शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सङ्कल्प यात्रा

एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने तीन जना पहिचानवादी हलेसीबाट पक्राउ

सुरक्षा व्यवस्था मजबुत बनाएको प्रहरीको दाबी
मङ्गलबार, २६ मङ्सिर २०८०, १० : ५७
मङ्गलबार, २६ मङ्सिर २०८०

विराटनगर । नेकपा एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेश राईको नाम खुलेको भए पनि अन्यको नाम खुलेको छैन । 

खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले तीन जना पक्राउ परेको पुष्टि गरे । यस्तै प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमले आफूहरूले एमालेको अभियानलाई शान्तिपूर्ण ढंगले अवरोध गर्ने बताए । ‘अवरोध गर्ने हो, बाटो बन्द गर्ने हो शान्तिपूर्ण ढंगले अवरोध हुन्छ,’ उनले भने । 

उता, उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले अहिलेसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको बताए । उनले जिल्लामा सुरक्षा अवस्था मजबुत रहेको जानकारी दिए । 

मङ्सिर १४ गते महाकालीदेखि सुरु भएको नेकपा एमालेको मध्यपहाडी सङ्कल्प यात्रा आज कोशी प्रदेशको उदयपुरस्थित घुर्मीबाट प्रवेश गर्दैछ । यात्रालाई एमाले अध्यक्ष केपी ओलीले नै नेतृत्व गरेका छन् । 

पहिचानवादीहरूले भने कोशी नामकरणको पक्षमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसद र एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई पूर्वी पहाडी जिल्ला प्रवेशमा अवरोध गर्ने भन्दै बन्द आव्हान गरेका छन् । 

‘कोशीको पक्षमा हामीलाई नानाथरी गालीगलौज गर्दै हिँड्ने खड्गप्रसाद ओली, योगेश भट्टराई र महेश बस्नेत आएनन् भने हामी अवरोध गर्दैनौँ,’ पहिचानवादी नेता गोपाल किराँतीले भने, ‘हाम्रो विरोध एमालेसँग होइन, कोशीका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र एमालेका तीन नेताहरूसँग मात्र हो ।’ पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुने एमालेको सङ्कल्प यात्राको क्रममा आज उदयपुरको घुर्मीमा पहिलो सभा आयोजना गरिएको छ । 

एमालेको कार्यक्रममा अवरोध गर्ने गरि पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले कुनै अप्रिय घटना हुन नदिन एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिएको छ । सुरक्षाका सबै जोखिमलाई न्यूनीकरण गर्ने तयारीमा प्रहरी रहेको छ ।

प्रदेश प्रहरीले एसएसपी जयप्रसाद सापकोटाको नेतृत्वमा नेपाल प्रहरीले प्रहरीको टोली मध्य पहाडी राजमार्गमा परिचालन गरिएको छ । नेपाल प्रहरीले तीन वटा क्षेत्र विभाजन गरेर सुरक्षा रणनीति अपनाएको छ । प्रदेशको पश्चिम भागमा उदयपुरमा एसपी रमेश थापाले कमान्डको नेतृत्व गर्नेछन् भने मध्य भागमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका गणपति लक्ष्मी अधिकारीले सुरक्षाको नेतृत्व गर्नेछन् । पूर्वमा इलामका एसपी वासुदेव खतिवडाको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । एमालेको यात्रा समापन हुने दिन पुस २ गतेसम्म नै कडा सुरक्षा अपनाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एमालेको कार्यक्रमस्थल र बसोबासस्थलमा कडाइ गरिनेछ ।

उदयपुरको घुर्मीबाट सुरु हुने एमालेको अभियान भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ । एमालेले पुष्पलाल मध्यपछाडि लोक मार्गसँग जोडिएका मुख्य १० सहरमा देखिएका समस्याको पहिचान र समाधानका निम्ति योजना निर्माणको उद्देश्यका साथ सङ्कल्प यात्रा तय गरेको जनाएको छ । अभियानले कोशी प्रदेशको ४२५ किलोमिटर यात्रा तय गर्ने एमाले कोशी प्रदेश कमिटीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप