सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
भूकम्पपीडितलाई अस्थायी आवास

जाजरकोटको नलगाडले बल्ल सक्यो लगत सङ्कलनको काम

आठ हजार प्रभावितलाई ४० करोडभन्दा बढी रकम आवश्यक, पहिलो किस्ता वितरण नहुँदा पीडित अझै त्रिपालमा
मङ्गलबार, २६ मङ्सिर २०८०, १३ : ४१
मङ्गलबार, २६ मङ्सिर २०८०

सुर्खेत । भूकम्पबाट प्रभावित जाजरकोटको नलगाड नगरपालिकाले बल्ल लगत सङ्कलनको काम सकेको छ । अस्थायी आवास निर्माणका लागि केन्द्र सरकारले तयार पारेको कार्यविधि अनुसार लगत सङ्कलनको काम सकाएको हो । 

भूकम्प गएको एक महिनासम्म पनि लगत सङ्कलनलगायत कागजी प्रक्रिया पूरा गर्दा भूकम्प प्रभावित नागरिकहरूले त्रिपालमै ज्यान गुमाइरहेका छन् । प्राप्त विवरणअनुसार नलगाड नगरपालिकाको १३ वटा वडामा गरी ८ हजार ९७ घरधुरीमा भूकम्पले क्षति पुर्‍याएको छ । क्षति पुगेका कुनै पनि घरमा अहिले नागरिक बस्न मिल्ने अवस्था छैन । सबै नागरिक त्रिपालमा बसेका छन् ।

भूकम्पबाट धेरै प्रभावित हुने पालिका हो नलगाड । त्यहाँका प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजारका दरले रकम दिँदा ४० करोड ४८ लाख ५० हजार रकम आवश्यक पर्छ ।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार वडा नम्बर १ मा मात्रै ९८४ घरमा क्षति पुगेको छ । सबैभन्दा बढी मानवीय क्षति भएको वडा पनि यही हो । उक्त सङ्ख्याका घरधुरीलाई ५० हजारका दरमा रकम दिँदा ४ करोड ९२ लाख रकम आवश्यक पर्छ ।

वडा नम्बर २ मा ४७७ वटा घरमा क्षति भएको छ । त्यो परिवारलाई अस्थायी आवास निर्माण गर्न रकम दिँदा २ करोड ३८ लाख ५० हजार आवश्यक पर्छ भने वडा नम्बर ३ का ६७४ परिवारलाई ३ करोड ३७ लाख रकम आवश्यक पर्छ ।

वडा नम्बर ४ मा ४५१ घरमा क्षति भएको छ । उक्त परिवारलाई २ करोड २५ लाख ५० हजार रकम आवश्यक पर्छ भने ९५१ घरमा क्षति भएको वडा नम्बर ५ का परिवारलाई ४ करोड ७५ लाख ५० हजार रकम आवश्यक पर्छ ।

वडा नम्बर ६ का ६६९ परिवारलाई ३ करोड ३४ लाख ५० हजार, ७ का ६३८ परिवारलाई ३ करोड १९ लाख, ८ का ९१३ परिवारलाई ४ करोड ५६ लाख ५० हजार, ९ का ५५६ परिवारका लागि २ करोड ७८ लाख, १० का ३७८ परिवारका लागि १ करोड ८९ लाख, ११ वडाका ३७४ परिवारका लागि १ करोड ८७ लाख रकम आवश्यक पर्छ । 

यस्तै वडा नम्बर १२ का ५५१ परिवारका लागि २ करोड ७५ लाख ५० हजार र १३ वडाका ४८१ पीडित परिवारका लागि २ करोड ४० लाख ५० हजार रकम आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ ।

कार्यविधि अनुसार उक्त विवरण सङ्कलन गरेर जिल्ला प्रशासन कार्यालयमा पठाइएको सूचना अधिकारी जुना शाहीले बताइन् । यद्यपि अहिलेसम्म पालिकाको खातमा रकम नआएको उनले बताइन् । ‘हामीले हिजो (आइतबार) मात्रै विवरण प्रशासनमा पठाएका छौँ, भोलि (मङ्गलबार) सम्ममा पालिकाको खातामा रकम आउला,’ उनले रातोपाटीसँग भनिन्, ‘त्यसपछि मात्रै पहिलो किस्ता वितरण सुरु हुन्छ ।’ 

मङ्सिरभित्रै अस्थायी आवास निर्माण गरेर नागरिकलाई त्रिपालमुक्त गराइने भनिए पनि लगत सङ्कलनको कार्यमा ढिलाइ हुँदा त्रिपालको बसाइ लम्बिने देखिएको छ । अर्काेतर्फ अस्थायी आवास निर्माणको काम पनि हुन सकिरहेका छैनन् । यो पालिकाका विभिन्न राजनीतिक दलका भोलेन्टियरले आवास निर्माण गरिरहेका छन् । यद्यपि ठड्याइएका टहरामा जस्तापाता नभएकाले नागरिक त्रिपालमै बस्न बाध्य छन् । कुन दलले कति आवास निर्माण गरे भन्ने यकिन तथ्याङ्क अहिले पालिकासँग छैन । 

dammar rawal nalagad narar pramukh

नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर रावत बनाइएका आवासलाई नै आधार मानेर रकम भुक्तानी दिइने बताउँछन् । ‘एकातिर दलहरूले आवास निर्माण गरेर सहयोग गरिरहनुभएको छ, हामी त्यसको तथ्याङ्क सङ्कलन पनि गर्छौं,’ उनले भने, ‘त्यसैलाई आधार मानेर हामी रकम भुक्तानी गर्छौँ ।’ यद्यपि अहिलेसम्म पालिकाभित्र कति प्रतिशत अस्थायी आवास निर्माण भएका छन् भन्ने कुनै विवरण पालिकासँग छैन । 

यता जिल्ला प्रशासन कार्यालयले भने पालिकाबाट प्राप्त विवरण अनुसार पहिलो किस्ता पठाउने काम भइरहेको बताएको छ । सहायक जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार शिवालय, छेडागाड, बारेकोटमा पहिलो किस्ता पठाउने काम भइसकेको छ । प्राप्त विवरण अनुसार अन्य पालिकामा पनि पठाइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप