आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कतारमा साहित्यिक कृतिहरू 'अरब' र 'घाउ' सार्वजनिक

मङ्गलबार, २६ मङ्सिर २०८०, ०८ : ४५
मङ्गलबार, २६ मङ्सिर २०८०

कतार । कतारको नाज्मास्थित गोरखा रेष्टुरेण्टको सभा हलमा आयोजित अनेसास नवोदितको १४१ औ वाचन डबली कार्यक्रममा दुई साहित्यिक कृतिहरू साहित्यकार प्रेम प्रसाद भटृराईको “अरब” र साहित्यकार विनोद खड्काको “घाउ” सार्वजनिक भएका छन् । यस अघि यी दुवै कृतिहरूको काठमाण्डौमा दुई छुटृाछुटृै कार्यक्रमहरूमा विमोचन भएको थियो । 

यी दुई कृतिहरूलाई डबलीका विशिष्ट श्रोता रघु शर्मा, पूर्व विशिष्ट श्रोताहरू रमजान अलि मियाँ, पवित्रा खड्का, तेज कटुवाल, चानक पोखरेल, पदम गिरी, अनेसासका अध्यक्ष लेख कार्की, अनेसासकै पूर्व अध्यक्षहरू सीताराम थापा, श्यामराज रानाभाट, मणि पौडेल, नवोदित कतारका का वा अध्यक्ष सानु थपलिया, नवोदितकै पूर्व अध्यक्षहरू चक्र कार्की, दिलीप पराजुली, समाजसेवी राजेन्द्र ढुङ्गाना र वेद प्रसाद भटृराईले सयुक्त रूपमा सार्वजनिक गर्नु भएको थियो । 

समयमा सुरु भएर समयमै सकिने भनेर प्रसिद्ध अनेसास नवोदितको नियमित डबलीमा कतारका विभिन्न साहित्यकारहरूले आआफ्ना गजल तथा कविताहरू वाचन गरेका थिए । 

सावर्जनिक भएको कृति “अरब” का बारेमा अनेसास कतारका पूर्व अध्यक्ष सीताराम थापाले समीक्षा गरेका थिए । कृति समीक्षा गर्दै थापाले भन्नु भयो “अरब मैले पहिला हेर्दा आकारमा सानो देखेर अरब आउन हतार भयो कि भन्ने सोचेको थिए तर जब अरबभित्र पसे तब थाहा भयो यो त जिरे खुर्सानीभन्दा पनि पिरो रहेछ । आकारमा सानो भएपनि यो कृतिभित्र विश्वको अग्लो भवन बुर्ज खलिफादेखि लिएर अरब र नेपाल नै अटेको पाए । अरबभित्रको कथा एउटा भव्य उपन्यासभन्दा कम छैन । यो अरब गीतिकाव्यले प्रवासमा रहेका समस्त नेपालीको जिन्दगी बोलेको छ । काव्य पढ्न सुरु गरेपछि नसकुन्जेल छोड्नै मन लाग्दैन । अरबले कैले धरधरी रुवाउँछ, कैले मज्जाले खुसी बनाउँछ । मुना मदनको झल्को दिने यस कृति “अरब” कथा र व्यथाका हिसाबले निकै उत्कृष्ट छ । कृतिकारलाई अझै उत्कृष्ट कृति लेख्न सक्ने क्षमता बढ्दै जाओस्, अरबको जिन्दगी र कृति दुवै सफल हुन भनेर शुभकामना व्यक्त गर्दछु ।”

गीतिकाव्य “अरब” को प्रकाशन साझा प्रकाशनले गरेको हो । यस कृतिमा ६४ पृष्ठ रहेका छन् । यस कृतिका स्रष्टा प्रेम प्रसाद भटृराईको जन्म खोटाङमा भएको हो र उनी भक्तपुरमा स्थायी बसोबास गर्दै हाल कतारमा कार्यरत छन् । उनको यो पाँचौँ साहित्यिक कृति हो । 

अर्को सार्वजनिक भएको कृति “घाउ” नियात्रा सङ्ग्रहमाथि अनेसासका अर्का पूर्व अध्यक्ष प्रेम प्रसाद भटृराईले समीक्षा गरेका थिए । भटृराईले कृति समीक्षा गर्दै भन्नुभयो “घाउ नियात्रा सङ्ग्रहले सम्पूर्ण मानिसहरूको घाउको प्रतिनिधित्व गर्छ चाहे त्यो युद्धले जन्माएको घाउ होस वा गलत राजनैतिक र सामाजिक व्यवस्थाले जन्माएको घाउ होस । मान्छेहरूमा अरूलाई पीडा दिने वा अरूको पीडा महसुस गर्न सक्ने क्षमताको अभावले समाजमा अनेकौँ घाउहरू जन्मिरहेका छन् भन्ने कुरा यसभित्रका नियात्राहरूमा पढ्न सकिन्छ । परिस्थितिजन्य कारणहरूले जन्मिने घाउहरू पनि ओझेल परेका छैनन् लेखाइमा । भियतनाम र कम्बोडियाको यात्रामा केन्द्रित भएको यस नियात्रा सङ्ग्रहमा नियात्राकारको अनुभूति निकै स्पष्ट रूपमा पढ्न, बुझ्न र महसुस गर्न सकिन्छ । केही नियात्राहरूमा घाउ बोल्छन् भने कुनै कुनै नियात्राहरू रोमान्टिक कथा र अनुभूतिहरू बोकेर पनि प्रस्तुत भएका छन् । सरल भाषाको प्रयोग भएको छ । सबै नियात्राहरू उत्तिकै सशक्त छन् विषय वस्तु र परिस्थितिका बारेमा बोल्नका लागि । यदि यो नियात्रा सङ्ग्रहलाई नियात्राकारले पुरस्कार दाता संस्थाहरूमा दर्ता गर्न लैजाने हो भने सही मूल्याङ्कन गरिएको खण्डमा पुरस्कृत हुन सक्ने सम्भावना ज्यादा देख्छु ।”

नियात्रा सङ्ग्रह “घाउ” को प्रकाशन काठमाण्डौस्थित शब्दार्थ प्रकाशनले गरेको हो । यस कृतिमा ३० नियात्राहरू ३३२ पृष्ठहरूमा संग्रहित भएका छन् । यस कृतिका स्रष्टा विनोद खड्का चाँगुनारायण नगरपालिका वडा नं १, भक्तपुरका स्थायी बासिन्दा हुन र हाल उनी कतारमा कार्यरत छन् । उनको यो तेस्रो साहित्यिक कृति हो । आफ्नो कृतिका बारेमा बोल्दै खड्काले जानकारी दिएकी यो कृति नियात्राकार स्वयंले भियतनाम र कम्बोडियाको ती ठाउँहरूमा लगेर सार्वजनिक गरे जहाँका बारेमा यसभित्र लेखिएका छन् । 

डबलीका पूर्व विशिष्ट श्रोता चानक पोखरेल र समाजसेवी वसन्त ढकालले साहित्यकारहरू विनोद खड्का र प्रेम प्रसाद भटृराईलाई खादा ओढाउनुका साथै कलम उपहार दिएर साहित्यिक सफलताको कामना गर्नु भयो ।  

अनेसास नवोदितद्धारा आयोजित उक्त कार्यक्रममा अनेसास कतार, नवोदित कतार, सन्ध्या ग्रुप अलखोर कतार, खोटाङ सेवा समाज कतार, सुपर टिम अलखोर लगायत कतारमा रहेका साहित्यकार र साहित्यिक मनहरूको बाक्लो उपस्थिति थियो । 

कार्यक्रमको संयोजन अनेसास कतारका महासचिव दिलीप पराजुलीले गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप