सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मध्य प्रदेशको मुख्यमन्त्रीमा ‘नेपाली बाबा’का शिष्य !

मङ्गलबार, २६ मङ्सिर २०८०, ११ : ५३
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । भारतको मध्य प्रदेश राज्यमा डा. मोहन यादव मुख्यमन्त्री बन्दैछन् । सोमबार भारतीय जनता पार्टीले यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

जानकारहरुका अनुसार मोहन यादव मुख्यमन्त्री बन्ने भविष्यवाणी ‘नेपाली बाबा’ले सन् २०१६ मै गरेका थिए । उज्जैनमा महाकुम्भका क्रममा सन् २०१६ मै ‘नेपाली बाबा’ले उनी मुख्यमन्त्री बन्ने भविष्यवाणी गरेका थिए ।

को हुन् नेपाली बाबा ?

नेपाली बाबा अर्थात् आत्मानन्द दास स्वामी उत्तर प्रदेशको अयोध्यामा बस्छन् । त्यहाँ उनले रामघाटमा सीताराम आश्रम स्थापना गरेका छन् ।

राजनीतिमा उनी भारतीय जनता पार्टीको समर्थक मानिन्छन् । मोहन यादव मध्य प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित भएसँगै नेपाली बाबाले आफ्नो सामाजिक सञ्जालबाट उनलाई बधाइ दिएका थिए । उक्त पोस्टमा उनले मोहन यादवलाई आफ्नो शिष्य बताएका छन् ।

नेपाली बाबा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर समर्थक हुन् । उनले हालै मोदीलाई रामको अवतार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई लक्ष्मणका रुपमा चित्रण गरेका थिए ।

कसरी राखियो ‘नेपाली बाबा’ नाम ?

‘नेपाली बाबा’ भन्नासाथ उनको नेपालसँग कुनै सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ । तर, उनको नेपालसँग प्रत्यक्ष सम्बन्ध भने छैन । उनी नेपाली होइनन् । उनी भारतको अयोध्या निवासी हुन् ।

‘नेपाली बाबा’ले एउटा अन्तरवार्तामा आफ्नो नयाँ नामबारे खुलासा गरेका छन् । भगवान् रामले शिव धनुष भाँचेको स्थान अर्थात् नेपालको धनुषा धाममा उनले एउटा आश्रम बनाएका छन् । त्यसपछि स्थानीयवासीले उनलाई धनुषामै बस्न आग्रह गरेका थिए ।

तर उनी भारत फर्किने निधोमा पुगेपछि स्थानीयवासीले नेपालसँग नटाढिन आग्रह गरेअनुसार नै उनले आफूलाई ‘नेपाली बाबा’ का रुपमा चिनाउन थालेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप