सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग

आईपीएल अक्सन : सबैभन्दा महँगोमा बिक्री भए स्टार्क, कुन खेलाडी कुन क्लबमा ?

अक्सनमा जो कुनै क्लबको रोजाइमा परेनन्
मङ्गलबार, ०३ पुस २०८०, १८ : २०
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क कीर्तिमानी मूल्यमा बिक्री भएका छन् । उनलाई कोलकाता नाइट राइडर्सले कीर्तिमानी मूल्यमा खरिद गरेको हो ।

स्टार्कलाई कोलकाताले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गर्‍यो । आईपीएलको हालसम्मको इतिहासमा यसअघि कुनै पनि खेलाडी यति धेरै मूल्यमा बिक्री भएका थिएनन् । स्टार्कको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो ।

ipl-auction-2

मिचेल स्टार्कभन्दा केही समयअघि अर्का अस्ट्रेलियन खेलाडी प्याट कमिन्सले सबैभन्दा महँगा खेलाडीको कीर्तिमान बनाएका थिए । कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । त्यसअघि आईपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी साम करन थिए । उनलाई पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो ।

कमिन्सले उनकै कीर्तिमान तोडेका थिए । कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने कप्तान पनि हुन् । उनकै कप्तानीमा अस्ट्रेलियाले हालै आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । कमिन्सले इतिहास रचेको केही समयपछि नै उनको कीर्तिमान स्टार्कले तोडेका हुन् ।

यसैगरी वेस्ट इन्डिजका अल्जारी जोसेफलाई रोयल च्यालेन्जर्स बैंगलोरले ठूलो रकममा खरिद गर्‍यो । उनलाई बैंगलोरले ११ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको हो । उनको न्यूनतम मूल्य एक करोड भारतीय रुपैयाँ ताकिएको थियो ।

यसैगरी भारतका उमेश यादवलाई गुजरात टाइटन्सले किनेको छ । उनलाई गुजरातले पाँच करोड ८० लाख रुपैयाँमा खरिद गरेको हो । भारतका शिवम माभीलाई भने लखनउ सुपर जाइन्ट्सले किनेको छ । उनलाई लखनउले ६ करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।

यसैगरी दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सलाई दिल्ली क्यापिटल्सले किनेको छ । उनलाई दिल्लीले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य पनि ५० लाख नै राखिएको थियो । २३ वर्षीय ट्रिस्टन दायाँहाते ब्याट्सम्यान हुन् । उनी विकेटकिपरको भूमिका निर्वाह गर्न पनि सक्छन् ।

यसैगरी भारतीय खेलाडी केएस भरतलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको छ । ३० वर्षीय विकेटकिपर ब्याट्सम्यान भरतलाई कोलकाताले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य पनि ५० लाख रुपैयाँ नै निर्धारण गरिएको थियो ।

यसैगरी भारतका चैतन्य सकरियालाई पनि कोलकाता नाइट राइडर्सले खरिद गरेको छ । २५ वर्षीय चैतन्यलाई कोलकाताले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य पनि ५० लाख रुपैयाँ नै तोकिएको थियो ।

यसैगरी श्रीलङ्काका दिल्सान मदुसानकालाई मुम्बई इन्डियन्सले खरिद गरेको छ । उनलाई मुम्बईले चार करोड ६० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । अक्सनमा उनको न्यूनतम मूल्य ५० लाख रुपैयाँ तोकिएको थियो ।

यसैगरी यसपटक अक्सनमा भारतीय खेलाडी जयदेब उनादकट सनराइजर्स हैदराबादको रोजाइमा परेका छन् । उनलाई हैदराबादले एक करोड ६० लाख भारतीय रुपैयाँमा किनेको हो । उनको न्यूनतम मूल्य ५० लाख भारतीय रुपैयाँ ताकिएको थियो ।

यसैगरी भारतका हर्षल पटेललाई पञ्जाब किङ्सले किनेको छ । पञ्जाबले हर्षललाई ११ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । तीव्र गतिका बलर पटेललाई रोजल च्यालेन्जर्स बैंगलोरले रिलिज गरेको थियो । उनी सबैभन्दा बढी आईपीएलको खेल खेल्ने खेलाडीको सूचिमा पनि पर्छन् । उनले हालसम्म आईपीएलमा ९१ खेल खेलिसकेका छन् ।

यसैगरी न्युजिल्यान्डका ड्यारेल मिचेललाई चेन्नई सुपर किङ्सले खरिद गरेको छ । ३२ वर्षीय अलराउन्डर मिचेलका लागि चेन्नईले १४ करोड भारतीय रुपैयाँ खर्चिएको हो । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् ।

यसैगरी दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीलाई मुम्बई इन्डियन्सले खरिद गरेको छ । उनलाई मुम्बईले पाँच करोड भारतीय रुपैयाँमा किनेको हो । उनी प्रभावशाली बलर हुन् । २३ वर्षीय कोट्जीले दक्षिण अफ्रिकाका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । हालसम्म भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । उनले विश्वकपमा २० वटा विकेट लिएका थिए ।

यसैगरी अफगानिस्तानका अलराउन्डर अजमतुल्लाह ओमरजाई गुजरात टाइटन्सले खरिद गरेको छ । गुजरातले उनलाई ५० लाख भारतीय रुपैयाँमा किनेको हो । २३ वर्षीय अजमतुल्लाहको न्यूनतम मूल्य पनि ५० लाख भारतीय रुपैयाँ नै ताकिएको थियो ।

यसैगरी इङ्ल्यान्डका अलराउन्डर क्रिस वाक्सलाई पञ्जाब किङ्सले किनेको छ । उनलाई पञ्जाबले चार करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । ३४ वर्षीय वाक्सको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो ।

यसैगरी भारतीय खेलाडी सार्दुल ठाकुरलाई चेन्नई सुपर किङ्सले खरिद गरेको छ । उनलाई चेन्नईले चार करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । सार्दुल तीव्र गतिका बलर हुन् । टोलीलाई आवश्यक्ता पर्दा उनी आक्रामक ब्याटिङ पनि गर्छन् । ३२ वर्षीय सार्दुल तल्लोक्रममा ब्याटिङ गर्न आएर आक्रामक पाली खेल्दै टोलीलाई जित दिलाउने क्षमता पनि राख्छन् ।

यसैगरी प्रभावशाली श्रीलङ्काली स्पिनर वानिन्दु हसरंगालाई सनराइजर्स हैदराबादले खरिद गरेको छ । उनलाई हैदराबादले एक करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । विश्व क्रिकेटकै प्रभावशाली स्पिन बलर हुन्, हसरंगा । यी श्रीलङ्काली बलर हाल आईसीसी टी–२० वरीयताको तेस्रो नम्बरमा आसिन छन् ।

यसैगरी न्युजिल्यान्डका युवा ब्याट्सम्यान रचिन रविन्द्रलाई चेन्नई सुपर किङ्सले खरिद गरेको छ । चेन्नईले उनलाई एक करोड ८० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । न्युजिल्यान्डका अलराउन्डर युवा खेलाडी हुन्, उनी । प्रभावशाली बायाँहाते ब्याट्सम्यान रचिन स्पिन बलर पनि हुन् ।

हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । यही विश्वकपमार्फत नै उनी चर्चामा आएका हुन् । एकदिवसीय विश्वकपमा उनले तीन शतक प्रहार गरेका थिए । ओपनर ब्याट्सम्यानको भूमिकामा देखिएका उनले विश्वकपमा कुल पाँच सय ७८ रन बनाएका थिए ।

२४ वर्षीय रचिन विश्वकपमा तीव्र गतिका बलर र स्पिन बलर दुबैविरुद्ध प्रभावशाली देखिएका थिए । उनले विश्वकपमा ६४.२२ को औसतले रन बनाएका थिए । रचिन पहिलो पटक आईपीएलको अक्सनमा सहभागी भएका हुन् ।

यसैगरी वेस्ट इन्डिजका रोभमन पावेललाई राजस्थान रोयल्सले किनेको छ । राजस्थानले ३० वर्षीय ब्याट्सम्यान पावेललाई सात करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । पावेल अलराउन्डर खेलाडी हुन् । यसपटक अक्सनमा उनको न्यूनतम मूल्य एक करोड भारतीय रुपैयाँ निर्धारण गरिएको थियो । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले हालसम्म देशका लागि ६६ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

पावेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ५६ पालीमा २६.७१ को औसतले कुल एक हजार दुई सय दुई रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन एक सय सात रन हो । टी–२० अन्तर्राष्ट्रियमा उनले एक शतक र पाँच अर्धशतक पनि बनाएका छन् । यसका अतिरिक्त उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट पनि लिएका छन् ।  

यसैगरी इङ्ल्यान्डका ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले खरिद गरेको छ । उनलाई दिल्लीले चार करोड भारतीय रुपैयाँ खरिद गरेको हो । इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली ब्याट्सम्यान हुन्, ब्रुक । २४ वर्षीय यी दायाँहाते ब्याट्सम्यान आक्रामक ब्याटिङका लागि चर्चित छन् ।

ब्रुक खासगरी मध्यक्रममा ब्याटिङ गर्न आउँछन् । उनले हालसम्म देशका लागि २७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १४५.०८ हो । उनले टी–२० अन्तर्राष्ट्रियमा कुल पाँच सय ३१ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन भने अविजित ८१ रन हो ।

यसैगरी अस्ट्रेलियाका प्रभावशाली खेलाडी ट्राभिस हेडलाई सनराइजर्स हैदराबादले खरिद गरेको छ । उनलाई हैदराबादले ६ करोड ८० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । अस्ट्रेलियन टोलीका ओपनर ब्याट्सम्यान हुन्, हेड । उनी अलराउन्डर खेलाडी हुन् ।

आक्रामक ब्याट्सम्यानको परिचय बनाएका हेडले हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । अस्ट्रेलियालाई उपाधि दिलाउन विश्वकपको फाइनलमा पनि उनले एक सय ३७ रन बनाएका थिए । हेडले विश्वकपमा दुई शतकको मद्दतले कुल तीन सय २९ रन बनाएका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ९१ रन हो । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । आईपीएलको १० खेलमा उनले १३८.५१ को स्ट्राइक रेटमा दुई सय पाँच रन बनाएका छन् । उनले पछिल्लो पटक सन् २०१७ मा रोयल च्यालेन्जर्स बैंगलोरको तर्फबाट आईपीएल खेलेका थिए ।

यसैगरी भारतीय खेलाडी शुभम दुबेलाई राजस्थान रोयल्सले खरिद गर्‍यो । उनलाई राजस्थानले पाँच करोड ८० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य केवल २० लाख भारतीय रुपैयाँ ताकिएको थियो ।

ipl-auction

अक्सनमा जो कुनै क्लबको रोजाइमा परेनन्

यसपटक आईपीएलको अक्सनमा केही प्रभावशाली खेलाडी कुनै पनि क्लबको रोजाइमा परेनन् । चर्चित अस्ट्रेलियन खेलाडी स्टिभन स्मिथलाई कुनै क्लबले खरिद गरेनन् । ३४ वर्षीय स्मिथ अस्ट्रेलियन टोलीका अलराउन्डर खेलाडी हुन् । अक्सनमा उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो । उनले यसअघि विभिन्न क्लबबाट आईपीएल खेलिसकेका छन् ।

यसैगरी दक्षिण अफ्रिकाका बायाँहाते ब्याट्सम्यान रिली रोसुलाई पनि कुनै क्लबले आफ्नो रोजाइमा पारेनन् । यसपटक अक्सनमा उनको न्यूनतम मूल्य पनि दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो । उनले पनि यसअघि आईपीएल खेलिसकेका छन् ।

यसैगरी भारतका करुण नायर र मनिष पाण्डेलाई पनि कुनै क्लबले खरिद गरेनन् । यी दुबै खेलाडीको न्यूनतम मूल्य ५० लाख भारतीय रुपैयाँ राखिएको थियो । इङ्ल्यान्डका खेलाडी फिल साल्ट पनि कुनै क्लबको रोजाइमा परेनन् । उनको न्यूनतम मूल्य एक करोड ५० लाख भारतीय रुपैयाँ रहेको थियो ।

यसैगरी अस्ट्रेलियन खेलाडी जोस इङ्लिसलाई पनि कुनै क्लबले खरिद गरेनन् । उनी प्रभावशाली विकेटकिपर ब्याट्सम्यान हुन् । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो । यसपटक अनुभवी श्रीलङ्काली खेलाडी कुशल मेन्डिस पनि कुनै क्लबको रोजाइमा परेनन् । उनको न्यूनतम मूल्य ५० लाख भारतीय रुपैयाँ राखिएको थियो ।

यसैगरी न्युजिल्यान्डका प्रभावशाली खेलाडी लोकी फर्गुसन पनि कुनै क्लबको रोजाइमा परेनन् । ३२ वर्षीय फर्गुसनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ निर्धारण गरिएको थियो । अस्ट्रेलियाका जोस हेजलउडलाई पनि कुनै क्लबले किनेनन् । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ ताकिएको थियो ।

यसैगरी इङ्ल्यान्डका अदिल रसिद पनि अक्सनमा बिक्री भएनन् । उनको न्यूनतम मूल्य पनि दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो । अफगानिस्तानका वकार सलामखिल पनि बिक्री भएनन् । उनको न्यूनतम मूल्य ५० लाख रुपैयाँ राखिएको थियो । ५० लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएका वेस्ट इन्डिजका अकेल होसैन पनि बिक्री भएनन् ।

यसैगरी न्युजिल्यान्डका ईश सोढी, दक्षिण अफ्रिकाका ताबरिज सामसी र अफगानिस्तानका मजिब उर रहमान पनि अक्सनमा बिक्री भएनन् । न्यूनतम मूल्य सोढीको ७५ लाख, सामसीको ५० लाख र मजिब उर रहमानको दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो । भारतीय खेलाडी रोहन कुन्नुमल, सौरभ चौहान, प्रियांश आर्या र मनन वोहरा पनि बिक्री भएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप