बहुवर्षीय योजनाहरू समयमै सक्न मन्त्री उप्रेतीको निर्देशन
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेशका बहुवर्षीय योजनाहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । बुधबार निर्माण व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरी मन्त्री उप्रेतीले प्रदेशका बहुवर्षीय योजनाको काम समय सीमाभित्रै सक्न निर्देशन दिएका हुन् ।
मन्त्री उप्रेतीले बहुवर्षीय योजनाको काममा ढिलासुस्ती नगरी यथाशक्य रूपमा निर्माण सम्पन्न गर्न निर्देशन दिँदै त्यसका लागि मन्त्रालयले सहयोग गर्ने पनि उल्लेख गरे । उनले प्रविधिसहित आफैँ पुगेर बहुवर्षीय योजनाहरूको अनुगमन गर्ने जनाउँदै त्यसबखत समय र बजेट थप्न परेमा नीति–नियम र परिधिभित्र रहेर थपिने पनि जनाए ।
‘आवश्यकता र औचित्य हेरेर समय बजेट र समय थप्न सकिन्छ,’ उनले भने, ‘तर, औचित्य पुष्टि गर्नुपर्छ, त्यतिकै समयावधि र बजेट थप्न सकिँदैन ।’
कतिपय आयोजनाहरू अलपत्र छोडिने गरेको बताउँदै मन्त्री उप्रेतीले भने, ‘प्रायः बहुवर्षीय आयोजना अपपत्र पर्ने गरेका छन् । हामीले बजेट पनि प्रशस्तै हालेका छौँ, पुगेन भने थप पनि गर्ने गरेका छौँ । तर, गम्भीर भएर समयमै र गुणस्तरीय रूपमा काम सकेको राम्रो । यो आग्रह गर्नका लागि नै हामीले यहाँ अन्तरक्रिया राखेका हौँ ।’
यस्तै, कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव विशाल घिमिरेले योजनाहरू समयमै सक्नका लागि मन्त्रालयले सहयोगी भूमिका निर्वाह गर्ने बताए । आयोजना प्रमुख कुलदीप यादवले बहुवर्षीय योजनाको डिपिआर छुटपुट हुँदा कतिपय कामले गति लिन नसकेको भए पनि त्यो समस्या चाँडै अन्त्य गर्न लागिपरेको सुनाए ।
यता, निर्माण व्यवसायीहरूले निर्माणका कामहरूमा मन्त्रालयले पहिलो पटक अन्तरक्रिया गरेकोमा खुसी व्यक्त गरे । उनीहरूले समयमै काम सक्ने प्रतिबद्धता जनाउँदै आवश्यकता हेरेर समय सीमा–बजेट थपेर मन्त्रालयले सहयोग गरिदिनुपर्ने बताए ।
कोशी प्रदेशमा अहिले चारवटा बहुवर्षीय योजनाहरू रहेका छन् । मोरङको रङ्गेली नगरपालिकास्थित संसारीमाईस्थानको पर्यटकीय पूर्वाधार विकास कार्य यसै वर्षको फागुन २५ गतेसम्म सकिसक्नुपर्ने छ । काठमाडौँको धुलिखेल निर्माण सेवा प्रालिले असार २०७७ मा सम्झौता गरी निर्माण कार्यलाई निरन्तरता दिइरहेको छ ।
यस्तै, काठमाडौँकै आरके जेभीले असार २०७७ सालमै सम्झौता गरी विराटनगर महानगरपालिकामा मुसाफिरखाना भवन निर्माणको काम गरिरहेको छ । यसको समय सीमा आगामी वर्षको वैशाखसम्म रहेको छ ।
यसैगरी, बहुवर्षीय योजनाका रूपमा सुनसरीको कोशी गाउँपालिका ६ र ७ मा मत्स्यगन्धा फनी निर्माणको काम भइरहेको छ । काठमाडौँको बिकोइ–प्रतिष्ठा–जोया एन्ड ब्रदर्श जेभीले वैशाख २०७८ मा सम्झौता गरेको यो योजना आगामी वर्षको असारसम्ममा सकिनुपर्ने छ ।
पाँचथरमा महागुरु फाल्गुनन्दको धार्मिक पार्क निर्माणको काम पनि भइरहेको छ । काठमाडौँको रसुवा–स्वामीनारायण–आशीष जेभीले माघ २०७८ मा सम्झौता गरी यसको काम गरिरहेको छ, जसको समय सीमा २०८१ मङ्सिरसम्म छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण