभामा केन्द्रित गर्न आग्रह
शनिबार, २३ मङ्सिर २०८०, १८ : १९
शनिबार, २३ मङ्सिर २०८०

विराटनगर । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ । एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेसले आयोजना गरेको पत्रकार सम्मेलनमा संकल्पयात्रा पहिचावादी लक्षित नभएको भन्दै बन्द हड्ताल फिर्ता गर्न एमालेले आग्रह गरेको छ । संकल्प यात्रा मंसिर २६ गतेदेखि कोशी प्रदेश प्रवेश गर्दैछ । 

कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई लक्षित गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुरु भएको केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले बताए ।

इन्चार्ज महासेठले पूर्वनिर्धारित कार्यक्रम भएकाले कोशी प्रदेश नामकरणको विषयलाई लिएर अभियानलाई अवरोध नगर्न आग्रह गरे । उनले भने, ‘पहिचानवादीलाई एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम नगर्नुहोला । राष्ट्रिय अभियान निरन्तररुपमा अघि बढिरहेको र चिवाभञ्ज्याङ पुगेरै टुङ्गिन्छ ।’ 

राष्ट्रिय अभियानलाई पहिचानवादीले अवरोध गर्नुपर्ने कारण नभएको भन्दै उनले कोशी प्रदेश प्रदेशसभाको दुई तिहाई बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर, अवरोध गरेर आन्दोलन सफल नहुने बताए ।

एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामकरणको विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रीत गर्न आग्रह गरे  । उनले भने, ‘दबाबमूलक आन्दोलन गर्ने भए कोशी प्रदेशसभामा केन्द्रीत गर्न अनुरोध छ । एमालेको यात्रामा पहिचानवादीको साइनो सम्बन्ध छैन ।’

समृद्धिको यात्रामा अवरोध नगर्न आग्रह गर्दै उनले पहिचानवादीसँग संवाद गर्न एमालेले चाहेको बताए । ‘संवाद गर्न चाहेको भए आन्दोलनका कार्यक्रम फिर्ता गर्नु पर्छ,’ उनले भने । असली पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्न खोजेको भए आन्दोलन फिक्का मात्र नभएर अर्थहिन हुने अवस्थामा पुग्ने नेता राईको दाबी छ ।

मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रीत अभियान आगामी मंसिर २६ गतेदेखि कोशी प्रदेश प्रवेश गर्ने कार्यक्रम छ । मंसिर २६ गते पुस २ गतेसम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

उनकाअनुसार कोशी प्रदेशका उदयपुरको घुर्मी, तेह्रथुमको बसन्तपुर र पाँचथरको फिदिममा सभा हुनेछ । अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा तय गर्ने अध्यक्ष खतिवडाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप