सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

आइतबार, २४ मङ्सिर २०८०, १४ : ४८
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एव् रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भइ आज  स्वदेश फर्किएका छन् ।

यही मङ्सिर १८ देखि २० सम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । टोलीमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाका उच्च पदाधिकारीहरुको सहभागिता थियो ।

सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल भइ हालसम्म भएका कामको समीक्षा गर्दै भविष्यका लागि मार्ग तय गर्ने र सदस्य राष्ट्रहरुको तर्फबाट यस कार्यमा सहयोगसम्बन्धी प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

‘पिस बिगिन्स विथ मि’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो । सम्मेलनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिएको थियो ।

अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि नेपालले सन् १९५८ देखि नै संयुक्त राष्ट्र संघका विभिन्न शान्ति मिसनहरुमा नेपाली शान्ति सैनिक खटाउँदै विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिँदै आएको छ । हाल १६ वटा शान्ति मिसनमा छ हजार दुई सय ७८ नेपाली शान्ति सैनिक कार्यरत छन् ।

अहिले नेपाल शान्ति सैनिक खटाउने दोस्रो ठूलो र महिला शान्ति सैनिक खटाउने मुलुकमा पहिलो स्थानमा छ । हालसम्म अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि विभिन्न शान्ति मिसनमा सेवारत रहँदा ८६ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेको र ६६ जना घाइते भएका छन् ।

सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्र संघले विशेष महत्व दिँदै सराहना गरेको थियो । सम्मेलनमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको सुधार प्रयासमा नेपाल सधै सकारातमक र प्रतिबद्ध रहेको, महासचिवको ‘एक्सन फर पिसकिपिङ’को कार्यान्वयनमा सदैव तयार रहेको, सर्वसाधारणको सुरक्षाप्रति नेपाल सरकार र नेपाली शान्ति सैनिकहरु सदैव संवेदनशिल रहँदै आएको  बताएका थिए । साथै नेपाल सरकारले संयुक्त राष्ट्र संघको आह्वानमा बिना कुनै सर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उनको  भनाइ थियो ।

नेपाली शान्ति सैनिकहरु अनुशासन एवम् कार्यसम्पादनमा अब्बल रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले यौन शोषण र दुव्र्यवहारप्रति नेपालले शून्य सहनशीलता नीति अबलम्बन गर्र्दै आएको पनि उपप्रधानमन्त्री खड्काले जानकारी गराए । उपप्रधानमन्त्री खड्का मंसिर १७ गते घाना गएका थिए । उनी घानाबाट फर्किने क्रममा कतार समेत पुगेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप