शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
लोसपामा विवाद

के लोसपा विभाजन हुन लागेको हो ?

आइतबार, २४ मङ्सिर २०८०, १३ : ४८
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)मा चिरा परेको छ । दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताले लोसपा गठन गरेका थिए । तर अध्यक्ष ठाकुरले पार्टीलाई क्रियाशील गर्न नसकेको र पार्टीभित्र मनोमानी गरेको भन्दै पार्टीमा असन्तुष्टि बढेको हो ।

पार्टी गठन भएको दुई वर्ष बित्दा पनि सक्रिय नभएको भन्दै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो लोसपाको विकल्प खोज्न थालेका छन् । उनी सके बहुमत पुर्‍याएर विधिवत् रुपमा पार्टी विभाजन गर्ने, नभए अर्को नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगिसकेको संकेत दिएका छन् ।

महतोले आइतबार बस्ने केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन् । उनी निकट एक नेताले भने, ‘अब महतोजी ठाकुर (महन्थ ठाकुर)जीसँग बस्नु हुन्न, लोसपामा रहेका अन्य नेताहरुले साथ दिएमा पार्टीलाई विभाजन गरेर अलग पार्टी बनाउनु हुन्छ, नभए अर्को नयाँ पार्टी नै गठन गर्नुहुन्छ तर अब ठाकुरजीसँग बस्नु हुन्न ।’

माघ ५ गतेसम्म उनी लोसपामै बस्नेछन् । महतोले तीन वटा पुस्तक लेखेका छन् । ती तीन वटै पुस्तक मधेस बलिदानी दिवसका दिन बिमोचन गराउने र त्यसपछि मात्र नयाँ पार्टीका लागि गृहकार्य गर्ने स्रोतले दाबी गरेको छ ।

सम्भवतः मधेसको बलिदानी दिवसको दिन महतोले आफ्नो तयारीको बारेमा पनि घोषणा गर्ने छन् ।

‘महन्थ ठाकुरले केही गर्नुहुन्छ कि भनेर दुई वर्षदेखि महतो प्रतीक्षामै रहे पनि ठाकुरजी टसमस नभएपछि विकल्पबारे खोजी हुन थालेको हो,’ महतो निकट एक पदाधिकारीले भने, ‘भरोसा र प्रतीक्षाको एउटा सीमा हुन्छ, ठाकुरजीले सबै पार गरेपछि महतोजी यस्तो निष्कर्षमा पुग्नुभएको हो । हेरौँ, यो केन्द्रीय समितिको बैठकपछि ठाकुरजी कसरी मुभ गर्नुहुन्छ ।’

गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका महतोले पछि आफ्नै नेतृत्वमा सद्भावना पार्टी गठन गरेका थिए । केही समयपछि विभिन्न मधेसवादी दलसँग मिलेर उनले राष्ट्रिय जनता पार्टी गठन गरेका थिए ।

त्यो पार्टीमा पनि ठाकुर र महतोबिच राम्रो सम्बन्ध रहेन । दुई जनाको बिचमा पटक पटक विवाद उत्पन्न भएको थियो । अध्यक्ष मण्डल प्रणालीबाट पार्टी सञ्चालन भए पनि ठिकठाक चलेन ।

पछि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनाइएको थियो । तर सो पार्टीमा पनि विवाद बढेर विभाजन भयो । जसपा विभाजन भएर लोसपा बनेको थियो । लोसपा बनेको दिनदेखि नै विवाद सुरु भएको थियो । त्यो विवादले पार्टीलाई फुटको सँघारमा पुर्‍याएको छ ।

वरिष्ठ नेता महतो निकट मानिएका लोसपाका नेता राजीव झा भन्छन्, ‘लोसपा विभाजन हुँदैन तर अब महन्थजीको नेतृत्वमा पार्टी चल्दैन ।’

राजपादेखि लोसपासम्म नै अध्यक्ष ठाकुरको कार्यकौशली सबैले थाहा पाइसकेका कारण अब ठाकुरलाई पार्टीको अध्यक्षबाट हटाएर महतोलाई जिम्मेवारी दिएर लोसपा चलाउन पहल हुने उनको भनाइ छ ।

महन्थ ठाकुरले ३११ जनाको केन्द्रीय सदस्य बनाउँदा राजीव झा त्यसमा परेनन् । जबकि उनी लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय थिए ।

यो केन्द्रीय समितिको बैठकबाट लोसपाका नेताहरुले ठाकुरलाई अध्यक्षबाट हटाएर महतोलाई जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको झाले बताए । यदि ठाकुर अझै पनि नसुध्रने हो भने लोसपा आफै ‘कोल्याप्स’ हुने उनको भनाइ छ । त्यसपछि त्यही पार्टी सञ्चालन गर्ने आफूहरुको तयारी रहेको उनले बताए ।

अहिलेलाई आफूले जनजागरण अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै उनले सम्भवतः माघ ५ गतेदेखि सो अभियान सुरु हुने उल्लेख गरे । सो अभियान लोसपा किन चल्न सकेन, कहाँ समस्या भयो, मधेसको आवश्यकता के छ, नयाँ ढंगको आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ, नेपाल–भारत सीमालाई कसरी सुरक्षा गर्न सकिन्छ, जनताको कामलाई कसरी सहज बनाउन सकिन्छ लगायतका विषयमा केन्द्रित रहने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप