बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
किर्ते कागजात प्रकरण

भिजिट भिसामा विदेश पठाउँदा विमानस्थलका कर्मचारीलाई ५० हजार ‘घुस’

नक्कली कागजात बनाउने गिरोहसहित ३२ जना पक्राउ
बुधबार, २७ मङ्सिर २०८०, २० : २९
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा खाडी मुलुकमा पठाउने गिरोहसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृतहरूको ‘मिलेमतो’ हुने गरेको भेटिएको छ । ‘घुस’ लिएर १२ कक्षाको नक्कली सर्टिफिकेटका आधारमा विदेश पठाएको आरोपमा प्रहरीले विमानस्थलमा कार्यरत ४ जना अधिकृतहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्का र वायुसेवा निगममा कार्यरत ३ जना अधिकृत छन् । वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव, विश्वनाथ कोइराला र होमनाथ पोखरेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

६ वटा ट्राभल्सका सञ्चालकहरूलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अहिलेसम्म पक्राउ पर्नेहरूको सङ्ख्या ३२ पुगेको छ । विमानस्थल अध्यागमन कार्यालय र वायुसेवा निगमका कर्मचारीले ‘गिरोह’ सँग ४० देखी ५० हजार रुपैयाँ सम्म घुस लिएर ‘सेटिङ’मा सर्वसाधारणलाई विदेश पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

पहिलोपटक जान लागेकाहरूसँग कर्मचारीले ५० हजार र पुराना यात्रुसँग ४० हजार ‘घुस’ लिने गरेको भेटिएको अनुसन्धानमा संलग्न डिएसपी गोविन्द पन्थीले जानकारी दिए । बुधवार आयोजित पत्रकार सम्मेलनमा पन्थीले भने–‘अध्यागमनबाट पार गराउन कर्मचारीले नयाँलाई ५० हजार र पुरानासँग ४० हजार लिने गरेको भेटिएको छ ।’

अनट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरीले नेपाल एयरलाइन्सका वरिष्ठ सहायक अरविन्द यादवलाई पटक पटक गरेर १२ लाख दिएको अनुसन्धानबाट थाहा भएको छ ।

एसकेआई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र रोलेक्स ट्राभल्सका राम प्रसाद भण्डारीले कर्मचारीहरूलाई रकम दिएको अनुसन्धानबाट थाहा भएको छ । रोलेक्स ट्राभल्समा कार्यरत सञ्जय तामाङ र राजकिशोर शाहले पटक पटक नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेललाई १८ लाख दिएको बयान दिएका छन् ।

अध्यागमन कार्यालयका अधिकृत नरवीरलाई पदम लामासँग दुई लाख रकम लिँदै गर्दा पक्राउ गरिएको अनुसन्धानमा संलग्न डिएसपी गोविन्द पन्थीले रातोपाटीलाई बताए । प्रहरीले डेढ महिनादेखि सो प्रकरणमा अनुसन्धान गरिरहेको भए पनि कर्मचारीहरूले गिरोहसँग मिलेर ‘सेटिङ’मा विदेश पठाउने काम जारी राखेका हुन् ।

भिजिट भिसामा विदेश जान १२ कक्षा पास गरेको सर्टिफिकेट, बैंकमा २ लाख रुपैयाँ ब्यालेन्स र गन्तव्य मुलुकमा होटल बुक गरेको कागजात देखाउनुपर्छ । तर, गिरोहले अधिकांश कागजात नक्कली बनाउने गरेको भेटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्तिक १९ मा टोखा र स्वयम्भूमा सञ्चालित नक्कली कागजात बनाउने कारखानामा छापा मारेका थियो । नक्कली कागजात बनाएको आरोपमा दीपक केसी र सल्यान घर भएका बलबहादुर राउत त्यतिबेला नै पक्राउ परेका हुन् । लामो अनुसन्धानबाट कर्मचारीको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

एयरलाइन्सका कर्मचारीले सहजता प्रदान गर्न प्रतियात्रु १५ हजारसम्म लिने गरेको अनुसन्धानबाट थाहा भएको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । तीमध्ये २४६ जनाको कागजात नक्कली भेटिएको डिएसपी पन्थीले बताए । उनी भन्छन्–‘कागजात कसरी बन्यो भन्नेबारे अनुसन्धान गर्दा हामी गिरोहसम्म पुग्न सफल भयौँ ।’

अध्यागमन कार्यालयका कर्मचारीले राम्रोसँग कागजात चेक गरेमा भिजिट भिसामा हुने गरेको दुरुपयोग रोक्न सकिने भए पनि उनीहरुले ‘मिलेमतो’मा छाड्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । खाडीमा महिलालाई घरेलु कामदारमा प्रतिबन्ध गराएको हुनाले यहाँबाट भिटिजमा लगेर गिरोहले त्यहाँ काममा लगाउने र महिलाहरू घरेलु हिंसामा पर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप