सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मलाई अझ धेरै भ्रष्टाचार र माफियामाथि हान्न मन छ : प्रधानमन्त्री दाहाल

मङ्गलबार, ०३ पुस २०८०, १७ : ०९
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको बताएका हुन् । 

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिबद्धता गरेअनुसार काम गर्न नसकेको बताए । उनले भने – ‘यदि माननीय सदस्यहरूले सबै काण्ड उस्तै हुन् । सबै मान्छे उस्तै हुन् । सबै नेता उस्तै हुन् भन्नुभयो भने त सडकमा अथवा सोसल मिडियामा चाहिने नचाहिने कुरा गरेर संघीयता, गणतन्त्र, लोकतन्त्रका विरुद्ध गाली गरेर, अराजकता सृष्टि गर्नेको भाषा र हाम्रो भाषा उस्तै उस्तै भयो भने त्यसले के हामी सिस्टमको पक्षमा हुन्छौँ त ? हामीले सिस्टमलाई मद्दत गरेका हुन्छौँ कि जानी, नजानी त्यही प्रवृत्तिलाई प्रोत्साहित गरेका हुन्छौँ भन्ने पनि हामी सबैले सोच्ने हो कि ? मेरो हार्दिक अनुरोध माननीय सदस्यहरूलाई । सबै काण्ड एउटै होइनन् । मलाई अरू केही गर्नु छैन । र मैले जति चाहेको छु त्यति गर्न अझै सकेको छैन । पाएको छैन भन्ने कुरा पनि मैले पब्लिक्ली भनेको छु । सुशासनको पक्षमा या सामाजिक न्यायको पक्षमा या समृद्धिका पक्षमा । मेरो यो पटकको आकाङ्क्षा, मेरो प्रतिबद्धताअनुसार अझ मैले सकेको छैन । पाएको छैन भन्ने चिन्ता छ मलाई । अझ धेरै भ्रष्टाचारमाथि हान्न मन छ मलाई । अझ माफिया माथि हान्न मन छ मलाई । अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि मेरो ठाउँबाट त मैले बेस्सरी पहल गरेँ भन्ने छ । म त्यसमा सन्तुष्ट पनि छु । चाहे भारत होस् । चाहे चीन होस् । चाहे इटाली, अमेरिका वा राष्ट्रसंघ । मैले नेपालको कूटनीतिक अवस्थालाई, सन्तुलनलाई र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नयाँ ढङ्गले, आक्रामक ढङ्गले गएकै छु म भने यो पनि उस्तै हो भनेर तपाईहरुले भनिदिनु भयो भने को चाहिँ आएर के चाहिँ हुन्छ त फेरि ? हामी पनि सबै साक्षी त छौ नि त यहीँ ।’

प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको बताए । उनले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको गुनासो गरे । उनले भने, ‘म सँग जोडेर प्रचार गिरिजाबाबुले धमिजा काण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणा बढी भ्रष्टाचार गरेको छ । त्यो साँचो भएको भए त म बाँच्नै नसक्ने हुन्थ्यो । त्यो झुटो हो भन्ने मलाई थाहा भएपछि त म ढुक्क छु ४८०, ५००, १००० बढी भने पनि त्यो साबित हुनेवाला छैन । अब मेरो परिवारका सदस्य घट्दै गएर ३ जना भएका छौँ । त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ । एउटा छोरी छ, बिचरा त्यो कस्ती छ तपाईहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ । उचालेको छ । भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो । म स्पष्ट छु त्यसमा । किनकि प्रचण्डलाई नराम्रोसँग ह्युमिलेट नगरेसम्म र डिप्रेस नबनाएसम्म यो उल्टिने भएन भन्ने छ नि त एकथरीलाई ।’

प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरूलाई आफूले चिनेको भए पनि कानुन, संविधान र प्रणालीको विरुद्धमा गए नछोड्ने बताए । चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उनको भनाई छ । 

दाहालले एनसेल शेयर किनबेच प्रकरणमा पहिलो दृष्टिमै गडबढी देखिएको बताए । उनले सो प्रकरणमा जालझेल भएको कुरामा आफू स्पष्ट रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७२/०७३ को भ्यालुएसन १४३ अर्ब हुँदा अहिलेको भ्यालुएसन २०० अर्बको हुनुपर्ने भन्दै ६ अर्बको भ्यालुएसन गर्नु जालझेल भएको बताउनु भयो । एनसेलले आफ्नो स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण नगर्ने नियत राखेको पनि जिकिर गरे । प्रधानमन्त्री दाहालले कानुनी छिद्रलाई टाल्ने र एनसेल विरुद्धको लडाइँमा जुनसुकै मूल्य चुकाउनका लागि पनि आफू तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप