बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस मकवानपुरको सम्मेलन पुस ३ गते, २ हजार प्रतिनिधि सहभागी हुने

शुक्रबार, २९ मङ्सिर २०८०, १८ : ०६
शुक्रबार, २९ मङ्सिर २०८०

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलन आगामी पुस ३ गते हुने भएको छ । कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले शुक्रबार पत्रकार आयोजनामा सम्मेलनबारे जानकारी दिएको हो ।

कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्मेलन हुने कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । उनका अनुसार सम्मेलनमा पार्टीका शीर्ष नेता, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतको उपस्थिति रहने छ । सम्मेलनमा १०२ वडा, १० पालिका, ६ प्रदेश र संघीय निर्वाचन क्षेत्र समिति र जिल्ला कार्य समितिका २ हजार प्रतिनिधि उपस्थिति हुने उनको भनाई छ ।

सम्मेलनमा जिल्लाको संगठानात्मक अवस्था, समस्या, वार्षिक प्रगति, राजनीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रित रहेर छलफल तथा बहस हुने सभापति लामाले बताए । सम्मेलनमा पार्टी संगठनभित्र देखिएका कमीकमजोरी, समस्याका विषयमा छलफल भई हल गर्ने प्रयत्न हुने उनले बताए । उक्त सम्मेलनले कांग्रेसको आगामी कार्ययोजना, रणनीति र एजेण्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने उनको भनाई छ ।

सभापति लामाका अनुसार सम्मेलनमा भएका छलफलका विषयलाई समेटेर राजनीतिक प्रतिवेदन तयार पारिनेछ । सम्मेलनलाई फरक बनाउन र पार्टीलाई आर्थिक सामाजिक रुपमा जोड्न फरक शैलीबाट छलफल र बहसहरु गरिने उनले बताए । सम्मेलनमा मकवानपुरको आर्थिक सामाजिक रुपान्तरणका विषयलाई जोड्न जिल्लाका १० वटै पालिकाका कृषि, पर्यटन तथा समाज रुपान्तरणका विषयमा प्रस्तुति तथा बहस गरिने उनको भनाई छ ।

सम्मेलनको तयारीका लागि सभापति लामाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिनुका साथै अन्य उपसमितिहरु पनि गठन गरिएको छ । जसअनुसार सचिव भिमसेन महतलाई प्रतिवेदन लेखन उपसमितिको संयोजक तोकिएको छ भने उपसभापति आनन्द कठायतलाई स्वागत समितिको संयोजक, सहसचिव इन्दिरा न्यौपानेलाई आर्थिक व्यवस्थापन उपसमितिको सभापति, प्रवक्ता अर्जुन चौलागार्इंलाई प्रचारप्रसार उपसमितिको संयोजक तोकिएको छ ।

सम्मेलनमा १५ लाख रुपैयाँ खर्च लाग्ने उनले बताए । सम्मेलनको खर्च व्यवस्थापनका लागि सहभागी प्रतिनिधिहरुबाट जनही २०० रुपैयाँ, जिल्ला पदाधिकारी र सदस्यहरुबाट एक हजार रुपैयाँ र महासमिति सदस्यहरुबाट एक हजार र १ हजार ५०० रुपैयाँका दरले शुल्क उठाउने निर्णय भएको सभापति लामाले बताए । सम्मेलनको खर्च व्यवस्थापनका लागि पार्टीका विभिन्न तहमा रहेका व्यक्तिहरुबाट सहयोग संकलन गरिने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप