शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मानार्थ विद्यावारिधि उपाधि ग्रहण गरेपछि ओलीले के भने ?

शिक्षा नै प्रकृतिप्रदत्त स्रोतसाधनबाट पूर्णलाभ लिने साँचो : ओली
आइतबार, २५ चैत २०७४, २० : ०२
आइतबार, २५ चैत २०७४

–रमेश लम्साल 

 भारत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त स्रोतसाधनबाट पूर्णरुपमा लाभ लिने साँचो नै शिक्षा हो भनेका छन् ।  

प्रधानमन्त्री ओलीले उक्त कुरा भारतको उत्तराखण्डस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयद्वारा उनलाई आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको समारोहलाई विश्वविद्यालयमा सम्बोधन गर्दा बताएका हुन् ।  

सम्बोधनमा उनले भने, “प्रत्येक व्यक्तिसँग विशेष रुचि र क्षमता हुन्छ, दक्षता र सीप हुन्छ र राज्यले उसको सीप र क्षमता निर्माण गर्ने उपयुक्त अवसर प्रदान गर्नुपर्छ । 

सरकारले राज्यको मानव संशाधनको आवश्यकता मूल्यांकन गरी आफ्ना जनतामा भएको प्रतिभा र क्षमताको भरपुर उपयोग गर्नुपर्छ भने व्यक्तिले पनि आफ्नो ज्ञान समाज र राष्ट्रको बृहत्तर हितका लागि प्रयोग गर्नुपर्छ, उनले भने । 

शिक्षाले व्यक्तिलाई अझ राम्रो बनाउने मात्र नभई शिक्षाले राष्ट्र निर्माणको बृहत्तर लक्ष्यमा पनि योगदान पु¥याउनु पर्छ, उनले भने । 

हाम्रा पुर्खाहरु शिक्षा र आविष्कारका प्रवर्तक भएका र उनीहरुले कला, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याएको पनि उनले उल्लेख गरे । “हाम्रै क्षेत्रले ऋषिमुनिहरु, साधुसन्त र ठूला दार्शनिकहरुलाई जन्मायो,” उनले बताए । 

हाम्रै पुर्खाहरुले नै विश्वलाई वेद, उपनिषद्, योग, आयुर्वेद, व्याकरण र भाषा विज्ञानजस्ता ज्ञान उत्सर्जन गरेको पनि प्रधानमन्त्री ओलीले बताए । उनीहरुले नै विश्वलाई विजगणितजस्ता ज्ञान प्रदान गरे भने हाम्रा पुर्खाहरुले नै मानवतालाई अहिंसाको ज्ञान प्रदान गरे, उनले बताए । 

हाम्रा पुर्खाले दिएको त्यही ज्ञानको ज्योतिलाई अझै अगाडि बढाउनुपर्ने दायित्व हामीमा रहेको पनि उनले उल्लेख गरे । 

वर्तमान समयमा प्राविधिक ज्ञान र आविष्कारमा ठूलो परिवर्तन आएको बताउँदै प्रधानमन्त्री ओलीले अहिले हाम्रो क्षेत्रमा गरिबी उल्लेखनीय रुपमा घट्दै गएको र मानव विकास सूचकांक राम्रो हुँदै गएको पनि बताए । हामी बाँचेको संसार राम्रो हुँदै गएपनि त्यत्तिमै चित्त बुझाएर बस्ने ठाउँ नभएको र हाम्रा मानवीय क्षमताको उच्चतम प्रयोग गर्न अझै धेरै कुरा गर्न बाँकी रहेको उनले बताए । 

हाम्रा धेरै कमीकमजोरीलाई हटाउनु जरुरी रहेको र विकासको फल दीर्घकालीन र समावेशी रुपमा सबैमा पुग्नुपर्ने पनि उनले बताए । त्यसका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने र अझ प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताए । 

नेपालका ६५ प्रतिशत जनता कृषिमा निर्भर रहेको र कृषिको कूल गार्हस्थ्य उत्पादनमा ३३ प्रतिशत योगदान रहेको बताउँदै उनले उच्च लाभ प्रदान गर्ने कृषि राष्ट्रिय विकासको प्राथमिकता प्राप्त एजेण्डा रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे । 

नेपालको कृषिलाई रुपान्तरण गर्न गोविन्दवल्लभ पन्त विश्वविद्यालयजस्ता संस्थाले प्रविधिको प्रयोगबाट वंशाणुगत स्मृतिलाई रक्षा गर्दै सहयोग पु¥याउन सक्ने पनि प्रधानमन्त्री ओलीले बताए । 

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको सहयोगले बजार विस्तारमा सहयोग पु¥याई कृषि विकासमा सहजता ल्याउन सक्ने पनि बताए । 

प्रधानमन्त्री ओलीले सन् २०१५ मा आफूले संविधान जारी गरेपछि भारतको भ्रमण गरेको र यसपटक संविधानप्रदत्त निर्वाचनबाट भएका तीन तहका निर्वाचनपछि भ्रमणमा आएको पनि स्मरण गरे । 

उनले यसपटक भारतीय प्रधानमन्त्री मोदीसँगै नेपाल–भारत कृषि क्षेत्रमा साझेदारीको शुरुवात् गरेको बताउँदै त्यसले दुई देशको सम्बन्ध नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । 

अन्तमा उनले मानार्थ विद्यावारिधि प्रदान गरेकामा विश्वविद्यालय र विश्वविद्यालयका उपकूलपति प्राध्यापक एके मिश्रलाई धन्यवाद व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप