शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

आर्थिक गतिशीलताका लागि मौद्रिक नीतिले कस्तो भूमिका खेल्ला ?

नेप्से सूचक एकै दिन १११ अंकले बढ्यो
आइतबार, २४ मङ्सिर २०८०, १९ : ०९
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले शिथिल अवस्थामा रहेको अर्थतन्त्रमा गतिशीलता ल्याउने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक समीक्षा गरेको थियो । 

मौद्रिक नीति लगत्तै आइतबार खुलेको बजारमा नेप्से सूचक १११.२० अंकले बढ्दै समय अगावै (बजार खुल्ला रहने) १९ सय ६३.९८ विन्दुमा उक्लिएको छ । लामो समयको अन्तरालपछि एकै पटक उर्लिएको बजारमा यो अनपेक्षित उपलब्धि नै हो । एकै दिन नेप्से सूचक पाँचौँ पटकसम्म सर्किट लागेर बन्द हुन पुगेको छ । 

त्यसो त यसै दिन ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको १३ लाख ६७ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ । यसो हुनुका पछाडि राष्ट्र बैंकले ल्याएको सुधारात्मक मौद्रिक नीतिको सकारात्मक समीक्षा नै हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत घरजग्गा तथा रियल स्टेट कर्जासँगै सेयर धितो कर्जामा यसअघिको व्यवस्थामा परिमार्जन गर्दै ५० लाख रुपैयाँ माथिको कर्जाको जोखिम भारलाई १२५ प्रतिशतमा झारिदिएको छ । यसअघि यस्तो शीर्षकमा ५० लाख माथिको कर्जामा जोखिम भार १५० प्रतिशत रहेको थियो । 

यसअघि सेयर धितो कर्जामा ४–१२ को क्याप (सीमा) लगाएर थप १५० प्रतिशतसम्मको जोखिम भार थोपरे बजार डुबाउन लागि परेको भन्दै लगानीकर्ताहरूले गभर्नर महाप्रसाद अधिकारीको तीव्र विरोध गरिरहेका थिए । 

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४–१२ अर्थात् एक व्यक्तिले कुनै एउटा बैङ्क तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैङ्क तथा वित्तीय संस्थाहरुबाट गरी बढीमा १२ करोड रुपैयाँसम्म सेयर धितो राखी कर्जा लिन पाउने व्यवस्था गरिएको थियो । तर, यसको चौतर्फी विरोध भएसँगै केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत ४–१२ को तल्लो सीमा खारेज गर्दै माथिल्लो सीमा (१२ करोड) कायम गरिदिएको थियो । 

तथापि, राष्ट्र बैंकप्रति बजारको तीव्र आलोचना नरोकिएपछि सरकारको समेत दबाबमा चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले सम्बोधन गर्दै सेयर धितो कर्जाको सीमा पुनरावलोकन गर्दै व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोडसम्म पु¥याइदिएको छ । थप पछिल्लो पटक मौद्रिक नीतिको समीक्षाले जोखिम भार समेत १५० बाट १२५ प्रतिशतमा झारिदिएपछि लगानीकर्ताहरू उत्साहित बन्न पुगेका हुन् । 

ब्याजदर घट्ने अपेक्षा

सेयर बजार यसरी आक्रामक रुपमा बढ्नुका पछाडि अर्को कारण भनेको ब्याजदर घट्ने अपेक्षा पनि हो । यता सेयर धितो कर्जाको जोखिम भार त घटेकै छ अर्कोतर्फ मौद्रिक नीतिले घटाएको बैङ्क दर, नीतिगत दर र निक्षेप सङ्कलन बोलकबोल दरले ब्याजदर घट्ने अपेक्षाले समेत काम गरेको नेपाल क्यापिटल मार्केट इन्भेष्टरर्स एसोसिएसनका अध्यक्ष राधा पोखरेल बत्ताउँछिन् छ । 

‘लामो समयको संघर्ष र दबाबपछि सेयर बजार नीतिमा राष्ट्र बैङ्क केही लचक भएको छ । ४–१२ को सीमा वृद्धिपछि केन्द्रीय बैंकले पछिल्लो पटक मौद्रिक नीतिको समीक्षामार्फत जोखिम भार समेत १५० बाट घटाएर १२५ प्रतिशतमा झारिदिएको छ । यसलाई बजारले सकारात्मक लियो र आइतबारको सेयर बजारमा सकारात्मक सर्किट लाग्यो’ पोखरेलले भनिन् । 

यति मात्र नभएर केन्द्रीय बैंकले लिएको मौद्रिक नीतिको सुधारका कारण बैंकको लगानीमा सहज भएसँगै करिब ६ अर्ब बजारमा आउने र ब्याजदर समेत घट्दा लगानी बढ्ने अपेक्षाले लगानीकर्ताहरू उत्साहित भएको उनको भनाइ छ । 

‘यो भनेको आम लगानीकर्ताहरूले मौद्रिक नीतिलाई स्वागत गरेको हो । अब बजारले सकारात्मक बाटो लियो । यो निरन्तर जारी रहन्छ’ उनले रातोपाटीसँग भनिन् ।

घरजग्गाको कारोबारसँगै अर्थतन्त्र चलायमान हुने अपेक्षा

मौद्रिक नीतिको समीक्षाले लिएको अर्को अपेक्षा खास आर्थिक क्षेत्रको गतिशीलता पनि हो । घरजग्गाको कारोबार प्रायः ठप्प हुँदा आर्थिक गतिविधि हुन नसकेको र यसको प्रभाव सबैजसो क्षेत्रमा देखा परेको सरकार स्वयम्को निष्कर्ष छ । 

घरजग्गाको कारोबार खुलाउन केही महिना अघि मात्र सरकारले जग्गाको कित्ता काट खुलाउने निर्णय गरेको थियो । सँगै लगानीको वातावरण बनाउन सरकारले केन्द्रीय बैंकमाथि समेत निरन्तर दबाब दिइरह्यो । फलतः केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घर बनाउन २ करोड रुपैयाँसम्म लगानी दिने घोषणा गरिदियो । यति मात्र गरेन केन्द्रीय बैंकले सेयर धितो कर्जासँगै घरजग्गा, रियल स्टेट जस्ता हायर पर्चेज कर्जामा बैङ्क तथा वित्तीय संस्थाहरूले २५ लाखसम्मको कर्जामा १२५ प्रतिशत मात्र जोखिम भार राखे पुग्ने व्यवस्था गरिदियो । 

मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाले सो व्यवस्था समेत थप परिमार्जन गर्दै ५० लाखसम्मको कर्जामा अब १२५ प्रतिशत मात्र जोखिम भार राखे पुग्ने व्यवस्था गरिदिएको छ । यसले कारोबारसँगै आर्थिक गतिशीलताका लागि भूमिका खेल्ने अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउँछन् । 

‘मौद्रिक नीतिले अवश्य केही सुधारात्मक सङ्केतहरू गरेका छन् । सेयर धितोकर्जासँगै, घरजग्गा, रियल स्टेट क्षेत्रमा जाने कर्जाको जोखिम भार घटाइदिएको छ । यसले घरजग्गाको कारोबार बढ्ने र बजारमा पैसा आउने त संकेत गर्छ नै । अर्कोतर्फ  निक्षेपको ब्याजदरसँगै यता कर्जाको ब्याजदर समेत घट्नेछ । यसले लगानीको वातावरण बन्ने देखिन्छ’ अधिकारीले भने । 

तथापि, आर्थिक गतिशीलताका लागि अहिलेको मौद्रिक नीति मात्र पर्याप्त नभएको बताउँदै अर्थविद् अधिकारीले बजारको माग बढ्नुपर्ने र सरकारको पुँजीगत खर्च बढ्नुपर्ने बत्ताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप