आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

'गाजा प्यालेस्टाइनको अभिन्न अङ्ग'

शुक्रबार, २९ मङ्सिर २०८०, २१ : ३६
शुक्रबार, २९ मङ्सिर २०८०

रमल्लाह । प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बासले शुक्रबार आफ्नो वेस्ट बैंक मुख्यालयमा एकजना शीर्ष अमेरिकी अधिकारीसँगको वार्तामा गाजा प्यालेस्टिनी राज्यको "अभिन्न अङ्ग" भएको बताएका छन् । 

इजरायलले गाजामा आक्रमण तीव्र पारेपछि संयमका लागि अन्तरराष्ट्रिय आह्वान जारी रहेका बेला यो भेटघाटको विशेष अर्थ राखिएको छ । राष्ट्रपति अब्बासले भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भनेका छन्,"गाजा प्यालेस्टाइन राज्यको अभिन्न अङ्ग हो ।" 

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै सो भेटमा राष्ट्रपतिले कुनै पनि भागलाई अलग गर्ने प्रयास अस्वीकार्य हुने बताए ।  

अब्बासले भने,"जारी इजरायली आक्रमणलाई रोक्नका लागि तत्काल आवश्यक कदम चाल्नु पर्ने र विशेष गरी गाजामा प्यालेस्टाइनी जनतामाथि आजका दिनमा भइरहेको नरसंहारको अन्त्य हुनुपर्छ ।" इजरायली युद्धले निम्त्याएको पीडा र विनाशबाट नागरिकहरूलाई जोगाउन आवश्यक रहेको उनको टिप्पणी छ । 

सुलिभानको यस क्षेत्रको भ्रमणमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री योभ ग्यालान्टसँगको भेटघाटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

इजरायललाई अर्बौं डलरको सैन्य सहायता प्रदान गर्ने संयुक्त राज्य अमेरिकाले हमासको आक्रमणप्रति आफ्नो प्रतिक्रियालाई कडा रूपमा समर्थन गरेको छ  तर गाजाका लागि नागरिकको मृत्यु र दीर्घकालीन योजनामा भने चिन्ता व्यक्त गरेको छ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको इजरायली आक्रमणबाट करिब १ हजार २०० मानिस मारिएका छन् जसमा अधिकांश सर्वसाधारण नागरिक परेका छन् ।

हमासद्वारा सञ्चालित गाजा स्ट्रिपको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार युद्धले  १८ हजार ७०० भन्दा बढी मानिसको ज्यान लिइसकेको जनाएको छ  जसमा अधिकांश महिला र बालबालिका छन्।

यसैबीच संयुक्त राष्ट्रसंघ महासभाले गाजामा युद्धविरामका लागि आह्वान गरेको गैर-बाध्यकारी प्रस्तावलाई भारी मतले समर्थन गरेको छ तर वाशिङ्गटनले भने यसको विपक्षमा मतदान गरेको छ ।-(रासस-एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप