शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

साल्टको शतकमा इंग्ल्याण्डको शानदार जीत

आइतबार, ०१ पुस २०८०, ०९ : १९
आइतबार, ०१ पुस २०८०

सेन्ट जर्ज । फिल साल्टको शानदार शतकको मद्दतले इंग्ल्याण्डले टी–२० अन्तर्राष्ट्रिय खेलमा आफ्नो तेस्रो ठुलो लक्ष्य पछ्याउन सफल भएको छ । शनिबार भएको खेलमा इंग्ल्याण्ड ७ विकेटले विजयी बनेको हो ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको २ सय २३ रनको लक्ष्य इंग्ल्याण्डले एक बल बाँकी छँदा मात्र तीन विकेटको क्षतिमा पछ्यायो । साल्टले मात्र ५६ बलमा नटआउट रहँदै १ सय ९ रन बनाए । यसक्रममा उनले ४ चौका र ९ छक्का हिर्काए ।

उनलाई कप्तान जोस बटलरले राम्रो साथ दिए । ५१ रन बनाएका बटलरसँग मिलेर दुई जनाले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । त्यस्तै, लियाम लिभिङ स्टोनले ३० रन बनाए । साल्टले नटआउट ३१ रन बनाएका ह्यारी ब्रुकसँग मिलेर टोलीलाई जीतसम्म डोर्‍याए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निकोलास पुरनको ८२ रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो । कप्तान रोभमान पावेलले ३९ तथा सेरफान रदरफोर्डले २९ रनको योगदान दिए । इंग्ल्याण्डका लागि आदिल रसिद र साम करनले २–२ विकेट लिए ।

जीतपछि पाँच खेलको शृङ्खला २–१ को अवस्थामा पुगेको छ । यसअघि पहिलो दुई खेलमा वेस्ट इन्डिजले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप