आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विद्युत् बजार सुधारका लागि इयुले गर्‍यो सम्झौता

बिहीबार, २८ मङ्सिर २०८०, १५ : ३७
बिहीबार, २८ मङ्सिर २०८०

ब्रसेल्स । युरोपेली युनियन (इयु) ले जीवाश्म इन्धनमाथि निर्भरता कम गर्न र उपभोक्ता मूल्यहरूलाई स्थिर राख्न इयुको विद्युत् बजारमा सुधारका लागि बिहीबार एउटा सम्झौता गरेको इयु परिषद्ले एक विज्ञप्तिमा जनाएको छ । 

“आज परिषद् र संसद्ले इयुको विद्युत् बजार डिजाइन (इएमडी) मा सुधारका लागि अस्थायी सम्झौता गरेका छन्”, हाल स्पेनको अध्यक्षता रहेको इयु परिषद्का अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुधारले विद्युत्को मूल्यलाई अस्थिर जीवाश्म इन्धनको मूल्यहरूमा कम निर्भर बनाउने, उपभोक्ताहरूलाई मूल्य वृद्धिबाट बचाउने, नवीकरणीय ऊर्जा र परिचालनमा तीव्रता ल्याउने र उपभोक्ता संरक्षणमा सुधार गर्ने लक्ष्य राखेको छ ।”

इयुका योजनाहरूको उद्देश्य बजारको अस्थिरतालाई कम संवेदनशील बनाउनु हो । यसलाई गत वर्ष उपभोक्ता र व्यवसायहरूका लागि ऊर्जाको मूल्यमा वृद्धि गर्ने युक्रेनमाथि रुसी आक्रमणको प्रतिक्रियाका रूपमा हेरिएको छ । 

“यो सम्झौता राम्रो समाचार हो किनकि यसबाट हामी रुसी ग्यासमाथि इयुको निर्भरता अझ कम गर्न र हरितगृह ग्यास उत्सर्जनमा कटौतीका लागि जीवाश्मरहित ऊर्जाको प्रवर्द्धन गर्न सहयोग पुग्नेछ”, स्पेनका ऊर्जामन्त्री टेरेसा रिबेराले भनिन् । 

उक्त सम्झौता इयु परिषद् र संसद् दुवैबाट अनुमोदन हुनुपर्नेछ । व्यापक सुधारहरूको एउटा भागका रूपमा उक्त सम्झौतामा एउटा नियम पनि समावेश गरिएको छ । जसले बढ्दो अनुगमन र पारदर्शितामार्फत बजार हेरफेरविरुद्ध इयुको सुरक्षामा सुधार गर्नेछ । यसलाई रेमिट (आरइएमआइटी) का रूपमा पनि जानिन्छ । नोभेम्बर १६ मा इयुका २७ सदस्य मुलुकले रेमिटमा अस्थायी सम्झौता गरेका थिए । 

बिहीबारको सम्झौताले सदस्य राष्ट्रहरूको डिकार्बोनाइजेसन योजनाहरूअनुरूप नयाँ नवीकरणीय उत्पादनको अधिग्रहणलाई ‘विशेषरूपमा समर्थन गर्ने सम्भावना’ रहेको विज्ञप्तिमा उल्लेख छ । सम्झौताले सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्ने परिषद्लाई बजार अवस्थाको आधारमा युनियन–व्यापी ‘सङ्कट’ घोषणा गर्न अधिकारसमेत दिनेछ । 

विज्ञप्तिअनुसार यो औसत थोक विद्युत् मूल्य वा विद्युत् खुद्रा मूल्यमा तीव वृद्धिसँग सम्बन्धित हुनसक्छ । “यो सम्झौताले कमजोर र ऊर्जाको कमी भएका ग्राहकहरूको सुरक्षाका लागि उपायलाई कडा बनाउने छ”, विज्ञप्तिमा उल्लेख छ ।- (रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप