सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

तेस्रा न्यायाधीश धरौटीमा छाड्न सहमत भएपछि थुनामुक्त हुने बाटो खुल्यो
बिहीबार, २८ मङ्सिर २०८०, १८ : २३
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग ३० लाख धरौटी लिई छाड्ने आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कांग्रेस नेता खाणलाई गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेश बेरितको भएको भन्दै खाण लगायतका २० जना प्रतिवादीहरु थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । मंसिर ५ गतेदेखि निरन्तर भएको सुनुवाइपछि अन्य प्रतिवादीहरुको हकमा केहीलाई थुनामै राख्ने र केहीसँग धरौटी लिई तथा केहीलाई साधारण तारेखमै छाड्ने आदेश हुँदा बालकृष्ण खाणको हकमा भने दुई न्यायाधीशको राय बाझिएको थियो । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा न्यायाधीश पाण्डेले खाणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए । तर न्यायाधीश पाण्डेको रायमा अर्का न्यायाधीश प्रकाश खरेलले भने फरक राय दिई थुनामै राख्नुपर्ने आदेश गरेका थिए । 

न्यायाधीश खरेलले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाण अहिले नै निर्दोष रहेछन् भनी भन्न नसकिने भन्दै उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका थिए । 

उच्च अदालतको आदेशमा भनिएको थियो, ‘... यसमा उपयुक्त अनुसारका प्रतिवादीहरुमध्ये प्रतिवादी बालकृष्ण खाण बाहेकका अन्य प्रतिवादीहरुका हकमा माननीय न्यायाधीश श्री जनक पाण्डेबाट भएको आदेश रायसँग सहमत भएको छु । प्रतिवादी बालकृष्ण खाणका हकमा प्रतिवादी टेक नारायण पाण्डे र केशव दुलालबिचको मोबाइल म्यासेज, प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको प्रतिवादी टेक नारायण पाण्डेले प्रतिवादी नरेन्द्र केसीलाई लेखी दिएको कागज, प्रतिवादी आङटावा शेर्पाको घटना विवरण कागज तथा सह प्रतिवादी टेक नारायण पाण्डेको अधिकार प्राप्त अधिकारी समक्षको मिति २०८०।१।२७ को ततिम्बा बयान समेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाण अभियोग दाबीको कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने मनासिब आधार नदेखिएको हुँदा माननीय न्यायाधीश जनक पाण्डेबाट निज प्रतिवादीलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम नगद रु. ३०,०००,००।– (अक्षेरुपी तीस लाख) धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी भएको आदेशसँग सहमत हुन सकिएन । प्रतिवादी बालकृष्ण खाँणलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी काठमाडौँ जिल्ला अदालतबाट मिति २०८०।०३।०१ मा भएको आदेश मनासिब देखिँदा परिवर्तन गरिरहनु परेन । कानुन बमोजिम गर्नु ।’

दुई न्यायाधीशको राय बाझिएपछि अदालतले तेस्रो न्यायाधीशसमक्ष पेस गर्ने आदेश दिएको थियो । उच्च अदालत पाटनको आदेशमा भनिएको थियो, ‘प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश, राय मतैक्यता हुन नसकेकोले प्रस्तुत फरक रायसहितको निवेदक बालकृष्ण खाण विपक्षी नेपाल सरकार भएको ०८०– re–०२८८ को प्रतिवेदन उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीश समक्ष पेस गर्नु ।’

राय बाझिएपछि बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पेस भएकामा तेस्रा न्यायाधीश कोइराला न्यायाधीश जनक पाण्डेको रायसँग सहमत भएपछि खाणलाई ३० लाख धरौटी लिई थुनामुक्त गर्ने आदेश भएको हो । 

धरौटीमा छाड्ने न्यायाधीश जनक पाण्डेको रायमा सहमति जनाउने न्यायाधीश कृष्णराम कोइरालाको आदेशमा भनिएको छ,‘... जाहेरवाला तथा घटना विवरण कागज गर्ने पीडितहरुले यी निवेदक प्रतिवादी बालकृष्ण खाणले ठगी गरेको वा निजहरुबाट रकम लिएको भनी यी प्रतिवादीको नाम उल्लेख नगरेको, प्रतिवादी अधिकार प्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दा अभियोगदावीको कसुरमा पुर्णत इन्कार रही बयान गरेको, घटना विवरण कागज गर्ने तत्कालीन अवस्थामा गृह मन्त्रालयमा कार्यरत स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका प्रमुख शाखा अधिकृत यन्तोष प्रधानले बालकृष्ण पन्थीको कार्यालयले तयार पारेको प्रतिवेदन पछिल्लो समयमा मन्त्रीपरिषदबाट फिर्ता आई आफ्नो जिम्मामा रहेको, विभिन्न समयमा उक्त प्रतिवेदन शाखा प्रमुख सागरमणि पाठक, उपसचिव शेखर पौडेल, महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल तथा सचिव टेक नारायण पाण्डेले माग्ने गरेका थिए, के कसरी उक्त प्रतिवेदनको समानान्तर अर्को प्रतिवेदन तयार भयो आफूलाई थाहा नभएको भनी आफ्नो ब्यहोरा लेखाएको प्रस्तुत मुद्दाका सह–प्रतिवादी टेकनारायण पाण्डेको बयान समेतबाट यी निवेदक प्रतिवादीले उक्त प्रतिवेदन मागेको अथवा उक्त प्रतिवेदनमा कुनै चासो नराखेको, निवेदक प्रतिवादीलाई सुरु जिल्ला अदालतले थुनामा राख्दा प्रस्तुत मुद्दाका प्रतिवादीहरु केशव दुलाल र अर्का प्रतिवादी टेक नारायण पाण्डेबीच भएको टेलिफोन संवादलाई पनि लिएकोमा उक्त संवादमा उल्लेख भएको गिफ्ट भनेको रकम हो र उक्त रकम प्रतिवादी केशव दुलालबाट यी प्रतिवादीले लिएको भन्ने दावीका सम्बन्धमा मुद्दा अनुसन्धानका क्रममा बयान तथा ततिम्बा बयान गर्दा प्रतिवादी केशव दुलालले उक्त तथ्यमा इन्कार गर्दै आफूले प्रतिवादी बालकृष्ण खाणलाई नभेटेको तथा निजलाई कुनै रकम नदिएको भनी उल्लेख गरेको ततिम्बा बयानमा निज प्रतिवादी केशव दुलालाले टेक नारायण पाण्डेलाई रु १,२५,००,०००।– दिएको भनी उल्लेख गरेको, प्रस्तुत मुद्दाका प्रतिवादी आङटावा शेर्पाले गरेको घटना विवरण कागज हेर्दा आङटावा शेर्पा प्रस्तुत मुद्दामा पहिला सरकारी साक्षीको रुपमा घटना विवरण कागज गरेको तथा तुरुन्तै पछि प्रतिवादी कायम गरेकोमा अनुसन्धान अधिकारी एवं अदालत समक्ष बयान गर्दा घटना विवरण कागजलाई यातना दिई गराइएको भनी अस्वीकार गरी आफू कसुरमा इन्कार रही बयान गरेको, प्रतिवादी टेक नारायण पाण्डेले प्रतिवादी नरेन्द्र केसीलाई सम्बोधन गरी लेखेको चिटमा प्रतिवादी बालकृष्ण खाणको नाम उल्लेख नभएको तथा उक्त कागज प्रतिवादी टेकनारायण पाण्डेले आफू पक्राउ परेपछि लेखेको भन्ने तथ्य निजको बयान तथा निज बसेको प्रहरीको हिरासतकक्ष खानतलासी गर्दा डायरी तथा पेन बरामद गरेको मिसिल संलग्न बरामदी मुचुल्काबाट देखिएको र प्रतिवादी बालकृष्ण खाणविरुद्ध किटानी जाहेरी नपरेकोनिज अनुसन्धान अधिकारी एवं अदालत समक्ष कसुरमा इन्कार रहेको तथा सहप्रतिवादीहरूले यी प्रतिवादी कसुरमा संलग्न रहेको भनी पोल नगरेको आधारमा २०८०।३।१ को काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम निवेदकबाट रु.३०,००,०००।– (तीस लाख) रुपैयाँ नगद धरौट वा बैंक जमानत लिई आदेश भएको देखिएको र प्रतिवादी बालकृष्ण खाण मिसिल संलग्न प्रमाणबाट प्रत्यक्ष रूपमा अभियोग दाबी बमोजिमको कसुरमा संलग्न रहेको अवस्थाको अभाव देखिँदा उच्च अदालत नियमावली २०७३ को नियम १२(१) बमोजिम निवेदक बालकृष्ण खाणवाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट २०८०।३।१ मा थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेशलाई वेरितको देखिँदा बदर गरी रु. ३०,००,०००।–(तीस लाख) रूपैयाँ नगद धरौट, जमानत वा बैंक जमानत दिए लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी मिति २०८०।०८।१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ । अरूमा कानुन बमोजिम गर्नुहोला ।’

यस आदेशसँगै अब दुई न्यायाधीशको एउटै राय आएकाले कांग्रेस नेता बालकृष्ण खाण धरौटी बुझाएर थुनामुक्त हुन पाउने भएका छन् । उच्च अदालत पाटनबाट आदेशको प्रतिसहित पत्र काठमाडौँ जिल्ला अदालत पुगेपछि अदालतले धरौटी लिई प्रक्रिया पूरा गरेर खाँणलाई थुनामुक्र हुने पत्र दिनेछ । त्यसपछि सम्भवतः शुक्रबार खाण थुनामुक्त हुन पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप