शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको भारत भ्रमणबारे  को के भन्छन् ?

आइतबार, २५ चैत २०७४, १६ : २७
आइतबार, २५ चैत २०७४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पूरा गरी  आइतबार स्वदेश फर्किँदैछन् । उनको भारत भ्रमणबारे समीक्षा भइरहँदा  राजनीतिक दलका नेता, अर्थविद् र विश्लेषकको प्रतिक्रिया लिइएको छः

ओलीको व्यक्तिगत सम्वन्ध सुधार
डा.प्रकाश शरण महत,पूर्व परराष्ट्रमन्त्री

नेपाली काँग्रेसका नेता तथा पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण ओलीको व्यक्तिगत सम्वन्ध सुधारबाहेक अरु लाभ नभएको प्रतिक्रिया दिएका छन् । 
महतले देउवा र प्रचण्ड प्रधानमन्त्री हुँदा भारतसँगको सम्वन्ध ट्रयाकमा आइसकेको दाबी गर्दै  ओलीको भ्रमण त्यसकै निरन्तरता मात्रै भएको वताए । ‘ओलीको समयमा नयाँ अध्याय प्रारम्भ भयो भन्नु झुट हो’, उनले भने । 
पञ्चेश्वरको डिपीआर छिटो सक्ने विगतमा भनिएको वताउँदै महतले रेलका विषयमा पनि छलफल भइसकेको वताए । रेलको प्वाइन्ट कहाँ देखि कहाँसम्मको निक्र्यौल गर्न वाँकी मात्रै वाँकी रहेको उनको भनाई छ । 
सत्ता वाहिर हुँदा सवैभन्दा वढि भारतलाई गाली गर्ने ओलीले भारतसँग कहिले पनि सम्वन्ध विग्रेको थिएन भन्न नसुहाउने उनले वताए । सत्तामा पुगेपछि ओलीको वोली फेरिएकोमा अनौंठो लागेको उनले भने, ‘ओलीले भारत जानु अघि उठाएका मुद्दाहरु नोटवन्दी हवाई मार्ग र ग्यास वुलेटका बारेमा कुनै प्रगति भएको छैन ।’
प्रधानमन्त्री ओलीको भ्रमण ‘पूरक समझदारीको अभ्यास’
स्वर्णीम वाग्ले, योजना आयोगका पूर्व उपाध्यक्ष

भारतीय नेतृत्वसँग प्रधानमन्त्रीको मित्रतामा सामान्यीकरण भई दुइ देशबीचकै सम्बन्ध सद्भावपूर्ण चरणमा रहेको सन्देश दिएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीय वाग्नेले बताए । 
 विकास निर्माणका सवालमा भने  विगतकै प्रतिवद्धताहरुको नवीकरण र निरन्तरता दिने पुरक सहमति भएको जस्तो देखिएको उनको टिप्पणी छ । 
उनी भन्छन्ः 
१.गत वर्ष देउवाको पालाको विज्ञप्ति सात वटा विषयमा केन्द्रित थियो । ३३०० शब्द र नौ पानामा विस्तृत गरिएको उक्त विज्ञप्तिभन्दा अहिलेको विज्ञप्ति छोटो र एक पाना छ । यसले नयाँ शुरुवात होइन, निरन्तरताको संदेश दिन्छ । थप भएको एउटा विषयमा कृषि क्षेत्रलाई समेटिएको छ । 
२. रेल्वेको विषयमा अहिले सीमा क्षेत्रमा सात वटा परियोजनाहरु छन् । गत साल कुशीनगर–लुम्बिनी–कपिलवस्तुको अध्ययन गरिने भनिएकोमा अहिले अर्को एउटा थपिएको छ – रक्सौल–काठमाडौँ । सम्झौताको  परीक्षण कार्यान्वयन तहवाट मात्रै देखिनेछ । 
३.  व्यापार र पारवहन सन्धिमा जलमार्गको विकल्पपनि राख्ने भनिएको छ । सन् १९९६ मै जलमार्गको विषयमा अध्ययन गर्ने भनिएकोमा अहिले फेरि यसको उठान हुनु सकारात्मक छ । हल्दिया–बनारस जलमार्गबारे भारतमै ठुलो बहस चलेको छ । हाम्रो कोशी करीब १५० किमी तल गएर गंगामा मिसिन्छ । भारतको चासो रहेको सप्तकोशी उच्च बाँध र सुनकोशी स्टोरेज आयोजनासंग यो जलमार्गको सपना कसरी जेलिन सक्छ ।  त्यो बारे हाम्रो प्राविधिक तयारी शुरु हुन पर्छ । 
भ्रमण तिक्तता हटाउन केन्द्रित
प्राध्यापक डा. मदन दाहाल,अर्थविद्

सद्भावना भ्रमणका रुपमा लिइएकोले नयाँ सन्धि सम्झौता हुने अवस्था थिएन । नाकावन्दि पश्चात नेपालसँग विग्रीएको सम्वन्ध सुधारमा भ्रमण केन्द्रित भएको देखिएको छ । एक आपसका तिक्तता हटाउनको लागी भ्रमण सफल भयो भन्ने लाग्छ । 
तिक्तता हटाउनका लागि भ्रमणको आदानप्रदान हुनु सकरात्मक पक्ष हो ।  सम्झौताहरु कार्यान्वयन हुन्छ की हुदैनन् भन्ने मुख्य विषय हुन् । विगतमा गरिएका सम्झौता भारतको तर्फवाट कार्यान्वयन नभएको अवस्था छ । भ्रमणमा नयाँ कुनै विषय उठान भएको छैन । विगतको निरन्तरताको रुपमा भएको भ्रमणका सम्झौताहरु  कार्यान्वयन हुने÷नहुने भविष्यमा पर्छ । 
रेल सम्झौतालाई भ्रमणको सफल पक्ष मान्नुपर्छ
डा.शंकर शर्मा पूर्वराजदुत 

प्रधानमन्त्रीको भ्रमण सम्वन्ध सुधारको सन्दर्भमा हेर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीलाई मोदी सरकारको सत्कार र स्वागत सम्वन्ध सुधारकै पक्षबाट हेनुपर्ने हुन्छ । 
विगतमा असन्तुलन रहेको सम्वन्धलाई भारतले पनि कोर्ष करेक्सनका रुपमा लिएको छ । भारतीय पक्षले सहयोगको सम्झौता गरेको छ तर विगतमा भएका सम्झौता कार्यान्वयन भारत पक्षबाट भएको देखिएको छैन । चीनले समयमा भने मुताविक गर्छ भन्ने छ तर भारतलाई समयमा नगर्ने भनि चित्रित गरिन्छ । 
प्रधानमन्त्रीको भ्रमणमा रेल विकासको लागि भएको सम्झौतालाई भ्रमणको सफल पक्षका रुपमा लिनुपर्छ । एक वर्ष भित्र भिजीविलिटी अध्ययन भनिएको छ । त्यस अनुसार काम नभए नेपालले घच्घचाउन सक्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप