बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नौ युक्रेनी ड्रोन खसालेको रुसको भनाइ

बिहीबार, २८ मङ्सिर २०८०, २० : ०७
बिहीबार, २८ मङ्सिर २०८०

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बहु प्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घण्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बिहीबार बताएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले यस वर्षको अन्त्यमा आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गर्नुअघि हमला भएको बताइएको छ । 

रक्षा मन्त्रालयले हमलाका लागि किएभलाई दोष दिँदै एक विज्ञप्तिमा भनेको छ, “अन–ड्युटी हवाई रक्षा एकाइहरूले कलुगा र मस्को क्षेत्रमा नौ युक्रेनी युएभी (मानवरहीत हवाई वाहन) लाई नष्ट गरेर रोकेको छ ।”

मस्कोका मेयर सर्गेई सोबयानिनले एउटा ड्रोनलाई रुसी राजधानीको दक्षिण पश्चिमी सहर नारो–फोमिन्स्क नजिकै खसालिएको बताए । “प्रारम्भिक आँकडाअनुसार जुन स्थानमा ड्रोन खसेको छ त्यहाँ कुनै क्षति वा हताहत भएको छैन”, उनले भने । घटनास्थलमा आपत्कालीन सेवाहरूले काम गरिरहेको उनले जानकारी दिए । 

मस्कोसँग गुमाएका क्षेत्रहरू फिर्ता गर्ने नयाँ प्रयास सुरु गरेसँगै युक्रेनले गर्मीयामपछि निरन्तररूपमा ड्रोनमार्फत रुसमा हमला गरेको छ ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप