बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

केन्द्रलाई गण्डकी कांग्रेसको सुझाव : क्रियाशील सदस्यले उम्मेदवार छान्न पाउनुपर्छ

बुधबार, ०४ पुस २०८०, १५ : १४
बुधबार, ०४ पुस २०८०

पोखरा । नेपाली कांग्रेस गण्डकीको पहिलो सम्मेलन पोखरामा जारी छ । सम्मेलनको दोस्रो दिन पार्टीको राजनीतिक, सांगठानिक, आर्थिक र अवधारणा प्रस्तुत भएको छ ।

प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेसको अवधारणा, महामन्त्री किरणबाबु श्रेष्ठले सांगठनिक, अर्का महामन्त्री विष्णु लामिछानेले राजनीतिक र कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । 

शर्माले विधान र कार्यपद्धतिमा सुधार गर्न ११ बुँदामा सुझाव लेखेका छन् । उनले अनलाइनमार्फत सदस्यता आवेदन दिन पाउने र १० दिनमा सदस्यता तथा ३० दिनमा क्रियाशील सदस्यता दिने व्यवस्था मिलाइनुपर्ने सुझाव दिएका छन् ।

सदस्यता दिन नसक्ने भए कारणसहित निवेदकलाई जानकारी गराउनुपर्ने उनको प्रस्ताव छ । यस्तै पार्टीका नेताहरु बहुपदमा रहेका कारण पार्टी सञ्चालनमा समेत समस्या परेको भन्दै एक पदीय व्यवस्था मिलाउन भनिएको छ ।

गण्डकी कांग्रेसले सबै पदाधिकारीको निर्वाचन क्रियाशील सदस्यबाट हुनुपर्ने र पदाधिकारीहरु सबै सधैँ तल्लो तहबाटै निर्वाचित हुनुपर्ने व्यवस्था राखिनुपर्ने माग गरेको छ । ‘कतिपय पदाधिकारी तल्लो तहबाट निर्वाचित नै नभईकन सिधै महाधिवेशनमा सहभागी हुन पाउने विद्यमान व्यवस्थालाई बदलेर प्रत्येक निर्वाचनमा पार्टीका सबै पदाधिकारी तल्लो तहबाट सबै सरह नै निर्वाचित हुनुपर्ने व्यवस्था मिलाउन उपयुक्त हुन्छ,’ शर्माको प्रतिवेदनमा उल्लेख छ ।

पार्टी नेतृत्व बलियो बनाउनका लागि ३० प्रतिशत सदस्य सभापतिले मनोनीत गर्न पाउने व्यवस्था राख्न उनको माग छ । सधैँ प्रदेश सभापतिलाई केन्द्रीय पदाधिकारी सरहको मर्यादाक्रम माग्ने शर्माले प्रतिवेदनमा पनि सोही कुरा दोहो¥याएका छन् । ‘प्रदेश समितिको भूमिका थप बलियो बनाउन अत्यन्त आवश्यक छ । केन्द्रीय पदाधिकारीहरु सरह मर्यादाक्रममा प्रदेश सभापतिको मर्यादा कायम गर्ने व्यवस्था तुरुन्त लागु हुनु पर्दछ,’ उनले भने ।

स्थानीय तह तथा आम निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छनोट गर्दा त्यहाँ रहेका क्रियाशील सदस्यहरुले छान्न पाउने व्यवस्था मिलाउन पनि सुझाव पठाइएको छ । पार्टीको तर्फबाट एउटै व्यक्तिलाई दुई पटकभन्दा बढी प्रधानमन्त्री नबनाउने, ४ पटक भन्दा बढी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको टिकट नदिने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

साथै समानुपातिकतर्फ एक पटक मात्रै मनोनीत हुने अवसर प्रदान गरिनुपर्ने र यसबाट कांग्रेसमा विश्वास र आशा बढ्ने गण्डकी समितिको ठहर छ ।

कांग्रेसको निर्णय पद्धति अझै केन्द्रीकृत नै भएकाले सकेसम्म विकेन्द्रित बनाउन केन्द्रीय समितिको बैठक आलोपालो प्रदेशमा राख्नुपर्ने सभापतिको माग छ । कांग्रेसमा सबै तहको नेतृत्व हैकमवादी र असहज भएको गण्डकी कांग्रेसको निष्कर्ष छ । यस्तै, विदेशमा भएका नागरिकले पनि आफ्नो नेतृत्व चयन गर्न पाउनुपर्ने भन्दै विदेशबाट मतदानको व्यवस्था मिलाउन सुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप