आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा देखिएका समस्याहरू बिस्तारै हल हुँदै गएका छन् : अर्थमन्त्री महत

बिहीबार, २८ मङ्सिर २०८०, १४ : ०४
बिहीबार, २८ मङ्सिर २०८०

ललितपुर । अर्थमन्त्री डा.प्रकाशशरण महत सरकारले समय सापेक्ष श्रमिकहरूको सीप विकास गराउन आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । उनले पछिल्लो समय नयाँ–नयाँ प्रविधिको विकास हुँदै गएकाले नयाँ प्रविधिको प्रयोग गर्न सक्ने श्रमिक बनाउन राज्यले लगानी गर्नु आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताए । उनले नयाँ प्रविधिअनुसार श्रमिकहरूको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता बढ्ने बताए ।

उनले उद्योगहरूमा उत्पादन वृद्धि भए मात्रै उद्योग व्यवसायको लागत कम हुने दाबी गरे । महतले नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भारतको भन्दा आयात भएका वस्तुहरू महँगो हुने गरेको बताए । उनले भने, ‘नेपाली श्रमिकहरूलाई समय अनुकूल नयाँ–नयाँ प्रविधि सापेक्ष अनुरुपमा सिप विकास गराउन आवश्यक छ । नयाँ प्रविधिअनुसार श्रमिकहरूको सीप विकास भएमात्रै उत्पादन क्षमता बढ्छ । आयातको लागत घट्छ । भूपरिवेष्टित राष्ट्र भएकाले भारतको भन्दा आयात भएका वस्तुहरू महँगो हुने गरेको छ । लागत कम गर्ने कुरामा सबैले आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्छ ।’ 

उत्पादन वृद्धिको लागि नेपाली उद्योग व्यवसायले पनि नयाँ प्रविधिहरूको प्रयोग गर्नुपर्ने जरुरी रहेको अर्थमन्त्री महतको भनाई छ । उनले ट्रेड युनियनहरूको नेतृत्वमा श्रमिकहरूको सीप विकास गरी क्षमता बढाउन लाग्नुपर्नेमा जोड दिए । उनले श्रमिकहरूको सीप विकास र क्षमता वृद्धि भए मात्रै प्रतिव्यक्ति आयमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे । अर्थमन्त्री डा.महतले उत्पादन वृद्धि भएर उद्योगको लागत कम भए श्रमिकहरूको पनि तलबमान वृद्धि हुने बताए ।

‘उद्योग व्यवसायले पनि नयाँ प्रविधिहरूको प्रयोग गर्नुपर्छ । श्रमिकहरूलाई ट्रेड युनियनहरूको नेतृत्वमा श्रमिकहरूलाई सिप विकासको क्षमता बढाउन सहभागिता गराउनुपर्छ । श्रमिकहरूको सीप विकास र क्षमता वृद्धि हुँदा प्रतिव्यक्ति आयमा समेत वृद्धि हुन्छ’ अर्थमन्त्री महतले भने, ‘प्रतिव्यक्ति आयमा समेत वृद्धि हुने बित्तिकै लागत कम हुन्छ । नेपालमा राम्रो नाफा गर्ने कम्पनीहरूले श्रमिकहरूलाई दिने सेवा सुविधामा कन्जुसाई पर्ने प्रचलन छ ।

अन्तर्राष्ट्रिय स्तरको श्रमिक बनाउन प्रतिबद्धता गर्न नेपाल अगाडि नै छ । कुनै देश भन्दा कमी छैन ।’ अर्थमन्त्रीले नेपालको अर्थतन्त्रमा देखिएका सबै खालका समस्याहरू बिस्तारै हल हुँदै गएको समेत बताए । श्रमिक र उद्योग व्यवसायको सुमधुर सम्बन्ध हुनुपर्ने बताउँदै उनले भने, ‘व्यवस्थापन र श्रमिकले निरन्तर अन्तरक्रियामार्फत बुझ्नुपर्छ । सरकारी काममा अनुशासन कायम गर्ने काममा लागेका छौँ ।’

उनले नेपालमा राम्रो नाफा गर्ने कम्पनीहरूले श्रमिकहरूलाई दिने सेवा सुविधामा कन्जुस्याइँ पर्ने प्रचलन रहेको जिकिर गरे । श्रमिक र उद्योग व्यवसायको सुमधुर सम्बन्ध हुनुपर्ने भन्दै व्यवस्थापन र श्रमिक दुवैले एक अर्कालाई बुझ्नु जरुरी रहेको बताए । उनले नेपालको अर्थतन्त्रमा देखिएका सबै खालका समस्याहरू बिस्तारै हल हुँदै गएको स्पष्ट पारे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप