शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा मनसुन र बाढीको जोखिम : जलवायु कूटनीति र अन्तर्देशीय सूचना प्रणालीको आवश्यकता

बिहीबार, ०५ असार २०८२, १० : २०
बिहीबार, ०५ असार २०८२

सारांश

  • जलवायु परिवर्तनका कारण नेपालमा मनसुनजन्य बाढी र पहिरोको जोखिम बढेको छ, जसले सिन्धुपाल्चोक लगायतका क्षेत्रमा खतरा बढाएको छ।
  • भारत र चीनको सूचना आदानप्रदान र मौसम प्रणालीको प्रभावबारे चर्चा गर्दै, जलवायु कूटनीति र अन्तरदेशीय सूचना प्रणालीको आवश्यकता औंल्याइएको छ।
  • नेपालले जलवायु परिवर्तनको असरसँग जुध्न र दिगो भविष्य निर्माणका लागि क्षेत्रीय सहकार्य र 'सबैका लागि पूर्वसूचना' पहललाई जोड दिनुपर्ने बताइएको छ।

जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरूको आवृत्ति र तीव्रता बढाइरहेको छ । नेपाल, हिमाली र पहाडी भूभाग भएको मुलुक, मनसुनजन्य बाढी, पहिरो र अन्य प्राकृतिक विपद्हरूको उच्च जोखिममा छ । हालै भारतको केरलाबाट सुरु भएको मनसुनको दोस्रो चरण, बङ्गालको खाडी स्थानीय वायु प्रणालीसँग मिसिएर सक्रिय भएको छ, जसले दक्षिण भारतमा भारी वर्षा गराइरहेको छ भने आजबाट नेपालमा पनि सक्रिय भएको छ । मौसमविद् डा. धर्मराज उप्रेतीका अनुसार यो प्रणालीले भारतको आसाम, मेघालय, नेपालका विभिन्न क्षेत्र र तिब्बतसम्म भारी वर्षा निम्त्याउने अनुमान छ । नेपालमा आगामी चार दिन मध्यमदेखि भारी वर्षाको सम्भावना छ, जसले सिन्धुपालचोक, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशमा जोखिम बढाएको छ ।

  • मनसुनको अवस्था र बाढीको जोखिम

नेपालको जल तथा मौसम विज्ञान विभाग र भारत मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी तीन दिनमा सिन्धुपालचोक, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । यो हप्ताभर मनसुन नेपालभर फैलने अनुमान छ, जसले धेरै ठाउँमा भारी वर्षा निम्त्याउन सक्छ । विशेष गरी सिन्धुपालचोकको भोटेकोशी नदी क्षेत्रमा बाढीको उच्च जोखिम छ । भारत र चीनले यो अन्तर्देशीय नदीमा बाढी आउनसक्ने चेतावनी जारी गरेपछि, सिन्धुपालचोक जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई सतर्क रहन सूचना जारी गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी र चौतारा साङ्गाचोकगढी नगरपालिकाका नदी किनारका बस्तीहरू बाढी र पहिरोको जोखिममा छन् । आगामी चार दिनसम्म राजमार्ग अवरुद्ध हुनसक्ने र जनजीवन प्रभावित हुने सम्भावना छ । काभ्रेपलाञ्चोक  जिल्लाले पनि भुम्लु, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

चीनको तातोपानी सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमार्फत तिब्बतमा अत्यधिक वर्षाको सम्भावना रहेको सूचना नेपालको सशस्त्र प्रहरी हुँदै जिल्ला प्रशासनसम्म पुगेको हो । प्रमुख जिल्ला अधिकारी किरण थापाले यस्तो सूचना आदानप्रदान सीमा क्षेत्रमा नियमित हुने र तिब्बतको मौसमले नेपालका नदीहरूमा प्रभाव पार्न सक्ने बताए । डा. उप्रेतीका अनुसार तिब्बतको वर्षाले नदीहरूमा बहाव बढाउन सक्छ, तर स्थानीय वर्षाले तत्काल ठुलो क्षति नगर्ने भए पनि सतर्कता अपनाउनु आवश्यक छ ।

dharmaraj Upreti

  • जलवायु कूटनीति र अन्तर्देशीय सूचना प्रणाली

नेपाल, भारत, चीन र बङ्गलादेश साझा नदी प्रणाली र मौसमी प्रभावले जोडिएका छन् । भोटेकोशी, कोशी र गण्डकीजस्ता नदीहरू तिब्बतमा मुहान भएर नेपाल हुँदै भारत र बंगलादेशका तल्लो तटीय क्षेत्रमा बग्छन्, अन्ततः बङ्गालको खाडीमा मिसिन्छन् । यी नदीहरूमा हुने बाढीले चारै देशमा ठुलो जनधनको क्षति पुर्‍याउँछ । यस्ता जोखिम न्यूनीकरणका लागि जलवायु कूटनीतिमार्फत अन्तर्देशीय सूचना प्रणालीको विकास अपरिहार्य छ ।

युरोपेली सङ्घले मध्यम अवधिको मौसम पूर्वानुमान केन्द्रले २४ घण्टाको निःशुल्क डेटा प्रदान गर्छ, तर दीर्घकालीन पूर्वानुमानका लागि शुल्क लाग्छ । हिन्दकुश हिमालय क्षेत्रमा यस्तो समर्पित प्रणालीको अभाव छ ।

डा. उप्रेतीकाअनुसार चीनले तिब्बतको मौसमसम्बन्धी सूचना समयमै साझा गर्दा तल्लो तटीय क्षेत्रमा बाढीको क्षति कम गर्न सकिन्छ । सिन्धुपालचोकको भोटेकोशी नदीमा हालै प्राप्त चिनियाँ सूचनाले यो कुरा पुष्टि गरेको छ। तिब्बतमा अत्यधिक वर्षाको सम्भावनाबारे जानकारी तातोपानी सीमामा नेपालको सशस्त्र प्रहरीमार्फत जिल्ला प्रशासनसम्म पुग्यो, जसले स्थानीय बस्तीहरूलाई सतर्क गरायो । 

दक्षिण एसियाली देशको नेतृत्व गर्दै मौसम पूर्वानुमानको विवरण सार्वजनिक गर्ने भारतले पहिले निःशुल्क उपलब्ध गराउँदै आएको मौसम डेटा हाल सर्वसाधारणका लागि बन्द गरेको छ । जसले सूचना आदानप्रदानमा बाधा पुर्‍याएको छ ।

युरोपेली सङ्घले मध्यम अवधिको मौसम पूर्वानुमान केन्द्रले २४ घण्टाको निःशुल्क डेटा प्रदान गर्छ, तर दीर्घकालीन पूर्वानुमानका लागि शुल्क लाग्छ । हिन्दकुश हिमालय क्षेत्रमा यस्तो समर्पित प्रणालीको अभाव छ ।

नेपाल र अन्य दक्षिण एसियाली देशहरूले संयुक्त रूपमा मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीमा सहकार्य गरे पनि यो पर्याप्त छैन । डा. उप्रेतीले जलवायु कूटनीतिमार्फत यी चार देशलाई जोड्ने साझा सूचना प्रणाली विकास गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो । यस्तो प्रणालीले जलवायु परिवर्तन र चरम मौसमी घटनाको प्रभाव न्यूनीकरणमा सहयोग गर्छ ।

  • ‘सबैका लागि पूर्वसूचना’ र विश्वव्यापी प्रेरणा

संयुक्त राष्ट्रसंघको ‘सबैका लागि पूर्वसूचना’ पहलले सन् २०२७ सम्ममा विश्वका हरेक व्यक्तिलाई प्राकृतिक विपद्सम्बन्धी पूर्वसूचना प्रणालीको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ । विश्व मौसम संगठनले यो पहललाई जोखिम पहिचान, अवलोकन, सूचना सञ्चार र समुदायको तयारीमा केन्द्रित गरेको छ । विश्व विपद् जोखिम न्यूनीकरण सम्मेलन (२०२३) मा हिन्दकुश हिमालय क्षेत्रमा साझा नदी प्रणालीहरूमा बाढी र पहिरोको जोखिम कम गर्न अन्तर्देशीय सहकार्यको आवश्यकता औँल्याइयो ।

विश्वस्तरका उदाहरणहरूबाट नेपालले प्रेरणा लिन सक्छ । युरोपको डेन्युब नदी बेसिनमा जर्मनी, अस्ट्रिया र हंगेरीजस्ता देशहरूले साझा डेटा प्लेटफर्ममार्फत बाढीको जोखिम न्यूनीकरण गर्छन्। अफ्रिकाको नाइजर नदी बेसिनमा नौ देशहरूले नाइजर बेसिन अथोरिटीमार्फत सूचना साझेदारी गर्छन्। हिन्दकुश हिमालय क्षेत्रमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले नेपाल, भारत, चीन र बंगलादेशबीच जलवायु डेटा साझेदारी र बाढी चेतावनी प्रणालीमा काम गरिरहेको छ । तर यो प्रयासलाई जलवायु कूटनीतिमार्फत थप बलियो बनाउन आवश्यक छ । 

नेपालमा मनसुनजन्य बाढी र पहिरोको जोखिमले जलवायु न्याय, अन्तर्देशीय सूचना प्रणाली र ‘सबैका लागि पूर्वसूचना’ पहलको महत्त्व उजागर गरेको छ । सिन्धुपालचोकको भोटेकोशी बाढी चेतावनीले क्षेत्रीय सहकार्यको सम्भावना देखाएको छ ।
  • जलवायु न्याय र नेपालको सान्दर्भिकता

जलवायु परिवर्तनले विश्वभर असमान प्रभाव पारिरहेको छ र नेपालजस्तो हरितगृह ग्याँस कम उत्सर्जन गर्ने मुलुकले यसको चर्को मूल्य चुकाइरहेको छ । विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.०२७% मात्र छ । तर हिमालको पग्लने क्रम, अनियमित मनसुन र बाढी–पहिरोको जोखिमले देशलाई उच्च जोखिममा राखेको छ । सिन्धुपालचोकको भोटेकोशी नदी क्षेत्रमा हालैको बाढी चेतावनीले स्थानीय समुदायलाई त्रासमा राखेको छ । यस्ता घटनाहरूले नेपालको भौगोलिक र सामाजिक–आर्थिक कमजोरीलाई उजागर गर्छ ।

नेपालका हिमाली र पहाडी क्षेत्रका ग्रामीण समुदायहरू, विशेष गरी किसान र सीमान्तकृत समूहहरू, जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित छन् । बाढी र पहिरोले खेतीयोग्य जमिन, बस्ती र पूर्वाधार नष्ट गर्छ, जसले गरिबी र असुरक्षालाई झनै बढाउँछ । कोशी नदीको बाढीले नेपालको तराई, भारतको बिहार र बंगलादेशका तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याउँछ । यस्ता क्षेत्रमा बसोबास गर्ने गरिब समुदायहरू सबैभन्दा बढी प्रभावित हुन्छन्। जलवायु न्यायको अवधारणाले यस्ता समुदायहरूलाई प्राथमिकता दिँदै जोखिम न्यूनीकरण, अनुकूलन र क्षतिपूर्तिको माग गर्छ।

नेपालले सन् २०१५ को पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको वकालत गर्दै आएको छ । तर यी प्रयासलाई प्रभावकारी बनाउन क्षेत्रीय सहकार्य र स्थानीय जागरूकता आवश्यक छ । अन्तर्देशीय सूचना प्रणालीले यस्ता समुदायलाई समयमै सतर्क गराउन र सुरक्षित स्थानान्तरण गर्न सहयोग गर्छ ।

नेपालमा मनसुनजन्य बाढी र पहिरोको जोखिमले जलवायु न्याय, अन्तर्देशीय सूचना प्रणाली र ‘सबैका लागि पूर्वसूचना’ पहलको महत्त्व उजागर गरेको छ । सिन्धुपालचोकको भोटेकोशी बाढी चेतावनीले क्षेत्रीय सहकार्यको सम्भावना देखाएको छ । जलवायु कूटनीतिमार्फत नेपाल, भारत, चीन र बंगलादेशले साझा नदी प्रणालीमा हुने विपद्को जोखिम न्यूनीकरण गर्न सक्छन् । डा. उप्रेतीको भनाइलाई आत्मसात् गर्दै, ‘भोलिको जोखिमविरुद्ध आजै कदम’ चाल्न आवश्यक छ । यस्ता कदमहरूले नेपाललाई जलवायु परिवर्तनको असरसँग जुध्न र दिगो भविष्य निर्माण गर्न सक्षम बनाउनेछ । 

(मौसमविद् डा धर्मराज उप्रेतीसँग न्युज एजेन्सी नेपालका लागि सविन धमलाले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. धर्मराज उप्रेती
डा. धर्मराज उप्रेती
लेखकबाट थप