शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा अध्यक्षमा माओवादीको पनि दाबी

मङ्गलबार, २६ मङ्सिर २०८०, २० : ५५
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलहरू आन्तरिक गृहकार्यमा जुटिरहेको बेला राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले पनि दाबी गर्ने भएको छ । आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र १९ जना सदस्य ६ वर्षे कार्यकाल पूरा गरी बहिरिँदैछन् ।

अध्यक्षमा गठबन्धनको मुख्य दल कांग्रेसले पहिलेदेखि नै दाबी गरेको छ । कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठ अध्यक्षका लागि चर्चामा छन् । पोर्टफोलियोका आधारमा अध्यक्षमा आफ्नो पनि दाबी रहने गठबन्धन दलका अर्को घटक एकीकृत समाजवादीका शीर्ष नेताहरूले बताएका छन् ।

यता अध्यक्षमा आफ्नो पनि दाबी रहने माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । मंगलबार रातोपाटीसँग कुराकानी गर्दै उनले अध्यक्षका लागि माओवादीबाट स्वाभाविक रूपमा दाबी रहने प्रतिक्रिया दिए ।

‘राष्ट्रिय सभा अध्यक्षमा माओवादीले स्वाभाविक रूपमा दाबी गर्छ । पछिल्लो समय जुन जस्तो परिस्थिति निर्माण हुँदैछ, यसमा हाम्रो दाबी रहन्छ’, सापकोटाले भने ।

गत वर्ष एमाले–माओवादी समीकरण भत्किएपछि फागुन १२ गते राति प्रधानमन्त्री निवास बालुवाटारमा सबैभन्दा ठुलो दल कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको थियो । प्रधानमन्त्रीमा तत्काल प्रचण्डलाई निरन्तरता दिँदै बाँकी विषयमा पछि छलफल गर्ने गरी गठबन्धन दलका नेताहरू बालुवाटारबाट बाहिरिएका थिए । आलोपालो प्रधानमन्त्री हुने गरी साढे दुई वर्ष माओवादीले  सरकार चलाउने, एक वर्ष एकीकृत समाजवादीलाई दिने र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको त्यतिबेला नेताहरूले दाबी गरेका थिए ।

तथापि राष्ट्रियसभा अध्यक्ष कसले पाउने भन्नेबारे अहिलेसम्म शीर्ष नेताहरूले मुख खोलेका छैनन् । अहिले राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीबाट उपाध्यक्ष उर्मिला छिन् । सभा अध्यक्ष संवैधानिक परिषद्को सदस्यसमेत रहेन हुँदा मुख्य दलको ध्यान यसमै केन्द्रित भएको छ ।

अहिले निर्वाचित भएकामध्येबाट नै सम्भावित अध्यक्षको दाबेदार रहने सम्भावना छ । त्यसैले सत्ता गठबन्धनका प्रमुख तीन पार्टीका शीर्ष नेताहरूले राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न भित्रभित्रै लबिङ गरिरहेका छन् ।

फरक दल र लिङ्गका आधारमा अध्यक्ष÷उपाध्यक्ष चयन हुने भएकाले यथास्थितिमा माओवादीले अध्यक्ष पाउने सम्भावना देखिँदैन । यदि माओवादीलाई अध्यक्ष दिन गठबन्धन दलहरूबिच सहमति भएमा अर्यालले राजीनामा दिनुपर्ने हुन्छ । यस विषयमा गठबन्धन दलहरूबिच कुनै छलफल नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउँछन् ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीभित्र र गठबन्धन दलहरूबिच कुनै छलफल भएको छैन । दलहरूले सिट बाँडफाँटमा सहमति गरेपछि यी विषय टुङ्गिएला’, गुरुङले भने ।

यद्यपि एमालेबाट बिदाइ हुने राष्ट्रिय सभा सदस्यको सिटमध्ये कांग्रेसले ४, माओवादीले २, एकीकृत समाजवादीले २ र जसपाले एक पाउने गरी सहमति नजिक पुगेको बुझिएको छ । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले राष्ट्रिय सभाको अध्यक्ष बन्ने तयारीका लागि जिम्मेवारीबाट अलग भएको चर्चा पनि छ । तर उनले गलत समयमा राजीनामा दिएकाले प्रधानमन्त्री उनीसँग असन्तुष्ट देखिएका छन् । राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न माओवादीभित्र विभिन्न क्लस्टरबाट शीर्ष नेताहरू नै सक्रिय रहेकाले फागुन २० पछि गठबन्धनमा फेरि लफडा पर्ने देखिन्छ ।

महत्त्वपूर्ण राजकीय पदमा गठबन्धनबाट राष्ट्रपति कांग्रेस, उपराष्ट्रपति जसपा र प्रधानमन्त्री माओवादीले पाउने गरी भागबण्डा गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुख एमालेबाट छन् । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । सातै प्रदेशमा पनि गठबन्धनले त्यही अनुसार भागबण्डा गरेका छन् । यस्तो अवस्थामा गठबन्धन तलमाथि भएमा राज्यको प्रमुख पदबाट विमुख हुनुपर्ने र त्यसले शक्ति सन्तुलनमा समेत प्रभाव पर्ने मनोवैज्ञानिक त्रास माओवादीमा देखिएको छ ।

प्रवक्ता सापकोटाले गठबन्धनमा प्रभाव पर्ने भएकाले यसबारे थप बोल्न चाहेनन् । तर शक्ति सन्तुलन अनुसार अध्यक्ष माओवादीले पाउनुपर्ने उनको भनाइ छ ।

आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत समेत एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदैछ ।

गठबन्धन दलहरूबिच आ–आफूले जितेको प्रदेशबाट उम्मेदवार बन्न कुनै बाधक नभए पनि एमालेतर्फका ९ सदस्यमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबिच भागबण्डा टुङ्गो लागिसकेको छैन ।

माघ ११ गते कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३ , लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ ।

जसमा एमालेतर्फ बागमतीमा २, गण्डकीमा २, कर्णालीमा २, लुम्बिनी र सुदूरपश्चिममा एक÷एक जनाको पदावधि सकिँदैछ ।

यस्तै कांग्रेसका कोशी, मधेस, गण्डकी र लुम्बिनीबाट एक÷एक जनाको पदावधि सकिँदैछ । यता माओवादीका कोशीबाट एक, सुदूरपश्चिमबाट २ जना बाहिरिँदैछन् भने एकीकृत समाजवादीका बागमतीबाट एक र कर्णालीबाट एक जनाको पदावधि सकिँदैछ । अर्को घटक जसपाका मधेस प्रदेशबाट एक, बागमतीबाट स्वतन्त्र एक र राष्ट्रपतिबाट मनोनीत एक÷एक जना बिदाइ हुँदैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप