सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलको सेयर खरिदकर्ता सतीशलालसँग चिनजान भएको प्रधानमन्त्रीको स्वीकार

परिवारको नाम जोड्नु गणतन्त्रमाथिको हमला
मङ्गलबार, ०३ पुस २०८०, १५ : ४४
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा आफ्नो र परिवारको नाम जोड्नु गणतन्त्रमाथिको हमला भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुदले सोधेका प्रश्नको जवाफ दिँदै उनले आफू र आफ्नो परिवारमाथि लागेको आरोपको अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मसँग जोडेर प्रचार, गिरिजाबाबुले धमिजाकाण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणा बढी भ्रष्टाचार गरेको छ भनेर आरोप लगाएका छन् । त्यो साँचो हो भने त म बाँच्नै सक्दैनथेँ । झुटो भएको थाहा भएकोले म ढुक्क छु । ४८० भने पनि ५ सय हजार बढी भने पनि त्यो साबित त हुनेवाला छैन ।’

प्रचण्डले अगाडि भने, ‘अब मेरो परिवारको सदस्य घट्दै गएर ३ जना रहेका छन् । त्यो मध्ये एक जना भरतपुर नगरपालिकाको मेयर हामी सबैलाई थाहा छ । एउटा छोरी छ । बिचरा त्यो कस्ती छ तपाईंहरुलाई थाहै छ । उसलाई जोडेर बनाएको छ, उचालेको छ, यसलाई म के ठान्छु भने सिस्टम, गणतन्त्रको विरुद्धको हमला हो । त्यसमा म बढो क्लियर छु । किनभने प्रचण्डलाई नराम्रोसँग ह्युमिलेट नगराएसम्म र डिप्रेस नगराएसम्म यो व्यवस्था उल्टिने भएन भन्ने छ एक थरीलाई । त्यसो भएको हुनाले त्यसको जवाफ किन दिने ? केलाई चलाएर केमा के भन्छन् नि । त्यस्तोलाई किन चलाउँछु म ?’  

सांसदरुले प्रधानमन्त्रीकी छोरी एवं प्रमुख स्वकीय सचिव गंगा दाहालको पनि सो प्रकरणमा नाम जोडिएकोले वास्तविकता के हो भन्दै प्रश्न गरेका थिए ।

साथै प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत शेयर खरिदकर्ता सतीशलाल आर्चायसँग आफ्नो राम्रो परिचय भएको बताएका छन् । आर्चायसँग कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि राम्रो सम्बन्ध रहेको उनले बताए ।

उनले भने, ‘ती मान्छे बेलायतमा कम्पनी खडा गरिएका भनिएका ती मान्छेलाई म चिन्छु । यो भ्रम नहोस् मलाई थाहै छैन भन्ने हैन । मेरो श्रीमती बिरामी भएको बेला २ पटक सिंगापुर गएको छु । तिनै साथीकोमा बसेको पनि छु म । शेरबहादुर देउवा जाँदापनि बस्नुभएको छ । केपी ओली जाँदापनि बस्नुभएको छ । हाम्रो बिचमा कुरापनि हुन्छ तर त्यसको अर्थ राष्ट्र र जनता, कानुनको विरुद्ध, हाम्रो संविधानका विरुद्ध, हाम्रो सिष्टमका विरुद्ध जोसुकै जान्छ भने हामी लड्न तयार भएको हो नि त । त्यसकारण चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन । जनताको हित र राष्ट्रको हित नै मुख्य कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डले दूरसञ्चार ऐनमा जहाँ जहाँ कमजोरी छ त्यसलाई सच्याएर जान सरकार तयार रहेको समेत बताएका छन् । एनसेल खरिदबिक्री प्रकरणमा केही जालझेल छ भन्ने लागेकोले नै छानबिन समिति बनाएको र दोषी देखिएमा सरकारले नछोड्ने प्रचण्डले दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप