शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी

शुक्रबार, २६ असार २०८३, १५ : ५८
शुक्रबार, २६ असार २०८३

सारांश

  • बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने र अदालतमा आत्मसमर्पण गर्ने योजना सार्वजनिक गरेकी छिन्।
  • मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले आफू फर्किँदा पक्राउ वा हत्याको जोखिम रहेको स्वीकार गरे पनि निर्णयबाट पछि नहट्ने अडान लिएकी छिन्।
  • सन् २०२४ मा सत्ता गुमाएपछि भारत पुगेकी हसिनाले अनुपस्थितिमै मृत्युदण्डको सजाय पाएकी थिइन् र उनले सबै आरोप अस्वीकार गर्दै आएकी छिन्।

ढाका । भारतमा निर्वासित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किएर अदालतमा आत्मसमर्पण गर्ने योजना सार्वजनिक गरेकी छिन्। मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले आफ्नो पार्टी 'अवामी लिग'का वरिष्ठ नेताहरूसहित स्वेच्छाले बंगलादेश फर्किने बताएकी हुन्।

'रोयटर्स'सँगको करिब एक घण्टा लामो टेलिफोन अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफू फर्किएपछि पक्राउ पर्न सक्ने वा हत्या हुन सक्ने जोखिम रहेको स्वीकार गरेकी छिन्। तर, उनी आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छिन्। उनले भनिन्, ‘मलाई स्वदेश फर्किनेबित्तिकै पक्राउ गर्न सक्छन्, हत्या पनि गर्न सक्छन्। तैपनि म फर्किनैपर्छ। मेरा पार्टीका नेता र कार्यकर्तामाथि अत्यन्त दमन भइरहेको छ। यदि मेरो मृत्यु हुन्छ भने आफ्नै देशको भूमिमा होस्, जहाँ मेरा आमाबुबा समाधिस्थ छन् र जहाँ उनीहरूको रगत बगेको थियो।’

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि सत्ता गुमाएर शेख हसिना भारत पुगेकी थिइन्। विभिन्न कार्यकाल गरी करिब २० वर्षसम्म प्रधानमन्त्री रहेकी उनीमाथि आन्दोलन दबाउन घातक आदेश दिएको आरोप छ। बंगलादेशको युद्ध अपराध अदालतले गत नोभेम्बरमा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने ती सबै आरोप अस्वीकार गर्दै आएकी छिन्।

उनको सम्भावित स्वदेश फिर्तीले बंगलादेशको राजनीतिक ध्रुवीकरण थप तीव्र बनाउन सक्ने विश्लेषण गरिएको छ। अर्कातर्फ, हसिनालाई शरण दिएपछि चिसिएको भारत–बंगलादेश सम्बन्ध सुधार हुने सम्भावना पनि केही विश्लेषकहरूले औँल्याएका छन्। बंगलादेश सरकारले हसिनालाई सुपुर्दगी गर्न भारतसँग पटक–पटक आग्रह गर्दै आएको छ। तर, हसिनाले आफूलाई भारतले पठाउनुअघि नै स्वेच्छाले फर्किने स्पष्ट पारेकी छन्।

निर्वासनपछि पहिलो पटक विस्तृत अन्तर्वार्ता दिएकी हसिनाले आफ्नो स्वदेश फिर्तीबारे कुनै पनि विदेशी सरकारसँग छलफल नगरेको बताएकी छिन्। उनले फर्किने समयसीमा सार्वजनिक गरेको र अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेको यो पहिलो पटक हो। हसिनासँगै स्वदेश फर्कने तयारीमा रहेका अवामी लिगका नेताहरूमध्ये पूर्वगृहमन्त्री असादुज्जमान खान कमाललाई पनि अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ। यद्यपि, अन्य नेताहरूको वर्तमान अवस्थाबारे स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

ढाकास्थित अन्तरिम सरकारले हसिनाको यस भनाइबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। भारतको विदेश मन्त्रालयले पनि यो नयाँ अभिव्यक्तिबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। यसअघि अप्रिलमा भारतले बंगलादेशको सुपुर्दगी अनुरोधमाथि अध्ययन भइरहेको र नयाँ बंगलादेशी सरकारसँग रचनात्मक सम्बन्ध कायम राख्न चाहेको जनाएको थियो। बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानकी छोरी हसिना आफ्ना पिता र परिवारका अधिकांश सदस्यको सैनिक कू (सैन्य विद्रोह) मा हत्या भएपछि राष्ट्रिय राजनीतिमा उदाएकी थिइन्।

प्रारम्भिक राजनीतिक जीवनमा लोकतन्त्र पुनःस्थापनाको अभियान चलाएकी हसिनाले बंगलादेशको अर्थतन्त्रलाई उल्लेखनीय रूपमा अगाडि बढाएको श्रेय पाएकी छिन्। तर, लामो शासनकालमा विपक्षीमाथि दमन, अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण तथा लोकतान्त्रिक संस्थाहरू कमजोर बनाएको आरोप पनि उनीमाथि लाग्दै आएको छ। हसिनाले भने यी आरोपहरू निरन्तर अस्वीकार गर्दै आएकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप